कामकारीहरुका पक्षमा

5 years ago Editor 0

देश बनाउँछु भन्नेहरुको हावादारी गफ र घरकी श्रीमती डग्ने जँडियाको रवाफले नेपाली समाजको उचाई र आदर्श इतिहासदेखि आजसम्म पटक–पटक नापतौल हुँदै आएको तथ्य लुकाइरहनु पर्दैन । देशका सबैथोक छ तर एउटा अंश खोज्नका लागि पनि विदेशीको दैलो ढुक्ने हामीले बिगारेको परम्परा कहिले सुध्रने हो ! यो विषय थप गम्भीर र सोचनीय बन्दो छ । नराम्राका बीचमा फाट्टफुट्ट राम्रा काम पनि भएका छन् । तर, मरुभूमिमा हुने छिटफुट वर्षाको अर्थ र औचित्य कति रहन्छ वा रहन्न ? वहस र आलोचना गर्न नेपाली समाजलाई जति विश्वका कसैलाई पनि आउँदैन । ताल परे हामीकहाँ कुनै विषय चित्त बुझेमा पनि विरोध हुन सक्छ र चित्त नबुझेकै कारण आन्दोलन हुन पनि सक्छ । काम गर्न भन्दा पनि बिगार्न वा बिथोल्ने बढी अधिकार प्राप्त गरेका नेपाली सार्वभौम नागरिकहरुको सर्वमान्य अधिकारका खिलाफ बोल्ने दुस्सहास गरिएको भने होइन । तर यदाकदा सत्य बोलिरहँदा तितो अनुभूति हुने र सत्य मन नपराउनेहरुको विश्लेषणमा सत्यका पक्षमा बोलिएका प्रत्येक शव्दहरु दुस्सहास समेत बन्ने खतरा उत्तिकै छ ।

हामीले चाहे आफ्नै मनमा वा जनताका माझमा गरेका प्रतिवद्धताहरु कहिल्यै पूरा नगर्ने पाटामा ख्याति र कीर्तिमानी कमाएका छौं । आज एक थोक भनिएको छ भने भोलि कुन्नी के कारणले अर्थोकको थालनी गर्छौं हामी, अनि पर्सी कामको परिणाम आउँदा जे भनेर शुरु गरिएको हो ठीक त्यसको विपरित वा अगुल्ठो लिन गएर खरानी बोकेर फर्कने प्रवृत्तिका मालिक बनेका छौं हामी, हामी अर्थात नेपाली । त्यसले हामीलाई कहिले हावा भरेर त कहिले हावा नै नभरी भकुर्छन् विदेशीले, मानौं हामी भकुण्डो मात्रै हौं । अथवा हाम्रो राष्ट्रको कुटनीतिक मर्यादा विपरित विदेशीहरुले बोलिदिने वा व्यवहार गरिदिने परिपाटीबाट वाकदिक बनेका छौं हामी । तर, यी सबै अराजकताहरु सहेर बाँचेका छौं हामी । किनकि सवैप्रथम हामीले आफूमा परिवर्तन ल्याउन सकेका छैनौं । हामी आफै यथास्थितिको जाँतो बनेका छौं । यति भइसकेपछि हामीले अरुलाई परिवर्तनका पक्षमा जतिसुकै भाषण वा अन्य जुनसुकै माध्यमबाट रुपान्तरण गराउन चाहे पनि त्यो प्रयास फजुल मात्रै हुने निश्चित छ ।

