समानुपातिकमा एमाले अगाडि

4 years ago Editor 0

नेपाल, दमक
२४ नोभेम्बर /

 

samanupatik matganna

 

दोस्रो संविधानसभा २०७० को समानुपातिक तर्फको मत गणना जारी रहेका बेला नेकपा एमाले अग्रणी देखिएको छ ।

यसैबीच यो समाचार तयार पार्दासम्मको समानुपातिक मत परिणाम अनुसार नेकपा एमाले पाँच लाख ७२ हजार दुई सय १७, नेपाली कांग्रेस पाँच लाख ४२ हजार सात सय ४८, एमाओवादी तीन लाख ४८ हजार तीन सय ३६, राप्रपा नेपाल एक लाख ६२ हजार छ सय ५४, राप्रपा ६२ हजार छ सय ६७, फोरम लोकतान्त्रिक ३३ हजार नौ सय ८९, संघीय समाजवादी पार्टी २८ हजार पाँच सय ७५, राष्ट्रिय जनमोर्चा २८ हजार चार सय ५३, फोरम नेपाल १७ जहार पाँच सय ४७, तमलोपा १७ हजार दुई सय ५५ मत पाएका छन् भने अन्य दलहरुले दुई लाख ४० हजार मत प्राप्त गरेका छन् ।

समानुपातिकतर्फ एक सय २२ राजनीतिक दलले सहभागिता जनाउँदै निर्वाचन आयोगमा बन्द सूचि पेश गरेका थिए ।

प्रत्यक्षतर्फ भने नेपाली कांग्रेसले सर्वाधिक १०५ सिट जितेको छ भने मत गणनाको सुरुवातमा अग्रणी देखिएको एमालेले ९१ सिट जितेको छ ।

त्यस्तै अघिल्लो २०६४ को निर्वाचनमा पहिलो दल बनेको एमाओवादीले यस पटक २५ सिट मात्र हात पार्न सफल भएको छ भने प्रत्यक्षतर्फ सिट जित्ने अन्य दलहरुमा तमलोपा ४, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ४, मधेसी जनअधिकार फोरम नेपाल २, सद्भावना १, नेपाल मजदुर किसान पार्टी १, तराई मधेस सद्भावना पार्टी १ र स्वतन्त्र २ रहेका छन् । प्रत्यक्षतर्फको एक निर्वाचन क्षेत्रको मात्र पट परिणाम बाँकी रहेको छ ।

झापामा ठूलो संख्यामा मत बदर

 दोस्रो संविधानसभाको प्रत्यक्षतर्फको निर्वाचनमा झापामा ठूलो संख्यामा मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका सात ओटै क्षेत्रमा कूल २५ हजार १६ मत बदर भएको हो ।

झापामा यसपटक तीन लाख ५५ हजार सात सय ८८ मत खसेको थियो । जसमध्ये तीन लाख ३० हजार सात सय ७२ मत मात्र सदर भएको थियो ।
यसपालिको निर्वाचनमा जिल्लामा ७.३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यले जानकारी दिए । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापामा ५.८१ प्रतिशत मात्र मत बदर भएको थियो ।

क्षेत्रगत रुपमा झापा क्षेत्र नं. १ मा तीन हजार सात सय ३०, क्षेत्र नम्बर २ मा तीन हजार छ सय ५३, क्षेत्र नम्बर ३ मा दुई हजार सात ९६, क्षेत्र नम्बर ४ मा तीन हजार नौ सय १०, क्षेत्र नम्बर ५ मा चार हजार तीन सय ९८, क्षेत्र नम्बर ६ मा तीन हजार २३ र क्षेत्र नम्बर ७ मा तीन हजार पाँच सय छ मत बदर भएको थियो ।