महिला, दलित र जनजातिको उपस्थिति न्यून रहने

5 years ago Editor 0

नेपाल, झापा
२७ नोभेम्बर /

 

sambidhan

 

पहिलो संविधानसभाको तुलनामा दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचनतर्फ सीमान्तकृत आदिवासी, जनजाति, मधेसी लगायतका समुदायको उपस्थिति न्यून रहने देखिएको छ ।

प्रत्यक्ष निर्वाचित प्रणाली मार्फत चुनिएका दुई सय ४० सभाषद्मा अघिल्लो संविधानसभा भन्दा यस पटक कम सभाषद्ले जित्न सफल भएका छन् । पछि परेका समुदायको अधिकारलाई सुनिश्चित गर्नेगरी लेख्ने भनिएको संविधानमा उनीहरुकै कमजोर उपस्थितिले दोस्रो संविधानसभाबाट सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नहुने खतरा बढेर गएको छ ।

कूल दुई सय ४० सभाषद् मध्ये एक सय १४ जना सीमान्तकृत समुदायका प्रतिनिधिहरु निर्वाचित भएका छन् । जसमा मुस्लिम समुदायका पाँच जना मात्रै छन् भने महिला १० जनामात्र छन् । त्यसैगरी दोस्रा संविधानसभामा प्रत्यक्षतर्फ ३७ जना मधेसी, ६१ जना आदिवासी जनजाति र उक जना दलित समुदायका रहेका छन् । एक सय २६ जना बाहुन क्षेत्री लगायत अन्य समुदायका छन् ।

संविधानसभामा प्रत्यक्ष निर्वाचन जितेका ६१ जनजाति सभाषद्मध्ये २७ जना नेकपा एमाले र १८ जना नेपाली कांग्रेसमा आवद्ध हुनुहन्छ । यसैगरी बाँके क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका एकमात्र दलित उम्मेद्वार दलबहादुर सुनार बिजयी हुनुभएको छ ।

अघिल्लो संविधानसभामा पहिलो शक्ति बनेको एनेकपा माओवादी अहिले तेस्रो बनेको र मधेसी पार्टीहरु पनि कमजोर देखिएका कारण सीमान्तकृत समुदायको उपस्थिति कमजोर र उपल्लो भनिएका जातिहरुको प्रतिनिधित्व बलियो देखिएको हो ।

अघिल्लो संविधानसभामा आदिवासी जनजाति एवम् सीमान्तीकृत समुदायको सहभागिता चार सय भन्दा बढी थियो । संविधानसभाको अन्त्यतिर आइपुग्दा आदिवासी जनजाति सभाषद्हरुको ककसले पहिचानको पक्षमा दुई तिहाइ सभाषद्को हस्ताक्षर समेत संकलन गरेको थियो ।

तर, दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट हुने प्रतिनिधित्व कानूनले तोके अनुसार नै हुने भए पनि प्रत्यक्षतर्फ दलित, महिला, अल्पसंख्यक र जनजातिको प्रतिनिधित्व कमजोर देखिएकाले संविधानसभामा पिछडिएको समुदाय कमजोर देखिने लगभग निश्चित भएको छ ।