रङको पहिचानमा विश्व कीर्तिमान

5 years ago Editor 0

नेपाल, झापा
२५ डिसेम्बर /

झापाका एक युवाले रङ्गको पहिचानमा विश्व कीर्तिमान राख्ने हुनुभएको छ ।

झापा भद्रपुर–४ का २३ वर्षीय अर्पण शर्माले रङ्गको पहिचानमा विश्व कीर्तिमान कायम गर्न लाग्नु भएको हो । भद्रपुर नगरपालिकाको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा उहाँले आफ्नो रङ्ग पहिचानको अद्भूत क्षमता प्रस्तुत गर्नुभएको थियो । लामो समयसम्म स्मरण गर्ने क्षमताका कारण उहाँको यो कीर्तिमानलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि प्रस्ताव गरिने भएको छ ।

मेची बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत शर्माले चार रङ्गलाई ल्यापटपमा दुई सय पटक दुई–दुई सेकेन्डका दरले हेरेकै भरमा आँखामा पट्टी बाँधेर १६५ पटकसम्म ती रङ्गको सही पहिचान गर्नुभएको थियो ।
‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि भनेरै आयोजित सो कार्यक्रमको पूरै भिडियो रेकर्डिङ गरिएको छ । त्यो रेकर्डलाई गिनिजको केन्द्रीय कार्यालयमा पठाइएपछि त्यसका आधारमा उहाँलाई विश्व कीर्तिमानको नयाँ उपाधि प्राप्त हुने भएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार कार्यक्रममा उहाँलाई रातो, सेतो, निलो र कालो गरी चारवटा रङ्ग दुई सय पटक देखाइएको थियो । ती चार वटा रङ्गलाई भिन्न भिन्न तरिकाले ल्यापटपमा दुई–दुई सेकेन्डको फरकमा हेर्न दिइएको थियो । पछि आँखामा कालोपट्टी बाँधेर शर्माले दुई सय पटक मध्ये १६५ पटक रङ्गको सही पहिचान गर्नु भएको थियो ।

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि सबै प्रमाण पठाउने तयारी भइरहेको शर्माको पारिवारिक स्रोतले जनाएको छ । अहिलेसम्म त्यसरी नहेरी सिंगापुरका सेन्सी सुरज सिंहले रङ्ग पहिचानको रेकर्ड १६० पटकसम्म कायम गरेका छन् ।