चिसो मौसममा तातो चियाको व्यापार

5 years ago Editor 0

नेपाल, झापा
१३ डिसेम्बर /

 

th

 

साथीभाइसँगको भेटघाट, पाहुनाको स्वागतमा मात्र होइन चिसोमा ज्यानलाई तातो बनाउन पनि धेरैले चिया नै खोज्छन् र पिउँछन् । धेरै चिया पिउँदा स्वास्थ्यलाई बेफाईदा गर्छ भन्नेहरू पनि छन् । तर दिनमा एक वा दुई कप चिया पिएमा हृदयघातबाट बचाउनको लागि सहयोग गर्ने चिकित्सकहरू बताउँछन् ।

उनीहरूका अनुसार हरियो चियाको प्रयोगले शरीरको तौल घटाउनुको साथै शरीर स्वस्थ र चुस्त राख्न मद्दत पुग्छ । यसको सेवनले घामबाट आउने परावैजनी किरणले छालालाई गर्ने असर पनि कम गर्छ । हरियो चियाको सेवनले चिनी रोगीलाई पनि फाइदा पुग्ने चिकित्सकहरू बताउँछन् । तर धेरै चिया सेवनले भने स्वास्थ्यलाई बेफाइदा पनि पुर्याउँछ ।

पारखीहरू बढ्दै जाँदा चियाको व्यापार पनि दिनप्रतिदिन बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली चियाको माग बढ्न थालेको व्यापारीहरू बताउँछन् । नेपालमा उत्पादन भएको चिया ८५ प्रतिशत बाहिरी मुलुकमा निर्यात हुन्छ भने बाँकी नेपाली बजारमा नै खपत हुने गरेको छ ।

कस्तो छ उत्पादन ?

हाल नेपालमा दुई प्रकारको चिया उत्पादन हुने गरेको छ । सिटीसी (दानदार चिया ) र अर्थाेडक्स (हरियो पत्ति) चिया हो । गएको आर्थिक वर्षको तुलनामा यसवर्ष चिया निर्यात बढेको छ ।

यस आर्थिक वर्ष ०६९÷०७० झण्डै २९ प्रतिशतले चिया निर्यात बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्दले जनाएको छ । अहिले नेपाली बजारमा नै उत्पादन भएका चियामध्येमा सिटीसी र अर्थाेडक्स ब्राण्डका चिया उपलब्ध छन् । सिटीसी चियाले अन्तर्राष्ट्रिय बजार राम्रो लिएको नेपाल चिया एसोसिएशनका अध्यक्ष रमेश पौडेल जानकारी दिनुभयो ।

यसवर्ष चिया उत्पादन बढ्नुको साथै डलरको मूल्यमा भएको उतारचढावको कारण निर्यात बढेको हुन सक्ने चिया तथा कफी विकास बोर्डका वरिष्ठ अधिकृत प्रेम आचार्य बताउनु हुन्छ । सिटीसी चिया १० हजार हेक्टर जमिनमा र अर्थाेडक्स चिया ६ हजार ५० हेक्टर जमिनमा खेती हुने गरेको तथ्याङ्क छ । सिटीसी चियाको व्यवसायिक खेती झापामा मात्र हुने गरेको छ । अर्थाेडक्स चियाको व्यवसायिक खेती चाहिँ इलाम, पाँचथर, तेह्रथुम र धनकुटा लगायत पाँच जिल्लामा हुने गरेको छ ।

सिटीसी चिया तेस्रो मुलुकमा निर्यात हुने गरेको छ भने अर्थाेडक्स चिया भारत र पाकिस्तानमा मात्र निर्यात हुन्छ । हाल नेपाली बजारमा सिटीसी चियाको मूल्य प्रतिकेजी चार सय रुपैंयाँ र अर्थाेडक्स चियाको मूल्य प्रतिकेजी दुई सय रुपैयाँ पर्ने गर्छ । सिटीसी चियाको वार्षिक उत्पादन झण्डै १ करोड ७० लाख केजी र अर्थाेडक्स चियाको उत्पादन भने झण्डै ४० लाख केजी हुने गरेको चिया एसोसिएशनका अध्यक्ष पौडेल बताउनु हुन्छ । नेपालमा निजी स्तरबाट ४० वटा चिया प्रशोधन केन्द्र सञ्चालनमा छन् ।

यस व्यवसायबाट प्रत्यक्ष रुपमा झण्डै एक लाख जनाले रोजगारी पाएको व्यवसायीहरूको भनाइ छ । नेपाल सरकारले चिया किसानको लागि विरुवामा ५० प्रतिशत अनुदान दिँदै आएको छ । दुई वर्षदेखि नेपाली चियाले व्यापारिक लोगोको लागि पहल गरेपनि सफल हुन सकेको छैन । नेपाली चियाले व्यापारिक लोगो प्राप्त गरेमा निर्यात बढ्ने व्यापारीहरू बताउँछन् ।