७ वर्षमा ५७ नेपाली मरे कोरियामा

5 years ago Editor 0

नेपाल,  झापा

१७ डिसेम्बर /

 

कोरिया जानका लागि इपिएस परीक्षा उत्तिर्ण महिलाहरु अन्तर्वार्ताका लागि लामवद्ध हुँदै ।
कोरिया जानका लागि इपिएस परीक्षा उत्तिर्ण महिलाहरु अन्तर्वार्ताका लागि लामवद्ध हुँदै ।

दक्षिण कोरियामा २००७ देखि हालसम्म ५७ नेपालीको मृत्यु भएको छ । सोलस्थित नेपाली दूतावासद्वारा १५ महिनाअघि गठन गरिएको अध्ययन समितिको प्रतिवेदन अनुसार कोरियामा नेपाली दूतावास स्थापना भएयता दुई महिला र ५५ पुरुषको मृत्यु भएको हो ।

कोरियामा रहेका नेपालीको मृत्युदर बढेपछि राजदूत कमानसिंह लामाले अन्तर्राष्ट्रिय वकिल पार्क बो कीको अध्यक्षतामा पाँच सदस्यीय अध्ययन समिति गठन गर्नुभएको थियो । उक्त समितिले गत आइतबार दूतावास सभाहलमा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा कोरियामा नेपालीको साधारण र असाधारण मृत्यु हुने गरेको उल्लेख छ । मृत्युको कारण खुलेकोलाई साधारण तथा आत्महत्या र सुतेकै अवस्थामा मृत्यु भएकालाई असाधारण मृत्युको सूचिमा राखिएको छ ।

प्रस्तुत गरिएको तथ्याङ्क अनुसार सुतेकै अवस्थामा मृत्यु हुनेहरूको संख्या सबैभन्दा धेरै २३ छ । त्यस्तै ७ वर्षमा १९ जनाले आत्महत्या गरेका छन् । कोरियामा नेपालीको संख्या वृद्धिसँगै मृत्युदर पनि बढेको तथ्याङ्कमा उल्लेख छ । वर्षका आधारमा २०१३ मा सबैभन्दा धेरै १८ नेपालीको मृत्यु भएको छ । त्यसैगरी २०१२ मा ५ जनाले आत्महत्या गरेका थिए । साधारण मृत्यु ७ वर्षमा नौ जनाको भएको उल्लेख छ । प्रतिवेदनमा आत्महत्या गरेकामध्ये ९० प्रतिशत डिप्रेसनको सिकार भएको उल्लेख छ ।

पारिवारिक झमेला, एक्लोपना, भाषा समस्या, हावापानी, रात्रिकालीन काम र भिन्न संस्कृतिका कारण डिप्रेसन हुने गरेको प्रतिवेदनले औंल्याएको छ । अशिक्षित, वृद्ध, निम्न आय भएका कोरियाली पुरुषसँग मात्र नेपाली महिलाहरूको विवाह हुने गरेकाले उनीहरू चरम घरेलु हिंसामा रहेको प्रतिवेदनमा छ । आत्महत्या गर्ने महिलामा सीता दर्जी र गौरीमाया तामाङ छन् ।

दलाल मार्फत कागजी विवाह गरेर कोरिया जाने नेपाली महिलाहरू भिसा नवीकरण, रोजगारीमा कठिनाई जस्ता समस्यामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । कृषि क्षेत्रका रोजगारदाताले नियम पालना नगरेका कारण कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरूको अवस्था कष्टकर रहेको र भाषा एवम् नियम कानुनको अज्ञानताले विद्यार्थी तथा व्यवसायीहरू सम्बन्धित निकायबाट सुविधा लिनबाट वञ्चित भएको प्रतिवेदनमा उल्लेख छ ।

रोजगारीमा भाषाको भूमिका महत्वपूर्ण रहेकाले परीक्षा उत्तिर्ण गर्ने हिसाबले मात्र नभएर व्यव्यहारिक रूपले कोरियन भाषा सिक्नुपर्ने, भाषा परीक्षाबाट आवश्यक संख्या मात्र उत्तिर्ण गराउनुपर्ने र रोस्टरमा दर्ता भएकालाई पर्याप्त प्रविधिक ज्ञान दिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

यस्तै कोरियामा सिकेको सीप नेपालमा सदुपयोग गर्ने वातावरण बनाउनुपर्ने सुझाव समेत प्रतिवेदनको छ । कोरियामा नेपालीहरूको मृत्युको कारण पत्ता लगाउने उद्देश्यले अध्ययन समिति गठन गरिएको र छिट्टै परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयका साथै कोरियन सरकारलाई समेत बुझाउने राजदूत लामाले जानकारी दिनुभयो ।