मंगल ग्रहमा जान एक हजार ५८ को नाम छनोट

5 years ago Editor 0

एजेन्सीको सहयोगमा
५ जनवरी /

 

mangal graha news photo

 

मंगल ग्रहको यात्रामा पठाइने एक हजार ५८ जना छनोट भएका छन् । सन् २०२४ मा हुने एकतर्फी ‘मार्स वान’ नामक यात्रामा पहिलो चरणमा चार पुरुष र महिला पठाइनेछ ।

नेदरल्याण्डको ‘मार्स वान’ ले शुरु गरेको यो अभियानमा सहभागी हुन एक सय ४० देशका दुई लाखले आवेदन दिएका थिए । उनीहरुबाट एक हजार ५८ छनोट गरिएको हो । उनीहरुमा पाँच सय ८६ पुरुष र चार सय ७२ महिला छन् । तीन सय ५७ जना भने २५ वर्ष मुनिका रहेका छन् ।

मंगल ग्रहमा जानका लागि सबैभन्दा बढी अमेरिकाबाट २ सय जना छनोट भएका छन् । क्यानडाबाट ७५, भारतबाट ६२ र रुसबाट ५२ जना छानिएका छन् । अष्ट्रेलियाबाट ४३, चीनबाट ४०, बेलायतबाट ४० छन् ।
एशियाबाट दुई सय १८ जना छन् । पहिलो चरणमा छानिएका अधिकांश रोजगार छन् । छनोटमा परेका मध्ये आठ सय १३ रोजगार छन् भने एक सय ६४ स्कूले जीवनमै छन् । ८१ जना भने बेरोजगार रहेका छन् ।
मंगल ग्रहको यात्राका लागि छानिएका एक हजार ५८ जना एक सय ७ देशका छन् । मार्स वानले सूचीमा परेका सवै देशका प्रतियोगीहरुको नामावली भने सार्वजनिक गरेको छैन । जसका कारण आवेदक मध्ये कति नेपाली छानिए भन्ने प्रष्ट हुन सकेको छैन ।

मार्स वानका अनुसार मंगल ग्रहको यात्राका लागि ८ जना नेपालीले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेमा प्रकाश सुवेदी, गणेश, केशव पावडे, सम्राट कार्की, दिवस श्रेष्ठ, अनिल, समिर न्यौपाने र मदनकुमार दाहाल थिए ।

मार्स वानका संस्थापक बस लान्सडोपले भनेका छन् –‘हामीले शारीरिक र मानसिक रुपमा स्वस्थ भएकाहरुलाई छनोट गरेका छौं । उनीहरु मंगल ग्रहमा मानवदूतका रुपमा जानेछन् ।’ उनका अनुसार पहिलो चरणमा छनोट नभएकाहरुलाई इमेल गरेको छ, जसले पुनः आवेदन दिन सक्नेछन् ।

मंगल ग्रह यात्राको प्रक्रिया अनुसार पहिलो चरणमा छनोट भएकाहरुको २०१५ सम्म विभिन्न परीक्षण हुनेछ । दोस्रो चरणको छनोटमा २० देखि ४० जनाको क्षेत्रीय समूह बनाई स्वास्थ्य परीक्षण हुनेछ भने तेस्रो चरणको छनोट निकै कठिन हुनेछ । परीक्षण एवम् तालिममा मंगल ग्रहको जस्तै वातावरणमा बस्नुपर्नेछ ।
सन् २०१८ मा मानवरहित मिसन पठाइनेछ भने त्यसपछि मानिस पठाइनेछ ।