दमक बसपार्कमा टर्मिनल निर्माण शुरु

4 years ago Editor 0

नेपाल, दमक
१ जनवरी /

 

buspark area

 

झापाको दमक बसपार्क क्षेत्रमा आधुनिक टर्मीनल भवन निर्माण शुरु भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत भवन निर्माण शुरु भएको हो ।

विभागको शहरी पूर्वाधार विकाश कार्यक्रम अनुसार १ करोड ५ लाख ४६ हजार रुपैयाँको लागतमा टर्मिनल भवन निर्माण शुरु भएको बस पार्क निर्माण समितिले जनाएको छ । दमक–११ मा अवस्थित बसपार्क क्षेत्रभित्र सो टर्मिनलको निर्माण कार्य थालिएको हो ।

पूर्व जाने यात्रुबाहक सवारी अहिले सोही बसपार्क भएर जाने हुँदा त्यस्ता लामा तथा छोटो दुरीका सवारी साधनहरूलाई व्यवस्थित गर्न सो टर्मिनल निर्माण थालिएको जनाइएको छ ।

एक वर्षमा निर्माण पूरा गर्ने गरि गिताञ्जली वाईपीआर जेभी कम्पनीले भवन निर्माणको जिम्मेवारी पाएको छ । असार ११ गते निर्माण सम्झौता भए पनि निर्वाचन, डिजाइन परिवर्तन लगायतका कारण निर्माण शुरु गर्न ढिलाई भएको कम्पनीले जनाएको छ ।
सो टर्मिनलको योजना पूरा भएपछि बसपार्क हुँदै बाहिरिने तथा लामो र छोटो दुरीका बसहरू स्टेण्ड गर्न सुविधा पुग्ने बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष शंकर बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘निर्माणाधीन टर्मिनलको काम पूरा भए बसपार्कको स्वरुप बदलिने छ ।’

केही दिनअघि शहरी विकाश तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीले दमकमा भईरहेको निर्माणको अवस्था बारे स्थलगत निरीक्षण गरी निर्माण कार्यबारे जानकारी लिनुभएको थियो । सो क्रममा उहाँले आयस्रोत कम भएका शहरहरूमा पूर्वाधार विकास गर्ने योजना अन्तर्गत टर्मिनल भवन निर्माणका लागि दमक छनौट गरिएको बताउनु भएको थियो ।