संघीय समाजवादीको जिल्ला सम्मेलन तय

5 years ago Editor 0

नेपाल, झापा
१० जनवरी /

 

sanghiya samajbadi ko jhanda

संघीय समाजवादी पार्टी झापाको बिहीबार सम्पन्न सचिवालय बैठकले प्रथम झापा जिल्ला सम्मेलनको मिति तय गरेको छ ।

विर्तामोडस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले आगामी चैत्र २१ र २२ गते पार्टीको प्रथम झापा जिल्ला सम्मेलन सम्पन्न गर्ने तय गरेको हो । तर, पार्टीको जिल्लास्थित पूर्ण बैठकले सम्मेलनको आधिकारिक मिति बारे निर्णय गर्ने बताइएको छ । सो अघि बैठकमा पार्टीले गत मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनका बारेमा समेत समीक्षा गरेको थियो ।

‘निर्वाचनमा पार्टीका उम्मेद्वारहरु पराजय भएको स्वीकार गरिए पनि पार्टीले उठाएको पहिचानको मुद्दाले नहारेको निष्कर्ष सहित संगठन सुदृढिकरणलाई ध्यानमा राखेर ऐतिहासिक जिल्ला सम्मेलनको मिति तय गरिएको छ’, जिल्ला उपाध्यक्ष तथा पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर ७ मा प्रत्यक्ष उम्मेद्वार बनेका दिपेन बाला राईले भने ।
बैठकले पार्टी संगठनको हित विपरीत कार्य गरेको भन्दै जिल्ला सदस्य निजामुद्दिन मियालाई साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको थियो ।

त्यस्तै गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गरेको ठहर गर्दै एक जिल्ला सदस्यलाई गम्भीर आत्मालोचना गर्न निर्देशन समेत दिएको छ । ती सदस्यको नाम भने सार्वजनिक गरिएको छैन । पार्टीको केन्द्रीय बैठक र राष्ट्रिय भेलाबाट पारित ब्रिज अभियानलाई समेत सफल पार्ने बैठकले निर्णय गरेको बताइएको छ ।