बेलडाँगी नयाँ बजार सार्ने तयारी

4 years ago Editor 0

नेपाल, बेलडाँगी
९ जनवरी /

झापा दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविर नजिकै गत वर्षदेखि सञ्चालनमा ल्याइएको नयाँ बजार सार्ने तयारी थालिएको छ । बजार व्यवस्थापनमा समस्या आएपछि अन्यत्र सार्न लागिएको हो ।

बिहीबार दमक नगरपालिकाका कार्यकारी अधिकृत हरिकृष्ण तिम्सिना सहित को टोलीले नयाँ स्थानमा १३ कठ्ठा जमिन व्यवस्थापन गरी बजार समिति र व्यवसायीबीच छलफल भएपछि बजार सार्ने कार्य अघि बढेको हो ।

एक वर्षअघि प्रतिवर्ष एक लाख रुपैयाँमा २२ कठ्ठा जमिनमा सञ्चालन गरिएको नयाँ बजार जग्गाधनी दिनेश अधिकारीसँग पुनः भाडामा सम्झौता हुन नसकेपछि सार्नुपर्ने अवस्था आएको बजार समितिले जानकारी दिएको छ । बजार पिपिरे लाइनको पश्चिमतर्फ सार्ने तयारी थालिएको बेलडाँगी बजार समितिका अध्यक्ष नैनसिंह भण्डारीले जानकारी दिनुभयो ।

हाल नयाँ बजारमा एक सयको संख्यामा व्यवसायीहरुले व्यापार गर्दै आएका छन् । नयाँ जग्गा धनीसँग प्रतिकठ्ठा ६ हजारका दरले वार्षिक रुपमा भाडा उपलव्ध गराउने गरी पाँच वर्षको लागि सम्झौता भएको समेत बेलडाँगी बजार समितिका अध्यक्ष भण्डारीले बताउनुभयो ।