किन हारे प्रचण्ड काठमाडौं– १० बाट?

5 years ago Editor 0

विष्णु बुढाथोकी /

prachanda

पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र केसीलाई झण्डै दोब्बर मत अन्तरले हराएर निर्वाचित भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचनमा करिब सोही अन्तरले पराजित गरेपछि देशभित्र र बाहिर केसीको चर्चा परिचर्चा बढेको छ।

प्रचण्डजस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय छवि भएका नेतालाई केसीजस्तो स्थानीयस्तरको कार्यकर्ताले कसरी पछारे?

यो प्रश्न र कौतुहल देशभरिका सर्वसाधारणदेखि दिग्गज राजनीतिकविज्ञ सम्ममा छाएको छ। आफू र आफ्नो पार्टीले देशभरबाट लज्जाजनक पराजय भोग्ने संकेत पाएपछि बुधबार बिहानै प्रचण्डले पत्रकार सम्मेलन मार्फत आफू र आफ्नो पार्टी विरुद्ध देशी विदेशी तत्वहरुले षड्यन्त्र र धाँधली गरेको दाबी गर्दै मतगणना प्रक्रियाबाट अलग्गिने धम्की दिए। तर प्रचण्डको हारबारे न प्रचण्ड स्वयम् र उनको पार्टी, न अरु कसैले पनि यसका पछाडिको यथार्थ खोजी गरेका छन् अहिले।
वास्तवमा भन्ने हो भने प्रचण्डले काठमाडांै १० बाट चुनाव हार्नुको पछाडि उनले दाबी गरेजस्तो देशी बिदेशी षड्यन्त्र केही होइन। यो त प्रचण्डले एउटा सच्चा कम्युनिष्ट भएर निर्वाह गर्नुपर्ने भूमिका निर्वाहमात्र गरेका हुन् जसले आफ्नै जन्मदेखि मृत्यु र हरेक विषयलाई सधैं शंकाको दृष्टिले हेर्ने गर्दछन्। यथार्थमा उनको हारमा काठमाडौं १० खासगरी कीर्तिपुरका जनताभन्दा पनि स्वयम् प्रचण्ड, उनकै पार्टी संगठन र नेता कार्यकर्ता जिम्मेवार छन्।

यो तर्क कतिपयलाई पाच्य नहुन सक्छ। तर सत्य यही हो। काठमाडौं १० का जनता खासगरी कीर्तिपुरका मतदाताले ५५ वर्षको इतिहासमै त्यहीँको स्थानीयलाई निर्वाचित गरेर केन्द्रमा पठाएका थिएनन् र अहिले पनि पठाउने थिएनन्। प्रचण्ड र उनको पार्टी संगठनले त्यहाँका जनताबाट २०६४ मा पाएको जनमतको कदर गर्न नबिर्सेको भए सायदै त्यहाँबाट उनी हार्ने थिए।

यो पंक्तिकारको भनाइ होइन। त्यहाँका सर्वसाधारण जनताको भोगाइ हो। पहिलो संविधानसभा निर्वाचनमा एमाओवादीको संगठन बलियो भएर भन्दा पनि प्रचण्डको व्यक्तित्व र उनले सिंगो मुलक र स्थानीयतहमा खेल्न सक्ने भूमिकाका अलावा माओवादीका कार्यकर्ताले चलाएको आस, त्रास र बतासलाई विचार गरेर मत दिएका थिए। ठूलो पार्टीको ठूलै नेताबाट कीर्तिपुर र त्यसआसपासका जनताले पनि ठूलै प्रेमका साथ आशा र भरोसा गरेका थिए। त्यही आशा र भरोसामा प्रचण्डले पानी फेरिदिएपछि घृणामा परिणत भयो जस्को परिणाम मंसिर ४ को मतदानबाट अभिव्यक्त भएको हो।

यदि प्रचण्डले अघिल्लो निर्वाचनमा जनताको अपार समर्थन पाएर संविधानसभामा पुगेपछि कीर्तिपुरका जनतालाई सम्झन नसके पनि नबिर्सेको भए अहिलेको परिणाम अर्कै हुन्थ्यो होला। तर उनले निर्वाचित भएर गएको ६ वर्षको अवधिमा त्यहाँको स्थानीय विकास निर्माणमा कुनै भूमिका निर्वाह गर्न त कता हो कता, सिंहदरबारबाट जम्मा ७ किलोमिटर परको कीर्तिपुरमा एकचोटि फर्केर पनि हेरेनन्।

उनले चुनाव प्रचारको बेलामा कीर्तिपुरका जनतालाई भनेका थिए, ‘यदि आफूले जितेमा त्रिभुवन विश्वविद्यालयले चर्चेको जग्गाको मुवाब्जा दिलाउने र त्रिभुवन विश्वविद्यालयमा रोजगारीको अवसर आएमा कीर्तिपुर बासीलाई पहिलो प्राथमिकतामा राख्ने। त्यस क्षेत्रको भौतिक पूर्वाधार विकासमा प्रभावकारी भूमिका खेल्ने। गुठी अन्तर्गतको जग्गा जमिनको उचित व्यवस्थापन गर्ने आदिइत्यादि। तर विडम्बना तिनै जनताले एमाओवादी नेता दिलीप महर्जनको नेतृत्वमा एउटा सरोकार समिति बनाई दुईवटा बसमा जब उनी प्रचण्ड प्रधानमन्त्री हुँदा आफ्नो मागसहितको ज्ञापनपत्र बुझाउन उनको निवासमा जाँदा आफूले नभेटी एमाओवादी नेता जर्नादन शर्मासँग भेट गराए। बाबुराम भट्टराई प्रधानमन्त्री हुदा गुठी संस्थानको अध्यक्ष स्थानीय कार्यकर्ता पञ्चलाल महर्जनलाई बनाउँदा जनअपेक्षा अनुसार काम गर्न पनि सकेनन्। स्थानीय विकास निर्माणका सवालमा पनि स्थानीय नेतृत्वले समेत कहिल्यै सकारात्मक भूमिका खेल्न सकेन। बरु उल्टै स्थानीय स्तरका योजनामा समेत भागबण्डा र कमिसनलाई महत्व दिए जस्ले जनतामा नकरात्मक सन्देश फैलायो।

