माङसेबुङ चक्रपथ निर्माणमा राज्यको सहयोग आवश्यक

5 years ago Editor 0

कमन देवान ।

 

Sadak

किरात धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थलका रुपमा परिचित माङसेबुङ क्षेत्रको विकासका लागि मेरुदण्ड मानिएको ‘माङसेबुङ चक्रपथ’ निर्माण कार्यमा राज्यका तर्फबाट उल्लेख्य सहयोग नमिलेको सरोकारवालाहरुले बताएका छन् ।

दमक–चिसापानी–रवि–राँके जोड्ने फाल्गुनन्द मार्गको निर्माण कार्य थालनी भएस“गै इलामको बाँझो गाविस–९ स्थित माङसेबुङ क्षेत्रमा चक्रपथको अवधारणा अनुसार सडक निर्माण थालिएको हो ।

किरात धर्मगुरु आत्मनन्द लिङ्देनको गुरुयोजना अनुसार २०५४ सालदेखि यो साढे पाँच किलोमिटर माङसेबुङ चक्रपथ निर्माण योजना थालनी भएको हो ।

किरात धार्मिक स्थल माङसेबुङ र आसपासका क्षेत्रको विकासमा महत्व राख्ने यो चक्रपथ निर्माणका लागि किरात धर्मावलम्बीहरुले आर्थिक र श्रमदान गर्दै आएका छन् ।

sadak 2

किरात धर्मावलम्बी भक्तजनहरुले करिब तीन करोड रुपैयाँ खर्चिएर साढे पाँच किलोमिटर माङसेबुङ चक्रपथ निर्माण योजनाका लागि ट्र्याक खोल्ने कार्य सम्पन्न भएको माङसेबुङ चक्रपथ निर्माणको रेखदेख गर्दै आएको संस्था किरात चोत्लुङ मुहिगुम अङसीमाङ माङ्गेना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङ बताउनु हुन्छ ।

‘चक्रपथ निर्माणका लागि अहिलेसम्म जे जति काम गरिएको छ यो सबै किरात धर्मावलम्बीहरुको आर्थिक सहयोग तथा श्रमदानबाट सम्भव भएको हो’, अध्यक्ष योङहाङले भन्नुभयो । उहाँका अनुसार सरकारी पक्षबाट माङसेबुङ चक्रपथ गुरुयोजना सम्पन्न गर्न बजेट बिनियोजन भएको छैन । ‘एक पटक कल्भर्ट निर्माणका लागि जिल्ला विकास समिति इलामका तर्फबाट १० लाख रुपैयाँ विनियोजन भएको थाहा छ, त्यसयता माङसेबुङको विकासमा सरकारी बजेट परेको थाहा छैन’, योङहाङ थप्नु हुन्छ ।

Asaram parisar nirman

हालै सम्पन्न दोस्रो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा किरात धर्मगुरु अङसीमाङ आत्मनन्द लिङ्देनको दर्शन गर्न माङसेबुङ पुगेका अधिकांश नेतागणले यो चक्रपथ निर्माण योजनालाई सफल पार्न बजेट विनियोजन गरिदिने चुनावी आश्वासन दिएका छन् ।

यसरी आश्वासन बाँढ्नेहरु मध्ये नेकपा एमालेका वरिष्ठ नेता तथा हाल झापा क्षेत्र नम्बर ७ बाट निर्वाचित सभासद् केपी ओलीले झापाको दमकमा ओयोजित १६ औं राष्ट्रिय विभूति किरात धर्मका महागुरु फाल्गुनन्दको १२७ औं जन्म जयन्ति कार्यक्रममा बोल्दै भन्नु भएको थियो –‘देशैबनाउन भनेर लागेको मान्छे हामी । दमक–चिसापानी–रवि–राँके जोड्ने फाल्गुनन्द सडक र किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङमा निर्माणाधीन चक्रपथ सम्पन्न गर्ने कुरो त सामान्य विषय हो । त्यो हुन्छ, जसरी पनि गरिन्छ, गर्नुपर्दछ ।’

