नेपाली क्रिकेटको ऐतिहासिक सफलता

4 years ago Editor 0

दुबई
२७ नोभेम्बर /

नेपाली क्रिकेट टिमले बुधबार संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा हङकङलाई हराउँदै पहिलोपटक विश्वकप टी–ट्वान्टीमा छनोट भएको छ ।

नेपाली क्रिकेटको इतिहासमा यो नै १७ वर्र्षे अन्तर्राष्ट्रिय अनुभवको पहिलो तथा स्मरणलायक जित हो । यो जितसँगै विश्वकप क्रिकेटका लागि नेपाली टिमले आफ्नो खाता खोल्न सफल भएको छ ।

बुधबार हङकङले दिएको १ सय ४४ रनको चुनौतीलाई नेपालले अन्तिम बलमा ५ विकेट गुमाउदै भेट्न सफल भयो ।

नेपालको जितका लागि कप्तान पारस खड्काले ३९ बलमा सर्वाधिक ४६ रन तथा शरद भेसवाकरको ७ बलमा अभिजित १३ रन जोडेर निर्णायक खेल प्रदर्शन गरेका थिए ।

नेपालका लागि  सुवास खकुरेलले १६,  सागर पुन २२, ज्ञानेन्द्र मलल ३०,  विनोद भण्डारी ७ र प्रदीप ऐरीले ३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारीत २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । हङकङलाई सस्तैमा समेट्न नेपालका जितेन्द्र मुखियाले ३, अभिनास कर्णले २ तथा कप्तान पारस खड्काले १ विकेट लिएका थिए भने बाँकी २ खेलाडी रन आउट भएका थिए ।

आगामी वर्षको मार्चमा बंगलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्दे इतिहास कोर्न नेपालले बुधबार हङ्कङलाई हराएको हो ।

जारी प्रतियोगितामा भाग्यको साथ पाएर समूह बीमा तेस्रो भएको नेपालले समूह ए बाट दोस्रो भएको हङकङलाई अन्तिम बलमा हराएको हो ।

आजको खेलमा जित हात पार्दै नेपाल सोझै विश्वकपमा स्थान पाउने तेस्रो टोली बनेको छ ।

विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुबै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधान अनुरुप समूह ‘ए’ बाट आयरल्यान्ड र समूह ‘बी’ बाट अफगानिस्तान यसअघि नै ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन् ।