भोट बदर गर्नेमा झापा पहिलो

4 years ago Editor 0

नेपाल, झापा
२४ डिसेम्बर /

 

samanupatik matganna

 

देशभरिका निर्वाचन क्षेत्र मध्ये झापामा सबै भन्दा बढी मत बदर भएको देखिएको छ । विकासका हरेक सूचकाङ्कमा अग्रणी मानिँदै आए पनि यस जिल्ला अन्य जिल्लाका तुलनामा अत्याधिक मत बदर हुनेमा समेत चिनिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा खसेको मतलाई आधार मान्दा झापा जिल्लामा देशकै बढी मत बदर भएको थियो ।

झापा, मोरङ, सुनसरीलाई आम रुपमा मुलुकका अग्रणी जिल्ला मानिन्छन् । तर, यसपालीको निर्वाचनको मतपत्रमा देखिएको त्रुटिका आधारमा यी जिल्ला असफल देखिएका हुन् ।

निर्वाचन आयोगले तयार गरेको अन्तिम तथ्याङ्क अनुसार प्रत्यक्ष निर्वाचनमा देशभरी ४ लाख ७१ हजार मत बदर भएको छ । त्यसमध्ये यी तीन जिल्लाको २२ निर्वाचन क्षेत्रबाट मात्र ८७ हजार २ सय मत बिग्रिएको छ । बदर मतको राष्ट्रिय औसत ४.९६ रहेकोमा यी तीनै जिल्लाका सबै क्षेत्रमा त्यो भन्दा झण्डैं पचास प्रतिशत बढी मत बिग्रिएको छ । राष्ट्रिय औसतभन्दा झण्डैं दोब्बर बदर गरेर सुनसरीको निर्वाचन क्षेत्र ६ भोट बिगार्नेमा पहिलो भएको छ ।

एमालेका भीमप्रसाद आचार्य निर्वाचित सुनसरी ६ मा ९.६ प्रतिशत मत बिग्रियो । दस भोट खसाल्दा झण्डैं एक जनाको भोट बदर हुने अर्को क्षेत्र पनि सुनसरीमै छ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी सुनसरी क्षेत्र नम्बर ५ ।

झापाको सात निर्वाचन क्षेत्रको औसत निकाल्दा ७ प्रतिशत भन्दा बढी मत बदर भएको छ । साक्षरता, राजनीतिक चेतना र अरु पहुँचका हिसाबले झापा सुविधासम्पन्न जिल्ला हो । निर्वाचनको मतपत्रमा भने झापाले आफ्नो त्यो पहिचान कायम राख्न सकेन ।

जबकि विकास सूचकाङ्कमा हरेक हिसाबले निकै पछाडि कर्णाली लगायत पीछडिएका दुर्गम हिमाली जिल्लामा तराईको जस्तो मत बदर भएको छैन ।
कर्णालीका पाँचै जिल्लामा राष्ट्रिय औसत भन्दा कम मत बदर भएको छ । डोल्पा, मुगु, जुम्लामा ३ प्रतिशत चानचुन मतदाताले गलत तरिकाले छाप लगाएका छन् भने हुम्लामा बदर मत जम्मामा १.८१ प्रतिशत छ ।

निर्वाचन सम्बन्धी विज्ञहरूका अनुसार हाम्रै जस्तो मुलुकमा ३ प्रतिशत
चानचुन मत बदर भए निर्वाचन शिक्षा सफल भएको मानिन्छ ।
त्यस आधारमा रसुवा, धादिङ २, लमजुङ्ग २, पाल्पा २ र ३, म्याग्दी, पर्वत १, प्यूठान १, सल्यान २, बाजुरा, अछाम १, बझाङ १ का मतदाता चनाखो देखिएका छन् । शिक्षा, स्वास्थ्य, सडक, पौष्टिक आहार लगायतबाट बञ्चित रसुवा, सल्यान, अछाम, बझाङ्गका मतदाता सचेत साबित भए ।

नेपाल जस्तो आर्थिक हैसियत भएका मुलुकका लागि तय गरिएको अन्तर्राष्ट्रिय मानक भन्दा पनि निकै कम मत बदर हुनेमा हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङ छन् । मनाङ्गमा ०. प्रतिशत अर्थात ३३ मत र मुस्ताङ्गमा १.६५ प्रतिशत अर्थात ८४ मत बिग्रिएको छ । २४० निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम प्रतिशत मत बदर गरेर मनाङ्गेहरूले आफ्नो मतदान चेतना उच्च भएको पुष्टि गरेका छन् ।

मध्य र पूर्वी तराईका जिल्लामा धनुषा ३, महोत्तरी ५ र ६, सर्लाही ५ र ६, रौतहट २ र ४, बारा १ र २, पर्सा २, ४ र ५ बाहेक सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय औसतभन्दा बढी मत बदर भएको छ । पूर्वको तुलनामा पिछडिएको ठानिने नारायणी पश्चिम तराईको स्थिति भने पूर्व र मध्येको भन्दा धेरै राम्रो छ ।
कपिलवस्तु र बाँके बाहेक अरु जिल्लामा अधिकांश निर्वाचन क्षेत्रमा बदर मत राष्ट्रिय औसत ४.९६ भन्दा कम छ । यहाँपनि पहाडभन्दा तराई र मधेशका मतदाता कमजोर देखिएका छन् । बदर प्रतिशत पहाडी जिल्लामा कम छ । रोल्पा १, दैलेख १ र २ बाहेक सबैमा राष्ट्रिय औसतभन्दा कम मत बदर भएको छ ।

कर्णाली पारीको सुदुरपश्चिममा पनि कैलाली र कञ्चनपुरका १० क्षेत्र मध्ये ६ क्षेत्रमा ५ प्रतिशत भन्दा बढी मत बदर भएको छ । बैतडीका दुवै क्षेत्रमा बदर प्रतिशत निकै उच्च छ । १ नम्बरमा ८.८१ प्रतिशत र २ नम्बरमा ९.१ प्रतिशत मत खेर गएको छ । यो क्षेत्र मत बदरको बरियतामा मुलुककै तेस्रो समेत बनेको छ । मुलुकको सबैभन्दा सुदुर पश्चिमी जिल्ला दार्चुलाको स्थिति भने औषत खालको छ । त्यहाँ जम्मा ३.५५ प्रतिशत मत बदर छ ।

काठमाडौं, मकवानपुर सिन्धुपलाञ्चोक लगायत बागमती अञ्चलका जिल्लामा पनि मतदाता सचेतना निकै कम देखिएको छ । काठमाडौं ७ र ९ मा राष्ट्रिय औसत भन्दा बढी मत बदर भएको छ । सिन्धुपलाञ्चोक एउटा र मकवानपुरको तीन वटा क्षेत्रको स्थिति पनि यस्तै छ ।