सात बुँदे घोषणापत्र जारी

5 years ago Editor 0

नेपाल, इलाम
१२ जनवरी /

किरात याक्थुङ चुम्लुङको तीन दिनदेखि इलाम सदरमुकाममा जारी बैठकले सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक सहभागिता लगायतका मुद्दा चयन गर्दै बैठक सम्पन्न भएको हो ।
जातीय मुद्दालाई टेकेर संविधानसभाको दोस्रो निर्वाचनबाट लिम्बुवान लगायतका जातीय पहिचान सहितको स्वायत्तः राज्य र लिम्बुवानमा थातथलो भएका आदिवासीका लागि संरक्षित क्षेत्र आदिको सुनिश्चिततामा विशेष जोड दिन सक्रिय रहने समेत बैठकले निर्णय गरेको छ ।

लिम्बुवान क्षेत्रबाट निर्वाचित सभासद् र अन्य सभासद्लाई निरन्तर समन्वय गर्दै सडक, सदन र कानुनी आन्दोलन शुरु गर्ने निर्णय भएको किरात याक्थुङ चुम्लुङका इलाम जिल्ला सचिव सन्तोष नेम्बाङले बताए ।
घोषणापत्रमा लिम्बुवान क्षेत्रमा बहुभाषिक नीति अवलम्बन गर्दै लिम्बू भाषामा उच्च तहसम्म अध्ययन–अध्यापन गराउनका लागि नेपाल सरकारलाई दवाव दिने तथा विश्वविद्यालयलाई सहजीकरणका लागि अनुरोध गर्ने नेम्बाङले जनाए ।

बैठकमा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका किरात याक्थुङ चुम्लुङका अध्यक्ष ,सचिव तथा राष्ट्रिय परिषद् सदस्यहरुको सहभागिता रहेको थियो ।