पुल निर्माणमा ढिलाई गर्नेलाई स्पष्टीकरण माग

4 years ago Editor 0

नेपाल, झापा
१९ डिसेम्बर /

gauriya pul

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको लखनपुर–१ मा पर्ने गेउरिया खोलाको निर्माणाधीन पुलको काममा ढिलाई गरेको भन्दै पूर्वाञ्चल सडक डिभिजन कार्यालय २ नम्बर दमकले निमार्ण कम्पनीलाई ढिलो हुनेको कराण सोध्दै स्पष्टीकरण माग गरेको छ ।

गएको असोज २५ गतेबाट निर्माण कम्पनीले काम रोकेको भन्दै सडक डिभिजनले ७ दिन भित्र स्पष्टीकरण माग गरेको हो । निर्माण व्यवसायी रौतहा/देउती/सगरमाथा जे.भि. उदयपुर गाईघाटका आधिकारिक प्रतिनिधि टंक पन्त तथा साइट प्रतिनिधि उद्योग राईको नाममा पत्र पठाउँदै कार्यालयले पुल निमार्णमा भएको ढिलाई बारे चासो राखेको हो ।

ती कम्पनीहरूले २०६८ असार ९ मा ठेक्का सम्झौता गरेको र २ वर्ष भित्रमा काम नसकेको भन्दै कम्पनीले ६ महिला म्याद थप मागेको थियो । तर यहि पुस ७ गते म्याद सकिने भए पनि काम भने आधा पनि सम्पन्न भइनसकेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रामहरि पोखरेलले पहिलो ठेक्का अवधिमा काम सम्पन्न हुन नसकेपछि पुनः ६ महिना म्याद थप्दा समेत निर्माण कम्पनीले चासो नदिएको कारण स्पष्टीकरण सोधिएको बताउनुभयो । यस अघि पनि विभिन्न कारण देखाउँदै सम्झौता अवधि थप गरिएको थियो । प्रमुख पोख्रेलले भन्नुभयो –‘७ दिनको म्याद भित्र पनि चित्त बुझ्दो जवाफ नआए, काम सम्पन्न नभए ठेक्का सम्झौता खारेज गरी कालोसूचिमा राखिने तयारी गरेका छौं ।’

२०६७ साउन ३ गते आएको बाढीले खोलामा रहेको कल्र्भट भत्किएको थियो । सोही स्थानमा २६ मिटर लामो पुल निमार्णका लागि ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै सम्झौता अवधि बढाउनका लागि लविङ समेत थालेका छन् ।

कूल एक करोड ९६ लाख ७७ हजारको लागतमा निर्माण भइरहेको पुलमा बनेको अस्थायी ड्राइभर्सन गएको असारमा २ पटक भत्किएको थियो । भेलबाढी आएको समयमा डाइभर्सन समेत भत्किँदा दिनभर जसो राजमार्गमा यातायात अवागमन राक्किने गरेको छ ।