संविधानसभामा ३१ दलको स्थान सुरक्षित

4 years ago Editor 0

 

कमन देवान

नेपाल, झापा
२८ नोभेम्बर /

दोस्रो संविधानसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मत गणना समाप्त भएको छ । दुवै निर्वाचन प्रणालीबाट प्राप्त मतका आधारमा दुई स्वतन्त्र सहित जम्मा ३१ ओटा राजनीतिक दलहरुले संविधानसभामा प्रतिनिधित्व सुनिश्चित गरेका हुन् ।

संविधानसभामा स्थान सुरक्षित गर्नेहरु मध्ये एक सय सिट संख्या कटाउने दुई ओटा दल छन् भने एक मात्र सिट संख्या प्राप्त गर्ने ११ ओटा दलहरु रहेका छन् । समानुपातिकतर्फ विभिन्न एक सय २२ ओटा राजनीतिक दलहरुले सहभागिता जनाएकामा कूल ९४ लाख ५७ हजार आठ सय ४४ सदर मत खेसको निर्वाचन आयोगले जनाएको छ ।

 

1 page

 

कांग्रेस पहिलो दल

यसैबीच नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १९६ सिट हात पार्दै आफूलाई देशकै ठूलो राजनीतिक दलका रुपमा स्थापित गरेको छ ।

यसअघि प्रत्यक्षतर्फ १०५ स्थानमा जित हात पारेको कांग्रेसले बिहीबार समानुपातिकतर्फको मत गणना सम्पन्न गर्दा कूल २४ लाख २१ हजार दुई सय ५२ मन प्राप्त गर्दै थप ९१ सिट हात पार्न सफल भएर उसले आफूलाई मुलुककै ठूलो दलका रुपमा स्थापित गर्न सफल भएको हो । गत २०६४ चैत्र २८ गते सम्पन्न संविधानसभा निर्वाचनमा भने कांग्रेस दोस्रो ठूलो दलका रुपमा सीमित हुन पुगेको थियो ।

यसैबीच प्रत्यक्ष र समानुपातिक समेत गरी कूल १७५ सिट हात पार्न सफल नेकपा एमाले दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ । प्रत्यक्षतर्फ ९१ स्थानमा जित हाँसिल गरेको एमालेले समानुपातिकतर्फ २२ लाख ४३ हजार चार सय ७७ मत प्राप्त गर्दै थप ८४ सिट जोड्न सफल भएको हो । एमाले अघिल्लो संविधानसभाको हैसियत भन्दा एक तह माथि उक्लिन सफल भएको छ ।

अघिल्लो पटक मुलुकको पहिलो दल बन्न सफल भएको एकीकृत माओवादी यस पटक भने तेस्रो दलको रुपमा मात्र सीमित हुन पुगेको छ । प्रत्यक्षतर्फ २६ स्थानमा मात्र जित निकाल्न सकेको एमाओवादीले समानुपातिकमा समेत कांग्रेस र एमाले भन्दा १० र आठ लाख कम मत मात्र प्राप्त गर्न सफल भएको हो । १४ लाख ३८ हजार छ सय ६६ मत प्राप्त गरेर ५४ सिट जोड्न सफल एमाओवादीको कूल सिट संख्या ८० मात्र कायम हुन पुगेको छ ।

प्रत्यक्षतर्फ एक सिट पनि हात पार्न असक्षम राप्रप नेपालले समानुपातिकतर्फ भने छ लाख २४ हजार दुई सय ८१ मत प्राप्त गर्दै २३ सिट हात परेर मुलुकको चौंथो दल बन्न सफल भएको छ भने प्रत्यक्षमा ४ स्थानमा विजय हासिल गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले समानुपातिकतर्फ दुई लाख ६६ हजार दुई सय ७६ मत प्राप्त गरेर १० सिट जोड्दै कूल १४ सिट हात पारेर पाँचौं ठूलो दल बन्न सफल भएको हो ।

प्रत्यक्ष र समानुपाति दुवै मतपरिणामका आधारमा क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टी छैठौं, मधेसी जनअधिकार फोरम, नेपाल सातौं, तराई मधेस लोकतान्त्रिक पार्टी आठौं, सद्भावना पार्टी नवौं र नेकपा (माले) दशौं दल बन्न सफल भएका छन् ।

त्यस्तै संघीय समाजवादी पार्टी, नेपाल ११ औं, राष्ट्रिय जनमोर्चा १२ औं, नेकपा (संयुक्त) १३ औं, राष्ट्रिय मधेस समाजवादी पार्टी १४ औं र नेपाल मजदुर किसान पार्टी १५ औं दलका रुपमा स्थापित बनेका छन् ।

संविधानसभामा स्थान पाएका अन्य राजनीतिक दलहरुमा तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी नेपाल, नेपाल परिवार दल, दलित जनजाति पार्टी, अखण्ड नेपाल पार्टी, नेपाली जनता दल, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेपाः राष्ट्रिय पार्टी, जनजागरण पार्टी नेपाल, संघीय सद्भावना पार्टी, मधेश समता पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी र समानुपातिक तर्फबाट संविधानसभामा स्थान सुरक्षित गर्न सफल भाग्यमानी अन्तिम पार्टी संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल रहन सफल भएको छ ।