ओली जस्तै माङसेबुङ चक्रपथ निर्माण सम्पन्न गर्ने आश्वासनमा लोलीमा बोली मिलाउने इलाम क्षेत्र नम्बर २ बाट पुनः निर्वाचित सुवासचन्द्र नेम्बाङ, नेकपा एमालेका अध्यक्ष तथा इलाम क्षेत्र नम्बर १ बाट पुनः निर्वाचित झलनाथ खनाल लगायत असंख्य नेतागणले माङसेबुङ चक्रपथलाई चुनावी मसला त बनाएका छन् । अब उनीहरुले निर्वाचन जितिसकेपछि चाँहि यस चक्रपथ निर्माणलाई स्मरण गर्छन् वा भूल्छन्, त्यो भावी दिनले देखाउने छ ।

Guru Asram AREA

नेताहरुले दिएको आश्वासन पूरा हुने आशामा ५.५ किलोमिटर दूरीको यो चक्रपथले ४० फुट चौडा कालोपत्रे सडकको सपना अझै साँचेकैछ ।

माङसेबुङको विकासमा प्रत्यक्ष र महत्वपूर्ण भूमिका खेल्ने यो चक्रपथ निर्माणसँगै यहाँ आन्तरिक तथा वाह्य पर्यटनको विकास हुने बताउनु हुन्छ, किरात साम्यो नालिफूङवा मुझोः लुङ पान्जुम्भोका अध्यक्ष विक्रम वनेम ।
माङसेबुङ चक्रपथ र आसपासका क्षेत्रलाई किरात धर्मदर्शनमा आवद्ध पारिएको र यस क्षेत्रलाई शुद्ध साकाहारी क्षेत्रका रुपमा विकास गरिएको हुनाले पनि समस्त किरात धर्मावलम्बी र अन्य दर्शनार्थीका लागि पनि यो उपयुक्त गन्तव्य बन्ने वनेमको भनाई छ ।

उहाँ भन्नु हुन्छ –‘यो क्षेत्रको मौलिक विशेषतालाई जोगाएर वाह्य तथा आन्तरिक पर्यटनको प्रचुर सम्भावना किवास गर्न सकिन्छ । त्यसका लागि महत्वपूर्ण भूमिका खेल्ने पूर्वाधार नै हो, माङसेबुङ चक्रपथ ।’
वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको गुरुआश्रम लगायत किरात धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था, किरात मुन्धुम पाठशाला, चक्रपथ क्षेत्रका विभिन्न स्थानहरुमा फरक–फरक किसिमको मौसम आदिले पनि माङसेबुङ क्षेत्र प्रचलित छ ।

हाल हिउँदको समयमा दमकदेखि निर्माणाधीन फाल्गुनन्द मार्ग हुँदै १८ किलोमिटर यात्रा गरेर दर्शनार्थीहरु माङसेबुङ पुग्ने गरेका छन् । त्यस्तै हिउँदयाम भरिका लागि झापाको विर्तामोडदेखि महमाई हुँदै माङसेबुङसम्म यात्रुवहाक वस लगायतका यातयात सुविधा उपलब्ध छ ।

Mundhum pathsala

तर, वर्षायाम शुरु भएसँगै माङसेबुङ क्षेत्र यातायात सुविधाबाट वञ्चित त हुन्छ नै, यस क्षेत्रका वासिन्दा आकस्मिक स्वाथ्य उपचार लिनबाट समेत वञ्चित हुनुपरेको तितो वास्तविकता पनि छँदैछ ।
लामो समयदेखि राजनीतिक नेताहरुको भाषण र आश्वासनमा विकासे सपना बुन्दै आएको माङसेबुङ क्षेत्रको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।
यसो गरिएमा समस्त किरात धर्मावलम्बीहरुले पवित्र स्थलका रुपमा पूज्दै आएको क्षेत्र माङसेबुङको विकासमा टेवा त पुग्ने नै छ । साथसाथै राज्यका तर्फबाट किरात धर्म र दर्शनको विकास, उत्थान र प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान हुने छ ।

माङसेबुङबाट कमन देवानको रिपोर्ट ।