कविता:मेरा ओझेलका बिम्बहरु

5 years ago Editor 2
कवि ए के राणा साम्पाङ 'एकलब्य'
कवि
ए.के.राणा साम्पाङ ‘एकलब्य’

(स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य)
मेरा ओझेलका बिम्बहरु

शहरको तिम्रो विकाशे बत्तीहरुको कुरा छोड्देउ
यहाँ पैँसा नलाग्ने आफ्नै जुन हराएको रात
आफुलाई भुली ताराहरु झुल्किन विर्सेको रात
जुन्किरिले आफ्नो चमक हराइ अल्मलिएको रात
अन्योलतामा टोलाएका मेरा हरेक रात
आफैलाई घरिघरी ऐँठन पारी
म भित्र ओझेलपरेका बिम्बहरु
झलमल्ल हुन्छन …
मलाई गिजाइरहन्छन
मलाई घोचिरहन्छन
मलाई चिथोरिरहन्छन
मलाई पुकारिरहन्छन
म आफै त न्याय के हो महसुस गरेको छैन
स्वातन्त्रता कस्तो हुन्छ अनुभुत गरेको छैन
“म फलानो हुँ” भनि गर्व गर्न पाएको छैन
पराधिनताहरुलाई चुनौती दिई
छती फुलाएर बाँच्न पाएको छैन
कसरी मेरो विलापहरुलाई म न्याय दिलाउँ ?
कसरी मेरा उद्गारहरुलाई म साकार्ता दिलाउ ?
मेरा हरेक प्रायसहरु अर्ध रहन्छन
मेरा हरेक कोपिलाहरु निमोठिन्छन
मेरा समर्पणहरु हाँसो बनाइन्छन
मेरा सृजनाहरु कुन्ठित हुन्छन …
कसरी म भित्र ओझेलपरेका बिम्बहरुलाई म आकार दिउँ ?
फेरी यिनिहरु प्रश्फुटन नभैइ
मलाई राहात मिल्नेछैन
मुक्ती एकादेशको काहानी झै हुनेछ ।

उज्यालोमा त रङ्गी चङ्गी
देखाउटिहरुमा आँखाहरु भुल्छन
तर हरेक साँझ
अंधकारमा त उहि
म भित्र ओझेल परेका बिम्बहरु
यत्र तत्र मानष्पटलभरी …
अतितका कुराहरु
दुखेका पिडाहरु
मुटु रेटिएका वेदनाहरु
देश लुटिएका पिडाहरु
पुत्रशोकमा आमाका आँसुहरु
बलत्कृत चेलीका चित्कार्हरु
हाँस्न नपाएका उत्सवहरु
रुन नपाएका संवेदनाहरु
झल्झली आँखा अघाडी तेर्सिन्छन
अस्मिता लुटिएका रातहरु
राजनितिका घातहरु
अपहेलनका दागहरु
अत्यचारका लातहरु
पल पल झस्काई रहन्छन
देशभक्तिका प्रतिज्ञाहरु
बलिदानका संकल्पहरु
युद्धका कथाहरु
विरका गाथाहरु
सङ्घषका डोबहरु
मेरो मानष्पटलभरी गुन्जिरहछन
परिवर्तनका खाकाहरु
अभियानका झिल्काहरु
सपनाका कुराहरु
मनका तृष्णाहरु
मायाका अङ्कुराहरु
भित्र भित्रै सल्बलाईरहन्छन
वाध्यताका भित्ताहरु कोथरिरहन्छन
कुन्ठित परिस्थितिका कोठाहरुमा
यि पिडित बिम्बहरुलाई
लुकाइराख्न
ओझेलपारिराख्न
विवश छु म ।

तर कसरी भावनाका लहरहरुलाई
म अलग्ग पारिदिउँ ?
वास्त्विक्ताहरु सदाको लागि बिम्बहरु बने पछी
तिमी भन्छौ भुलिदेउ…
झुटो संसारमा
यथार्थ बोकेका बिम्बहरु
अन्योलताले
अलपत्र परेका बिम्बहरु
गरिबी अभावले धर्मराएका बिम्बहरु
बनाउटिहरुले कुण्ठा परेका बिम्बहरु
जिवन धान्दा अलमलिएका बिम्बहरु
युगको पक्षपातले ओझेलपरेका बिम्बहरु

तिमी भन्छौ भुलिदेउ तर
कसरी भावनाका लहरहरुलाई म अलग्ग पारिदिउँ ?