रेडपाण्डा संरक्षणमा सरोकारवालाको चासो

4 years ago Editor 0

राम योङ्हाङ

नेपाल, इलाम
१२ डिसेम्बर /

 

Redpanda

 

‘रेडपाण्डा’ संरक्षण गर्ने उद्देश्यले इलामको जमूनामा रेडपाण्डा संरक्षण सम्बन्धी अन्तरक्रिया शुरु भएको छ । जिल्लाको उत्तरी गाविसमा संरक्षित रेडपाण्डा संरक्षणका लागि सरोकारवालहरूले अन्तरक्रिया शुरु गरेका हुन् ।

रेडपाण्डा नेटवर्क (यूएस) को सहयोगमा उच्च पहाडी जडिबुटी संस्था इलामले कार्यक्रमको संयोजन गरेको छ । कार्यक्रममा जोगमाई, प्याङ्ग र जमुनाका ३० भन्दा बढी सरोकारवालको सहभागिता रहेको उच्च पहाडी जडिबुटी संस्थाका संयोजक धनबहादुर खाम्दाकले जाकारी दिनुभयो । कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, पाण्डा हेरालु (गाईड), गोठ पालक किसान लगायत सरोकारवालाको सहभागिता छ ।

विश्वमै दुर्लभ मानिएको ‘रेडपाण्डा’ इलामका सामुदायिक वन र राष्ट्रिय वनमा पाईन्छन् । इलाममा पाण्डा कुन अवस्थामा छ र यसको संख्या कति छ भन्ने वास्तविक तथ्याङ्क कसैसँग छैन । तर पनि यसको संरक्षण गर्नुपर्छ भन्ने कुराको ज्ञान हासिल गर्न कार्यक्रमले सहयोग मिलेको तालिममा सहभागी लोकेन थेबेले बताउनु भयो ।

चोयाटार सामुदायिक वन जमूना, हागेथाम सामुदायिक वन जमूना, छिन्तापु सामुदायिक वन माईमझुवा, छान्तालुङ्ग सामुदायिक वन माईमझुवा, माघे सामुदायिक वन माईमझुवा, कालिखोप सामुदायिक वन जोगमाई, महादेव कागे सामुदायिक वन जोगमाई लगायत क्षेत्रमा रेडपाण्डा पाइन्छन् । जोगमाई, जमूना, माबु र माईमझुवा गाविसमा पाण्डा संरक्षणका कार्यक्रम चालु रहेको छ ।

हेर्दा आकर्षक, लजालु स्वभावको, मानिसदेखि नडराउने ‘रेडपाण्डा’ विश्वमै नेपाल, भूटान, चीन, बर्मा र भारतमा मात्र पाइन्छ । इलाम जिल्लामा करिब १० ओटा ‘रेडपाण्डा’ भएको अनुमान गरिएको छ ।