चुलचुलीमा फाल्गुनन्द निसामहिम बन्दै

5 years ago Editor 0

नेपाल, चुलाचुली
२६ नोभेम्बर /

 

press-meet

 

इलामको दक्षिणी गाविस चुलाचुलीमा फाल्गुनन्द लिम्बू भाषा सम्बन्धी पाठशाला सञ्चालनको तयारी गरिएको छ । चुलाचुली–१ स्थित कमलझोडामा बहुभाषिक शिक्षा योजना अनुसार लिम्बू भाषा पाठशाला सञ्चालन गरिन लागिएको हो । किरात सत्यहाङ्मा नोमाङगेना सेवा संघले सोमबार कमलझोडामा पत्रकार सम्मेलन गरी सो पाठशाला सञ्चालनका बारे जानकारी दिएको हो ।

किरात धर्मका गुरु देउबहादुर तुम्बापोको ७० औं जन्मोत्सव तथा शिक्षाको ज्योति फैलाउन त्यस्तो कार्यक्रम अघि ल्याएको जनाइएको छ । संघका अध्यक्ष डम्बर तुम्बापोले बहुभाषिक शिक्षा नीति अनुसार विद्यालयलाई औपचारिक तवरले अगाडि बढाउने योजना रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो –‘हामीले यस क्षेत्रमा व्यवस्थित भाषिक पठनपाठन सञ्चालन गर्न तयारी थालेका छौँ ।’

सोही अवसरमा गुरु तुम्बापोले संघले सञ्चालन गरेको फाल्गुनन्द पाठशालाको भवन शिलान्यास गर्दै भन्नुभयो –‘भाषा, धर्मको शैक्षिक जागरणका लागि यस्ता निसामाहिमको भूमिका महत्वपूर्ण हुन्छन् ।’ उहाँले भक्तजनहरुलाई अधिवाचन दिँदै सम्पूर्ण मानव जातिलाई सत्य कर्म र मार्गमा डो‍र्याउन धार्मिक शिक्षाको खाँचो रहेकोमा जोड दिनुभयो । त्यस अवसरमा विभिन्न क्षेत्रबाट सहभागी हुन आएका भक्तजनहरुले गुरुको सुख, शान्तिको कामना गरेका थिए ।

सो कार्यक्रममा संघले गुरुको जन्मोत्सवको कामना गर्दै त्यहाँ यज्ञ पाठक समेत गरिएको संघका सचिव रञ्जित बनेमले जानकारी दिनुभयो ।
सो पाठशालासँगै माङहिम निर्माणको काम समेत एकैसाथ शुरु गरिएको थियो । पाठशाला सहित माङहिम निर्माण गर्न किरात धर्मावलम्बीहरु विभिन्न दाताहरुले सहयोग गर्न संघका अध्यक्ष तुम्बापोले बताउनु भयो ।

यसैगरी पाठशाला र मन्दिर निर्माण गर्न स्थानीय आठ जना दाताले करिब १५ लाख रूपैयाँ बराबरको साढे सात धुर जग्गा दान गर्नुभएको छ । चुलाचुली–१ का ओमकुमार तुम्बापोले डेढ कठ्ठा, टीकाराम तुम्बापोले उक कठ्ठा, कुमारी तुम्बापोले पाँच धुर, चन्द्रा तुम्बापो, नरेन्द्र तुम्बापो र कुमार तुम्बापोले क्रमशः एक–एक कठ्ठा जमीन उपलब्ध गराउनु भएको हो । त्यस्तै तान्छोहाङ आङदेम्बेले पाँच धुर र डिल्लीहाङ तुम्बापोले एक कठ्ठा जमीन संघलाई उपलब्ध गराउनु भएको बताइन्छ ।