४० सहकारी खारेज हुने

4 years ago Editor 0

नेपाल, झापा
१२ डिसेम्बर /

सरकारले तोकेको मापदण्ड विपरीत सञ्चालित झापा जिल्लाका ४० बढी सहकारीको सञ्चालन अनुमतिपत्र खारेज हुने भएको छ ।

डिभिजन सहकारी कार्यालय झापाले जनाए अनुसार खारेजी प्रक्रियामा परेका ४० वटा मध्ये २५ वटाले नियमित मापदण्ड विपरीत कारोबार गरेको तथा अन्य १५ वटा सहकारी संस्था लामो समयदेखि निश्कृय रहेका थिए ।
यसअघि सहकारी मापदण्ड विपरीत सञ्चालन भएका आठ वटा सहकारी खारेज गरिसकेको डिभिजन प्रमुख नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

खारेजीको सूचिमा रहेका ४० वटा सहकारी मध्ये २१ वटा बहुउद्देश्यीय सहकारी संस्था हुन् भने सात वटा दुग्ध सहकारी, चार वटा बचत तथा ऋण सहकारी र चार वटा कृषि सहकारी हुन् ।
नियमित कारोबार नगर्ने, सहकारी नियम पूरा नगर्ने, संस्थाको नियमित बैठक नबस्ने लगायतका मापदण्ड पूरा नगर्ने सहकारीलाई कार्बाही स्वरुप खारेज गर्नुपर्ने अवस्था आएको प्रमुख घिमिरेले बताउनु भयो ।

झापामा गत आर्थिक वर्ष २६९÷०७० को तथ्याङ्कका आधारमा सात सय ३२ वटा सहकारी सञ्चालनमा रहेका डिभिजन स्रोतले जनाएको छ । जिल्लाभर दुई सय ६६ वटा बचत तथा ऋण सहकारी संस्था दर्ताभई सञ्चालित छन् भने दुई सय ३४ कृषि सहकारी संस्था, एक सय २६ बहुउद्देश्यीय सहकारी संस्था, २४ वटा दुग्ध सहकारी संस्था, १७ वटा जरीबुटी सहकारी, १६ वटा सुपारी सहकारी, १३ वटा उपभोक्ता सहकारी, १० वटा तरकारी सहकारी, छ वटा चिया सहकारी, चार वटा विद्युत, तीन वटा स्वास्थ्य सहकारी, दुई वटा माछा सहकारी र मौरीपालन सहकारी दर्ता छन् भने मासु सहकारी, मुरै–झल्ला र प्रकाशन सहकारी सञ्चालन गर्ने उद्देश्यले समेत सहकारी दर्ता भएका जिल्ला सहकारी संघ झापाले जनाएको छ ।

त्यस्तै झापामा आठ वटा विषय गत सहकारी संस्थाका रुपमा सञ्चालनमा आएका छन् । ती मध्ये उपभोक्ता सहकारीको रुपमा सञ्चालित झापाका ५३ वटा सुपथ मूल्यका सहकारी संस्थाको कारोबार सञ्चालनमा समस्या भएको बताइएको छ ।
त्यसैगरी धुलाबारीको आवास सहकारी संस्था, दमकको मेची सहकारी संस्था, तोपगाछीको पूर्वी नेपाल सहकारी, चारपानेको रामजानकी सहकारी लगायतले उत्कृष्ट काम गर्दै आएको डिभिजनले जनाएको छ ।