दुर्घटनामा सुवेदीको मृत्यु

5 years ago Editor 0

अमेरिका, पेन्स्लाभेनिया
६ जनवरी /

पुनर्वास गएका एक भूटानी शरणार्थीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

अमेरिकको पेन्स्लाभेनियास्थित स्क्रान्टनमा परिवारका साथ बसोबास गर्दै आएका टेकबहादुर सुवेदीको गत बुधबार राति कार दुर्घटना हुँदा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार सुवेदी कामका लागि पैदल हिँडिरहेका बेला उनी सहित अन्य दुई जनालाई समेत कारले ठक्कर दिएको थियो ।

दुर्घटनापछि उपचारका लागि स्थानीय जिसीएमसी अस्पताल पु¥याइएका सुवेदीलाई अस्पतालले मृत घोषणा गरेको उनकी श्रीमती मिना सुवेदीले भूटान दर्पणलाई जानकारी दिनुभयो । मिना समेत सो दुर्घटनामा सामान्य घाइते हुनुभएको थियो । घाइते अर्का नन्द ल्वागुनको अवस्था सामान्य रहेको बताइएको छ । घटनामा अर्का एक स्पेनी नागरिक समेत सामान्य घाइते बनेका थिए ।

भूटान गेलेग्फूबाट शरणार्थी शिविर शनिश्चरेमा बसोबास गर्दै आएका सुवेदी सन् २००९ मा तेस्रो मुलुक पुनर्वास रोजेर स–परिवार अमेरिकाको फोनिक्स एरिजोना पुगेका थिए । सुवेदी परिवार चार महिनाअघि मात्रै बसोबासका लागि स्क्रान्टन पुगेको समाचार स्रोतले जनाएको छ ।

सुवेदी परिवारले समयमै एम्बुलेन्स नपुगेका कारण टेकबहादुरको मृत्यु भएको भन्दै असन्तुष्टि समेत पोखेको छ । प्राप्त जानकारी अनुसार अन्दाजी समय १०ः३० बजे राति दुर्घटना भएकोमा उद्धारका लागि करिब ४ घण्टापछि त्यस स्थानमा एम्बुलेन्स पुगेको बताइएको छ ।

यसैबीच भूटान दर्पणका सञ्चालक जय बान्तावाले सामाजिक अगुवा तथा नेपाली भाषा, साहित्य, संस्कृति संरक्षणका अभियन्ता सुवेदीको निधनले स्तव्ध तुल्याएको बताउनु भएकोछ ।