संविधानसभाको पहिलो बैठक माघ ८ गते

5 years ago Editor 0

नेपाल, काठमाडौं
११ जनवरी /

CA building_20140111075513

संविधानसभाको पहिलो बैठक राष्ट्रपति वा अन्तरिम चुनावी परिषद्का अध्यक्ष कसले डाक्ने भन्ने बारेमा राजनीतिक वृत्तमा केही दिनयता उत्पन्न अन्योल समाप्त भएको छ ।

अन्तरिम चुनावी परिषद् अध्यक्ष खिलराज रेग्मीले अन्तरिम संविधान – २०६३ को धारा ६९ को उपधारा (१) बमोजिम संविधानसभाको पहिलो बैठक आगामी माघ ८ गते बुधबार अपरान्ह ३ बजेका लागि डाकेपछि राजनीतिक वृत्तमा देखिएको अन्योल समाप्त भएको हो । रेग्मीले सो दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बैठक डाकेका हुन् ।

संविधानसभा बैठक कसले डाक्ने भन्ने बारे सर्वोच्चमा परेका दुईवटा रिटका बारेमा पुस २९ गते विशेष इजालसमा फैसला हुने भए पनि राष्ट्रपति रामवरण यादवले बैठक डाक्ने विषयमा रेग्मीलाई बाटो खोलिदिएपछि अन्ततः उनैले नै बैठक डाकेका हुन् ।

बैठक डाकिएको बारे जनाउ दिन रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले प्रेस विज्ञप्ति जारी गर्दै संविधानसभाका सदस्यहरुको अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको २१ दिनभित्र प्रधानमन्त्रीले आह्वान गर्ने उल्लेख भएअनुसार रेग्मीले बैठक आह्वान गरेको जनाएका छन् ।
मन्त्रिपरिषद् अध्यक्षले बैठक बोलाउन अदालतको निर्णय पर्खनु नपर्ने नियम छ ।

बैठक बोलाउने विषयलाई लिएर प्रमुख राजनीतिक दलहरू समेत विभाजित भई सहमति कायम गर्न नसकेपछि राष्ट्रपति यादव रेग्मीलाई बैठक डाक्न बाटो खोलेका बुझिएको छ ।

बैठक कसले डाक्ने ? भन्ने विषयमा अनावश्यक वहस लम्बिन गई संविधानसभाको पहिलो बैठक नै अनिश्चित हुने देखिएपछि राष्ट्रपतिले रेग्मीलाई बाटो खोलिदिएको बताइन्छ ।

संविधानको धारा ६९ मा संविधानसभाको पहिलो बैठक प्रधानमन्त्रीले बोलाउने उल्लेख छ । तर, धारा ५१ मा व्यवस्थापिका संसद्को बैठक भने राष्ट्रपतिले बोलाउने व्यवस्था छ ।

संविधानसभा बैठक बोलाउन शुक्रबार राति शीतल निवासमा राष्ट्रपति यादव, उनका कानुनी सल्लाहकार, मन्त्रिपरिषद्का तर्फबाट गृहमन्त्री माधव घिमिरे, कानुनमन्त्री हरिप्रसाद न्यौपाने र महान्यायाधिवक्ता द्रोणराज रेग्मीबीच संविधानमा भएको अन्योल र प्राविधिक समस्या मिलाउने विषयमा लामो छलफल भएको थियो ।
शुक्रबारको सहमतिपछि संविधानको बैठक बोलाउन मन्त्रिपरिषद् अध्यक्ष रेग्मी शनिबार शीतल निवास गएका थिए । शीतल निवासबाट फर्केलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
बैठकले संविधानसभाको पहिलो बैठक बोलाउने टुङ्गो लगाएको हो ।

रेग्मी शीतल निवासबाट फर्केपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै ‘संविधान अनुसार संविधानसभाको पहिलो बैठक बोलाउने व्यवस्था गर्न अन्तरिम चुनावी परिषद्का अध्यक्षलाई आग्रह गरेको थियो ।