अरुको आचरण वा व्यवहारलाई परिवर्तन गर्न चाहनेले सर्वप्रथम आफूलाई रुपमान्तरण गर्न सक्नु पर्दछ । परिवर्तनको पक्षमा निरन्तर आफू डटेर लाग्ने तर अरुका बारेमा अनावश्यक टिक्काटिप्पणी नगर्ने आदत र आचरण थोरै नेपालीहरुमा मात्रै छ । यस्तो उन्नत आचरण भएका नेपालीहरु वास्तवमा सदैव आफू, आफ्नो विचार, लक्ष्य र उद्देश्य तथा आफ्नो राष्ट्रको उन्नति, प्रगति र विकासका निम्ति चिन्तित रहन्छन् । पछिल्लो पटक नेपाली क्रिकेट खेलाडीहरुले यो उत्साहलाई व्यवहारमा साकार तुल्याएका छन् । विदेशी भूमिमा पनि नेपाल र नेपालीका पक्षमा उत्कृष्ट खेल खेल्दै इतिहासमा पहिलो पटक नेपालका तर्फबाट विश्वकप क्रिकेटका निम्ति सहभागिता सुनिश्चित गरेर । बिगत १७ वर्षदेखि थालिएको अन्तर्राष्ट्रिय क्रिकेट अनुभव र जित हारका विभिन्न शृंखलाहरुबाट पाठ सिक्दै र इख पाल्दै अन्ततः नेपालका निम्ति व्यग्र प्रतिक्षाको घडी पूरा भउको मान्नु पर्दछ, यो उपलब्धिलाई । खाइनखाई र अनेकन व्यावधानहरुको सामना गर्दै भए पनि यी नेपाली क्रिकेटरहरुले देश र जनताका निम्ति जुन आत्मसम्मान र गौरवको अनुभूति दिन सके, वास्तवमा यो खुशी, उत्साह, आत्मसम्मान र गौरवका बदलामा नेपाली क्रिकेट खेलाडीहरुलाई दिने वा तुलना गर्न मिल्ने वस्तु केही पनि छैन । उनीहरुले जे काम गरेका छन्, इतिहासदेखि आजसम्म विरलै मान्छेले गरेका होलान् ।

यसर्थ, देश बनाउँछु, समाज बनाउँछु लगायत अनेकन भ्रामक बाचा र कसम खाने पाखण्ड राजनीतिक नेताहरुदेखि सरकारले प्रत्येक आर्थिक वर्षमा तलव, सेवा सुविधा र भत्ता बढाउँदा पनि कामचोर प्रवृत्तिमा सुधार नआउने तथा भ्रष्टाचार नामक रोगबाट मुक्त हुन नसकेका नेपालका राष्ट्रसेवक कर्मचारी हुन् वा राज्यलाई तिर्नु पर्ने कर छलेर नेताका पाल्टामा कालो धनको हिस्सा मिलान गर्ने उत्कृष्ट व्यापारी लगायत आम र औषत अरुलाई मात्र गाली गर्ने तर आफूचाँहि हात बाँधेर बस्ने हामी नागरिकहरुको प्रवृत्तिमाथि नेपाली क्रिकेट टिमले जुन झापट हिर्काएका छन्, वास्तवमा यो उनीहरुले हिर्काएको झापट अर्थपूर्ण र सन्देशमूलक समेत छ ।

आजको उचाईलाई कायम राख्दै थप सफलताका निम्ति नेपालका क्रिकेट खेलाडीहरुलाई जुनसुकै र जस्तोसुकै परिस्थितिमा पनि आवश्यक पक्ष भन्नु निरन्तर गुणस्तरीय अभ्यास र त्यसका निम्ति आवश्यक सम्पूर्ण पक्षको उचित व्यवस्थापनमा राज्यले कन्जुस्याँई गर्न मिल्दैन । अब पनि नेपाली क्रिकेटलाई नेपालको राज्यसत्ताले चिन्न, सम्मान गर्न र प्रथमिकतामा राख्न सकेन भने उसका निम्ति त्यो जति दूर्भाग्य अरु हुने छैन । राज्य आफू निकम्मा भए पनि कामकारीहरुको उपलब्धिलाई उचित संरक्षण र प्रवद्धन गर्ने र विकासको सम्भावनालाई थप उजागर गर्दै अघि बढ्ने उसको महत्वपूर्ण दायित्व र जिम्मेवारी हो ।