उद्यम र अचार

4 years ago Editor 1

विष्णु सुब्बा

नेपाल, झापा
२७ नोभेम्बर /

 

DSCN1369

 

विद्यालयको अस्थायी शिक्षिका जागिर छोडेपछि दमक–१३ की हेमकुमारी कोईरालाले आयआर्जनको बाटो खोज्नुभयो । अनेकौं व्यवसाय गर्ने बाटाहरू पनि नहेरिएको त होइन तर उहाँलाई आत्मनिर्भर हुने व्यवसायमा केही गर्ने उत्साह आयो, अनि थाल्नुभयो अचारको व्यवसायिक उद्यम । तीन वर्षको छोटो अवधिमा उहाँले थालेको घरेलु उद्यमले चिनायो नै उहाँलाई । दिदी–बहिनीहरूले थालेका अचार उद्योग अहिले मेहनेती उद्यम गर्नेहरूका लागि नै उदाहरण बनेको छ ।

ऋणपान गरेर दुई लाखको पूँजीले शुरु गरेको उद्योगको कूल पूँजी अहिले १० लाख रुपैयाँ माथि पुगिसकेको छ । दुई जनालाई त प्रत्यक्ष रोगजारी समेत दिएको छ । कामदारलाई मासिक १४ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । उद्यमी कोईराला भन्नुहुन्छ –‘अचारको कमाईबाट सन्तुष्ट छु ।’ लखनपुर–१ स्थित मंगलमय उमाविमा अध्यापन गराउँदै आउँदा जागिर नै टुटेपछि उहाँलाई व्यवसाय गर्ने जाँगर पलाएको थियो । स्थानीय कञ्चनजंघा सहकारी संस्थाले स्वरोजगार प्रवद्र्धन कार्यक्रम ल्याएपछि अचार सम्बन्धी तालिम दिएको थियो । सो सहकारीको महिला उप–समिति संयोजक समेत रहनुभएकी कोइरालाले भन्नुभयो –‘न्यून आय भएका महिलाहरूलाई स्वरोजगार बनाउन तालिम उपयोगी भए पनि व्यवहारमा कार्यान्वयन नभएपछि यो उद्यम चलाएका हौं ।’ शुरुताका तालिम र लगानी गर्न चाहिने आवश्यक पूँजीको खाँचो भए पनि व्यवसाय गर्न सहकारीले प्रोत्साहित गरेको उहाँको भनाई छ ।

तालिम लिन आउनेको संख्या बढे पनि उद्यमप्रति सक्रियता नआएपछि कोइरालालाई सीप सिकेर काम गरेर सबैलाई देखाउने हिम्मत आएको उद्यमी कोईरालाको बुझाई छ । उहाँ भन्नुहुन्छ –‘अचारको उद्योग खोल्ने साहस आयो, अनि थाल्यांै ।’

दिदीबहिनीहरूले थालेको सो उद्योगबाट उत्पादित अचारका विभिन्न परिकारले पूर्वमा बजार लिँदै गएको छ । अचारका चार ओटा आइटमले स्थानीय बजार मात्र होइन, नेपाली बसेका विभिन्न पश्चिमा मुलुकहरूसम्म निर्यात हुन थालेको छ । अकबरे खुर्सानीको स्वादसँगै आँप, कागती, लप्सीका विभिन्न गुणस्तरीय र स्वादिला अचार हुने गरेकोले दिनानुदिन माग समेत बढ्दै गएको उद्यमी, हेमकुमारी बताउनुहुन्छ ।

सरकारी अनुमति तथा खाद्य परीक्षणबाट समेत इजाजत लिएर उहाँको अचारले यतिबेला बजारका अन्य अचारसँग प्रतिस्पर्धा गरिरहेको छ । तर भारतबाट आयातित गुणस्तरहीन अचारको बिगबिगी बढेकाले बजार लिन चुनौती खेप्नु परेको दुखेसो सुनाउनु भयो । ‘बजारमा पाइने अचार कतिपय खान योग्य हुँदैन, तर सरकारी निकाय मौन छ’, कोइराला भन्नु हुन्छ । सरकारी निकायले अचार उद्योगको गुणस्तरका बारे आवश्यक निगरानी गर्नुपर्ने तथा अचारको गुणस्तरका बारे उपभोक्ताहरू समेत चनाखो हुनुपर्ने उहाँको जिकिर छ ।

वर्षमा सरदर १२ क्वीन्टल अकबरे खुर्सानी अचारमा खपत गर्दै आएको सो उद्योग महिलाहरूले सञ्चालन गरेको पूर्वकै चर्चित घरेलु उद्योगको रुपमा चिनिन्छ ।

घरमै खोलिएको उद्योगमा उद्यमीसँगै अन्य दुई जना श्रमिकले अचारलाई परिकारयुक्त बनाउने काम गर्ने गर्दछन् । उद्योगले गुणस्तरलाई बढी ध्यान दिएकाले उत्पादित अचार केही महँगो मूल्य परे पनि ग्राहकहरु भने सन्तुष्ट रहेको अर्का उद्यमी कविताको तर्क छ । पौरखी दुवै उद्यमी भन्नुहुन्छ –‘अरुको मुख ताकेर पेट भरिन्न । हातमा सीप भए मज्जाले बाँच्न सकिन्छ ।’