शरणार्थीद्वारा खेलाडी सम्मानित

4 years ago Editor 1

नेपाल, बेलडाँगी
२७ नोभेम्बर /

 

sammanit kheladi

 

सार्कस्तरीय प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेका भूटानी शरणार्थी खेलाडीहरुलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

सितोरियो कराँते अन्तर्गत पश्चिम नेपालको धनगढीमा आयोजित सार्कस्तरीय प्रतियोगितामा सहभागी पाँच भूटानी खेलाडी सहित दुई प्रशिक्षकलाई बेलाडाँगीस्थित शिविर व्यस्थापन समिति र भूटानी अगुवाहरुले सम्मानित गरेका हुन् ।

गत कार्तिक २२ गतेदेखि २४ गतेसम्म सम्पन्न सो प्रीतयोगितामा सहभागी पाँच खेलाडीले ७ स्वर्ण, ५ रजत र ३ काँस्य पदक प्राप्त गरेका थिए । खेलाडीहरुको प्रतिभाको कदर गर्दै सम्मान गरिएको कार्याक्रमका सभापति तथा शिविर सचिव सञ्चहाङ्ग सुब्बाले जानकारी दिनुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सितोरियो कराँते महासंघका प्रशिक्षक राम चाम्लिङ्गले खेलाडीहरुलाई खदा लगाएर सम्मान गर्नुभएको थियो भने सचिव सुब्बा तथा सहायक सचिव विनु क्षेत्री, सामुदायिक मेलमिलाप केन्द्र बेलडाँगी २ का संयोजक घनश्याम लाम्घाद लगायतले अविर र मेडल प्रदान गरी सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि चाम्लिङ्ग र भूटान कराँते संघका प्रशिक्षक टिआर राई लगायतलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुने अन्यमा भूटान कराँते संघका विक्रम शंखर, कृष्ण राई, पुनम गौतम, मञ्जु भण्डारी र मनिषा राई रहनुभएको छ ।
भूटान कराँते संघका अगुवा प्रशिक्षक टिआर राईले खेल, कला र सृजना कहिल्यै पनि शरणार्थी नहुने र यसको संरक्षणमा सहयोगी संस्थाहरुले समेत पहल गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक कठिनाईका बावजुद पनि १३ ओटा पदक जितेर ल्याउनु सिङ्गो भूटानी शरणार्थी समुदायको गौरव भएको बताउनु भयो ।

प्रतियोगितामा सार्क क्षेत्रका अफगानिस्तान बाहेक अन्य सात ओटा राष्ट्रका दुई सय १० जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल, श्रीलंका, भारत र भूटान क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौंथो भएका थिए ।