खुल्ला दिसामुक्त बनाउन सफा विद्यार्थी अभियान

5 years ago Editor 0

नेपाल, इलाम
७ डिसेम्बर /

 

1377589_669215129770295_1161319485_n

 

पर्यटकीय दृष्टिले चिरपरिचित इलामलाई थप स्वच्छ, सभा र सभ्य बनाउने उद्देश्यका साथ शुरु गरिएको खुल्ला दिसामुक्त अभियान सफल पार्न जिल्लास्थित विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाले विभिन्न गतिविधि गर्दै आएका छन् ।

शौचालय निर्माण नगरे सरकारी सेवा–सुविधाबाट समेत बञ्चित गरिने भनी थालिएको खुल्ला दिसामुक्त अभियानलाई थप प्रभावकारी बनाउन जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालय इलामले जिल्लाभर नयाँ अभियान सञ्चालन गरेका छन् ।

जिविस र जिशिका इलामले खुल्ला दिसामुक्त अभियानलाई सहयोग पु¥याउन ‘सफा विद्यार्थी अभियान’ सञ्चालन गरेका हुन् । जसअनुरूप जिल्लाका प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीको विवरण लिनुपर्नेछ । जिसिकाले सफा विद्यार्थी अभियान र सफा विद्यालय सर्वेक्षण फाराम तयार पारेर जिशिका मार्फत प्रत्येक गाविसका विद्यालयमा पुर्याएको छ ।
सफा विद्यार्थी अभियानमा विद्यार्थीको नाम, शौचालय भए–नभएको, नभए कहिलेसम्म बनाउने, फोहोर फाल्ने भाँडो (डस्टविन) घरमा राखे–नराखेका लगायतका सूचक तयार पारिएको छ ।

इलामका जिल्ला शिक्षा अधिकारी दिलनाथ पूरी भन्नु हुन्छ –‘विद्यार्थीलाई शौचालय सम्बन्धी ज्ञान दिलाउन सकेमा
उसले आफ्नो घरमा शौचालय बनाउन अभिभावकलाई प्रेरित गर्न सकोस् भन्ने मुख्य उद्देश्य हो ।’ यस्तै सफा विद्यालय सर्वेक्षणका लागि खानेपानी तथा स्वास्थ्य सम्बन्धी विवरण अन्तर्गत विद्यालयमा स्वच्छ खानेपानीको सुविधा छ–छैन, विद्यालयको सरसफाई नियमित–साप्ताहिक कसरी गरिन्छ, विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने गरेको वा नगरेको सूचक राखिएको छ ।

जिल्लाका अधिकांश विद्यालयमा शौचालय निर्माण भए तापनि पानीको उपयुक्त व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन समेत हुने गरेको जिशिअ पूरीको भनाई छ । उहाँ थप भन्नु हुन्छ –‘शिक्षा कार्यालयले शौचालय माग गर्नेलाई दिने तर पानीको प्रबन्ध छ–छैन भनेर चाहिँ नहेर्नाले कतिपय बन्द अवस्थामा रहेको पाइएको छ ।’
आफू सहितको अनुगमनका क्रममा विद्यार्थी पोषाकमा आउने तर शिक्षक भने विना पोषाकमा आउनाले शिक्षक अनुशासनमा नबस्ने गरेको पूरीको भनाई छ । ‘सफा विद्यार्थी र विद्यालय अभियानले अब शिक्षक विद्यार्थी दुवैलाई अनुशासनको दायरामा र सरसफाइमा बस्न कडाई गर्ने छ’, उहाँले थप्नुभयो ।

इलाम जिल्लाका विभिन्न अस्पताल वा स्वास्थ्य संस्थामा आउने बिरामी जचाउँदा प्रत्येक १० जनामध्ये सात जना बिरामीमा खानेपानी तथा सरसफाइजन्य बानी व्यहोराका कारण रोगले ग्रस्त बनाउने गरेको पाइएको बताइन्छ ।
जिविसले आगामी चैत मसान्तसम्ममा सबै गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरी जिल्लालाई नै घोषणा गर्ने तयारी अनुरूप मंसिर २४ गते एकैदिन जिल्लाभर विद्यार्थीको फाराम भर्न लगाइएको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रवीण ढकालले जानकारी दिनुभयो । फाराम भरेको एकसातासम्ममा उपलब्ध गराउन समेत जिविसले अनुरोध गरेको छ ।

सफा विद्यार्थी हुनका लागि घरमा मापदण्डयुक्त शौचालय बनाएको, शौचालय नियमित प्रयोग गर्ने बानी गरेको, शौचालय सफा राख्ने, नियमित दाँत माझ्ने, नङ सफा राख्ने, सफा लुगा लगाउने, विद्यालय जाँदा पोषाक र जुत्ता लगाउने, खानुअघि र शौचालय गइसकेपछि साबुनपानीले हात धुने, स्वस्थ र सफा खाना खाने, फोहोरलाई जथाभावी नफाली डस्टविनमा मात्र फाल्ने बानी बसालेको हुनुपर्नेछ ।

जिल्लाका ४८ गाउँ विकास समिति र एक नगरपालिका मध्ये साखेजुङ, नामसालिङ, बरबोटे, माइमझुवा लगायतका गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् भने केही मंसिर महिनासम्ममा घोषणाको तयारीमा छन् । प्रशासकीय अधिकृत ढकाल भन्नुहुन्छ –‘स्वस्थ, स्वच्छ र सभ्य’ इलाम बनाउनका लागि यो अभियानले सहयोग पुग्ने छ ।’