अस्ताए उनी, जसले क्षमाको पाठ सिकाए

5 years ago Editor 0

अलविदा नेल्सन मण्डेला

कमन देवान
६ डिसेम्बर /

 

1450828_396285557168579_1880835387_n

रङ्गभेद् विरुद्धको आन्दोलनका अभियन्ता तथा २१ औं शताब्दीकै महान् नेता नेल्सन मण्डेलाको बिहीबार राति ९५ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित उहाँको आफ्नै निवासमा निधन भएको थियो ।

अल्पसंख्यक गोरा जातिले दक्षिण अफ्रिकाका काला जातिमाथि गरेको अन्याय, दमन, उत्पीडन र शोषणको अन्त्यका लागि आन्दोलित बन्ने क्रममा २७ वर्ष लामो जेल जीवन भोग्नु भएका मण्डेला दक्षिण अफ्रिको पहिलो अश्वेत राष्ट्रपति निर्वाचित बन्नु भएको थियो ।

आफू राष्ट्रपति निर्वाचित भएपछि उहाँले काला जातिलाई दमन गर्ने गोरा नेतृत्वको राजनीतिक दलका मानिसहरुलाई समेत न्यायपूर्ण किसिमले समेटेर सत्ता सन्चालन गर्नुभएको थियो । मण्डेलालाई तत् पश्चात शान्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, क्षमा र दयाका सागरका रुपमा परिभाषित मात्रै गरिएन । शताब्दीकै राजनेताका रुपमा उहाँलाई विश्वले ‘शताव्दीकै महामानव’ को उपमा दिएको छ । रङ्गभेद्को विरुद्ध लडेर दक्षिण अफ्रिकालाई सबल राष्ट्र बनाउन उहाँले गरेको अतुलनीय योगदानका कारण उहाँ विश्वभर नै स्वतन्त्रता र समानताको प्रतीकको रुपमा स्वीकार्य हुनुहुन्छ ।

दक्षिण अफ्रिकामा १८ जुलाई १९१८ मा जन्मनुभएका नेल्सन रोलिहलाहल मण्डेला १९९४ मा दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रिपति बन्नुभएको थियो । १९६२ देखि १९९० सम्म राजनैतिक बन्दी भएर जेलमा बस्नुभएका मण्डेलालाई १९९३ मा नोवेल शान्ति पुरस्कार दिइएको थियो ।

मण्डेलाले युनिभर्सिटी अफ साउथ अफ्रिकाबाट कानून विषय लिएर १९४२ मा स्नातक गर्नुभएको थियो । त्यसको दुई वर्षपछि काला जातिहरुको उत्थानको अभियानका लागि अफ्रिका नेसनल कंग्रेस (एएनसी) मा आबद्ध बन्नुभएका उहाँ पेशागत रुपमा वकील भए पनि गान्धीको अहिंसावादी अवधारणाबाट प्रभावित हुनुहन्थ्यो । उहाँले दक्षिण अफ्रिकाका काला जातिलाई राजनैतिक अधिकार नदिने गोराहरुको नीति र काला जातिहरुको गोराहरु लखेट्ने आन्दोलन भन्दा फरक रुपबाट गोरा र काला दुवै जाति अटाउन सक्ने रङ्गभेद् विरुद्धको अभियान शुरु गर्नुभयो । र, अन्तमा मण्डेलाले लिएको नीति नै सफल र विश्वभर प्रसंशायोग्य ठहरियो ।

सन् १९५६ मा मण्डेलामाथि देशद्रोहको आरोप लागेको थियो । सन् १९६० मा मण्डेलाको पार्टीले काला जातिको समानताको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारले निहत्था जनताको नरसंहार गरेपछि अहिंशावादी मण्डेलाले दक्षिण अफ्रिकी सत्ता ध्वस्त पार्ने घोषण गर्नुभएको थियो । उहाँको त्यो घोषणा पछि अफ्रिकन नेशनल कंग्रेस पार्टीलाई तत्कालीन सत्ताले प्रतिबन्ध लगाएको थियो ।

सन् १९६२ मण्डेलालाई ५ वर्षको कैद तोकेर जेल पठाइएको थियो भने सन् १९६४ मा आजीवन कारावास सजाय भएको थियो । मण्डेला जेल गएपछि विश्वभरमा रंगभेदविरुद्धका आन्दोलनको एक प्रतीक बन्नुभयो । उहाँले जेलभित्र रहँदा तत्कालीन सत्ताले आन्दोलन नगर्ने शर्तमा थुनामुक्त गरिदिने प्रस्तावलाई पटक–पटक अस्वीकार गर्नुभयो । र भन्नुभयो –‘स्वतन्त्रता आम जनतालाई चाहिएको छ, जेलभित्र बसेको मान्छेलाई होइन ।’

Nelson-Mandela

चर्को अन्तर्राष्ट्रिय दवावका कारण २७ वर्षसम्म जेल सजाय भोगेर मण्डेला सन् १९९० मा जेलबाट छुट्नुभयो । उहाँलाई सन् १९९० मा भारत सरकारले भारत रत्न पुरस्कारबाट सम्मान गरेको थियो भने तत्कालीन सोभियत यूनियनले लेलिन शान्ति पुरस्कारबाट सम्मान गरेको थियो ।

मण्डेला सन् १९९३ मा नोेवेल शान्ति पुरस्कारबाट सम्मानित हुनुभयो । उहाँ १९९४ मा देशको पहिलो अश्वेत राष्ट्रपति बन्नुभयो । ५ वर्ष राष्ट्रपति बनेपछि पद छाड्नु भयो र २००४ मा सार्वजनिक जीवनबाट समेत अवकास लिनुभयो ।
दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जूमाले मण्डेलाको निधन बारे राष्ट्रिय टेलिभिजनमा वक्तव्य दिँदै भन्नुभयो –‘हाम्रो देशले आफ्नो सबैभन्दा महान सपुत गुमाएको छ ।’

1459746_745291388832751_2096103392_n

मण्डेलालाई संसारभर गौरव र सहनशीलताको प्रतीक नै मानिन्छ । त्यसो हुनुमा उहाँको सहनशीलता प्रमुख पक्ष हो । आफूलाई जेल पठाउने गोराहरूलाई आफू शक्तिमा पुगेपछि उहाँले दिएको क्षमादानबाट सिङ्गो विश्वले प्रेरणा पाएको छ ।

दक्षिण अफ्रिकाबाट रंगभेद् हटाएर सहभागितामूलक व्यवस्था स्थापना गर्नेदेखि सन् १९९६ मा दक्षिण अफ्रिकाको नयाँ संविधान जारी गर्न समेत मन्डेलाले नेतृत्वकारी भूमिका निर्वाह गर्नुभएको थियो । उक्त संविधानले बहुमतको आधारमा मजबुत केन्द्रीय सरकार गठनको व्यवस्था गर्दै गोरा लगायत अल्पसंख्यकमाथि हुने विभेद्लाई निषेध गर्याे । दक्षिण अफ्रिकाको संविधान अहिले पनि विश्वकै उत्कृष्टमध्येमा पर्छ ।