छ वर्षपछि एकैचोटि निर्वाचन प्रचारप्रसारमा मत माग्न जाँदा त्यहाका जनतालाई भ्रम पार्ने कोशिश गर्दै आफ्नो पर्चामा आपूmले बाबुराम भट्टराईको पालामा करोडौंको बिकास बजेट तयार गरेको भए पनि विपक्षी दलहरुको अबरोधका कारण केही गर्न नसकेको भन्दै चोखिन खोजे। यो कुरा त्यहाँको जनताले यसपटक पत्याउन सकेनन। त्यसैगरी उनले आफ्ना पार्टी कार्यकर्ताले चलाएको राराहिल स्कूलमा आयोजित सभा र अर्को एउटा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा साम, दाम, दण्ड, भेद जसरी भए पनि चुनाव जित्नुपर्ने भन्दै कार्यकर्तालाई त्यसतर्फ लाग्न निर्देशन गरे। विभिन्न राजनीतिक दल, निर्वाचन आयोग र सञ्चार माध्यमले प्रचारप्रसारमा आचारसंहिता विपरित देश दौडाहा गरेको भनिरहँदा कीर्तिपुरको लायाकुमा अन्तिम चुनावी सभामा भाग लिन जादा पर्साबाट सोझै हेलिकप्टर लिएर नयाँबजार नजिकै त्रिभुवन विश्वविद्यालयको बास्केटबल ग्राउण्डमा ओर्लिए । त्यो हेलिकप्टर उडाएको हावाले सर्वसाधारण मतदाताको टोपीको साथसाथै त्यसको आवाजले उनीहरुको मनै उडाइदियो। सर्वसाधारण जनताले पनि प्रश्न गर्नथाले, सर्वहाराको नेता हेलिकप्टरबिना हिँड्नै नसक्ने?

त्यस अतिरिक्त आफ्नै पार्टीभित्रको अन्तरद्वन्द्व खासगरी भट्टराई समर्थक नेता कार्यकताको पनि त्यति सकारात्मक सहयोग रहन सकेन प्रचण्डलाई। अर्कोतर्फ कीर्तिपुरको पाँगा र लायाकु वरपर रहेका मोहन बैद्य नेतृत्वको माओवादीका केन्द्रीय सदस्य धनबहादुर महर्जन, स्थानीय नेता कार्यकर्ताहरु रत्न महर्जन, महेन्द्र महर्जन, रमेश महर्जन, विष्णु महर्जनजस्ता स्थानयि तहमा प्रभावशाली व्यक्तिहरु खुलेरै उनको विरुद्धमा उत्रिए।

साथै विपक्षी दलका उम्मेदवारहरु पनि उनका विरुद्ध प्रचार गर्दा सांसद विकास कोषको रकम समेत सो क्षेत्रको विकासमा खर्च नगरेको र उनलाई राष्ट्रिय नेता भन्दा पनि हेलिकप्टरमा सयर गर्ने टुरिस्ट विलासी व्यक्तिको रुपमा प्रस्तुत गरे जसले गर्दा जनतामा उनीप्रति वितृष्णा पैदा गर्यो।

जनतामा फैलिएको वितृष्णालाई कांग्रेसका केसीले राम्रैसँग उपयोग गर्न सके। यतिसम्म कि सहरी विकास आयोजनाले आगाडि सारेको सडक विस्तार योजनाले घरवास हुने त्रासमा रहेका कीर्तिपुरका जनतालाई केसीले आफू निर्वाचित भएमा त्यसको वैकल्पिक योजनामा जोड दिने आश्वासन दिए। यसले गर्दा अघिल्लो निर्वाचनमा कीर्तिपुर नगरपालिकाका १९ वडाको मतगणना हुँदा ८ हजारभन्दा बढी मतअन्तरले अगाडि रहेका प्रचण्डलाई यसपटक केसीले उल्टै झण्डै ३ हजारको मत अन्तरले पछाडि पारे।

यदि प्रचण्डलाई मंसिर ४ को यो नमिठो परिणाम बदल्ने इच्छा छ भने उनले यी र यस्तै अनगिन्ती कमजोरी र कारणहरुको सकारात्मक निदान खोज्नु जरुरी छ। न कि जनताले इतिहासमै स्वच्छ र स्वस्थ प्रक्रियाबाट प्रकट गरेको अभिमतलाई देशी विदेशी षड्यन्त्रको परिणाम वा धाँधलीको संज्ञा दिने। यसले अघिल्लो निर्वाचनका साथै अहिलेको निर्वाचनमा उनलाई मत दिने १२ हजार भन्दा बढी जनतालाई अपमानित गरेको ठहर्छ। यसको परिणाम, अर्कोपटक यही १२ हजार मतदाता पनि घटेर आधा भन्दा कम रहन सक्छन्। त्यो सायद प्रचण्ड र उनको पार्टीको हितमा हुने छैन। साभार सेतोपाटीबाट