छायाङ्कन र निर्देशनमा व्यस्त बन्दै भूपेन्द्र

4 years ago Editor 0

भूपेन्द्र तुम्बाहाम्फेले क्यामरासँगको व्यवसायिक नाता जोडेको लामो समय बितेको छैन । मोडलिङ्गबाट प्रभावित हुँदै ग्लामर संसारमा छिरेका यी २४ वर्षे तन्नेरीले अहिले भने अरुको एकसन–कटलाई रुचाउनु भन्दा आफै निर्देशन र छायाङ्कनका लागि अवसर जुटाइरहेका छन् ।
झापाको दमकबाट सञ्चालित हिमशिखर टेलिभिजनमा सिनियर क्यामरा पर्सनका रुपमा कार्यरत रहँदै पनि म्युजिक भिडियो छायाङ्कन तथा निर्देशनमा समेत जम्न थालिसकेका छन् भूपेन्द्र । आजभोलि पूर्वाञ्चलमा हुने कुनै म्युजिक भिडियोको छायाङ्कन र निर्देशनका लागि भूपेन्द्र रोजाईमा पर्न थालेका छन् ।
आफूभित्रको प्रतिभालाई प्रस्तुत गर्न नरेश लिङ्देनको ‘रुपकी रानी…..’ बोलको गीतमा मोडल भएर डेभ्यु गरेको उनले बिर्सेका छैनन् । तर, त्यो थालनी यतिबेला अरु थुप्रैलाई डेभ्यु गराउने यात्राका रुपमा रुपान्तरण भइसकेको भूपेन्द्रको भनाई छ ।

bhupendra 1

कुशल थलङको ‘धरान घण्टाघर……’ गीतको छायाङ्कन होस् वा थलङकै ‘चाहना छ मेरो’ बोलको गीतमा निर्देशन र छायाङ्कन गर्दा होस् अथवा पदम राईको ‘राम्रीमा राम्री तरुनी’ बोलको गीतमा काम गर्दा नै किन नहोस्, भूपेन्द्र आफूलाई सँधै नयाँ कुरो सिक्न उत्सुक झैं सम्झन्छन् । दुई वर्षको व्यवसायिक यात्रामा एक दर्जन वटा म्युजिक भिडियोको छायाङ्कन र निर्देशनमा उनी जमेर प्रस्तुत भएका छन् ।
टेलिभिजनमा जागिरे भएर क्यामराको एङ्गल मिलाउनेदेखि उनी म्युजिक भिडियो खिच्ने मेलोमेसो समेत आफै जुराउँछन् र दौडिन्छन् । मानौं उनले क्यामरा समाएदेखि नै दौडधुपलाई पनि आत्मसाथ गरिसकेका छन् ।
मोरङको टाँडी–१ बाट अवसर पछ्याउँदै निस्किएका उनको लागि अहिले पनि अवसर पर्खेर बसेका छन् । पुसको एक ओसिलो बिहान भेटिएका भूपेन्द्र हतारमा भन्दै थिए –‘पुसको अन्तिमसम्ममा दुईटा म्युजिक भिडियोको सुटिङ्ग सक्ने योजनामा छु । अहिले त्यसैको दौडधुप चल्दैछ ।’

bhupendra

कमन देवानबाट