शिविरमा विरहको एकल रचान वाचन

5 years ago Editor 0

नेपाल, बेलडाँगी
२८ नोभेम्बर /

 

 

झापाको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा बिहीबार दार्जिलिङका युवा कवि कर्ण विरहको एकल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

विश्व भूटानी साहित्यिक संगठन (जिबिएलओ) को आयोजनामा सम्पन्न एकल रचना वाचन कार्यक्रममा विरहले आफ्नो हालै प्रकाशित कविताकृति भाव अभावबाट अधिकांश कविताहरु वाचन गर्नुभएको थियो । उहाँलाई सुन्न शिविरका स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो भने दमक, उर्लाबारीका स्रष्टाहरु समेत विरहको कविता सुन्न बेलडाँगी–२ को सिएमसी हलमा जम्मा भएका थिए ।

वाचनका क्रममा विरहले भोक, जयमाया १, २, लीला निशा, पानी, अभाव २, ३, अभाव २१, जुत्ता लगायतका कविता वाचन गर्नुभएको थियो । उहाँलाई बीचमा अर्का दार्जिलिङे कवि शरण मुस्कानले भूमिका सहित कविता वाचन गरेर सहयोग गर्नुभएको थियो भने पुस्कर सिङ्गरले विरहको कविता शैली र शिल्पीका बारेमा बोल्नु भएको थियो ।

सो कार्यक्रमका दौरान साहित्यकार प्रकाश आङ्देम्बे, बेलडाँगी शिविर व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बा, चर्चित कवि उपेन्द्र सुब्बा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम भूटानी अग्रज साहित्यकार याम थुलुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।