दोस्रो ऐतिहासिक अवसर

4 years ago Editor 0

कमन देवान

कमन देवान

एक युगमा एक दिन एक पटक आउँछ भनिएको संविधानसभा निर्वाचन नेपाली जनताको अहोभाग्यले वा देश र जनताको हितमा काम गर्छौं, जनताले रोजे जस्तो र खोजे जस्तो शासन व्यवस्था कायम गर्छौं लगायत देश र जनताका पक्षमा भन्न मिल्ने जति सबैथोक भन्ने दलहरुको अकर्मणयताका कारण आधा दशकमा दुई पटक नेपाली जनतामाझ आइरहेको अवस्था छ । अर्थात, आज २०७० साल मंसिर ४ गते दोस्रो पटक नेपालमा संविधानसभा निर्वाचन हुँदैछ । निर्वाचनको पक्षमा रहेका राजनीतिक दलहरुको चुनावी तामझाम एकातिर छ भने अर्कातिर निर्वचन बहिष्कारका लागि शान्तिपूर्ण आन्दोलन गर्छौं भन्ने दलहरुको उपद्रो पनि चर्चा गर्न लायक नै छ । अर्थात आज नेपाल र नेपालीका लागि त्यो ऐतिहासिक दिन पुनः दोहोरिएको छ, जुन यसअघि २०६४ चैत्र २८ गते नेपाली जनताका निम्ति प्राप्त भएको थियो ।

अघिल्लो पटकको संविधानसभा निर्वाचनले आफ्नो महत्वपूर्ण दायित्व पूरा गरेकै हो । नेपाली जनताले आफ्नो महत्वपूर्ण जिम्मेवारी पूरा गरेकै हुन् । तर जनताले दिएको अभिमतको सही कदर दलहरुबाट हुन नसक्दा ऐतिहासिक महत्वको संविधानसभा अवसान भयो । र यतिबेला हामी संविधानसभा निर्वाचनको दोस्रो महत्वपूर्ण अध्यायको सुरुवात गर्न गइरहेका छौं । आज आम नेपाली नागरिकहरुले मतदान गरेर यो अध्यायको विधिवत सुरुवात गर्दैछन् । आशा गरौं, यो सुरुवात सफलता बनोस् । आफ्नो अमूल्य मतको सदुपयोग भएको चाहन्छन् प्रत्येक नागरिक । नागरिकहरुको यो सार्वभौम अधिकारको सम्मान गर्ने वा अपमान गर्ने त्यो दलहरुको हातमा छ ।

र आम नागरिक जो बालिक मतदाता छन् उनीहरुले यो बुझ्न जरुरी छ कि, आजको दिन उनीहरुको हातमा सार्वभौम अधिकारको सदुपयोग गर्ने सबैभन्दा महत्वपूर्ण अवसर र जिम्मेवारी आएको छ । लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसाथ गर्ने हो भने जनता वा नागरिकले विश्वकै शक्तिशाली नागरिक हुने दिन भनेको नै निर्वाचनमा मतदान गर्दा हो । आज प्रत्येक मतदाता नागरिक सर्वशक्तिसम्पन्न बनेका छन् । नेपाली नागरिकहरुले भूल्न नहुने महत्वपूर्ण विषय के भने यो निर्वाचन पुल, धारा, बाटो, बिजुली, नहर, बाँध, रोजगारी, उद्योग, भत्ता वा अन्य लाभ र विकास निर्माणका लागि प्रतिनिधि छनौट गर्ने भन्दा पनि हाम्रो देश नेपालको संघीय लोतान्त्रिक गणतान्त्रिक र धर्मनिरपेक्ष संविधान निर्माणका लागि योग्य प्रतिनिधि छनौट गर्नका लागि हो । देश र जनतालाई निकास दिने संविधान निर्माण गर्न सक्ने योग्य उम्मेद्वार तथा आम नेपाली जनताको भावनालाई संविधानमा समेट्न सक्ने राजनीतिक दलको छनौट गरी मतदान गर्न जरुरी छ ।

मत माग्न आउने उम्मेद्वारहरुको भनाईलाई प्रमुखता दिनु भन्दा पनि कुन दलले नेपालको समग्र परिस्थितिलाई समेटेर आफ्नो प्रतिवद्धतापत्रमा नीति तथा कार्यक्रम तय गरेका छन् । जनताले स्वतन्त्रपूर्वक र निर्भयी भएर ती दल वा उम्मेद्वारका पक्षमा गोप्य मतदान प्रक्रियाबाट मत दिनु पर्दछ ।
कसैको बहकाउमा आएर वा कसैले देखाउने विभिन्न किसिमका झुटा आश्वासन र प्रलोभनमा परेर नागरिकले आफ्नो अमूल्य मत खर्च गरेमा फेरि पनि त्यसरी दिइएको अमूल्य मतले गलत मानिसहरु संविधानसभामा पुग्न सक्छन् र संविधान नबन्न सक्छ । यसर्थ आफ्नो अमूल्य मतको सदुपयोगका निम्ति सचेत मतदाताहरुले आजको दिन विवेक पु¥याउन आवश्यक छ । यो मतदानले नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्ने विश्वास गर्न सकिन्छ । त्यसो भएकाले पनि एक युगमा एक दिन पटक आउने यो ऐतिहासिक अवसरलाई उपलब्धिमा बदल्न सम्पूर्ण मतदाताहरुले सही ढङ्गले देशमा विद्यमान सबै किसिमका विभेद्हरुको अन्त्य, शोषण र अत्याचारको निर्मूलीकरण, सबै जाति, वर्ग, क्षेत्र, लिङ्ग, धर्महरुको हितमा हुने संविधान निर्माणमा निम्ति योग्य उम्मेद्वार र सही राजनीतिक दलको छनौट गर्न आवश्यक छ ।

सामान्य कारणले आज गरिएको सामान्य जस्तो लाग्ने त्रुटि वास्तवमा युगौंयुगका लागि अभिषाप बन्न सक्दछ । त्यसैले सबैको हितमा बन्ने संविधान लेखनका लागि सबैको प्रतिनिधित्व सुनिश्चित गर्न सक्ने राजनीतिक दल र योग्य उम्मेद्वारहरुलाई विजयी गराउन फेरि पनि सम्पूर्णमतदाता महानुभावहरुमा हाम्रो आग्रह छ । दोस्रो पटक आफैले यो देशको मालिक हुन तपाई नागरिक महानुभावहरुले गर्नु भएको मतदानले सार्थकता पाओस् । तब मात्र मुलुकमा तपाईको अभिमत समेटिएको संविधान बन्ने छ । तपाई स्वयम्ले संविधान नलेख्दासम्म तपाई नागरिकहरु यो देशको सार्वभौम अभिकार सम्पन्न र वास्तविक मालिक बन्न सक्नुहुन्न । र, सबैको सहभागितामा संविधान लेखन कार्य थाल्नु पनि व्यवहारिक अर्थमा सम्भव छैन । त्यसो भएकाले तपाईले विश्वास गरेको व्यक्तिलाई संविधान लेखनमा सहभागी गराउन तथा तपाईलाई वैचारिक रुपले ठीक र सही लागेको राजनीतिक दललाई संविधानसभामा सहभागी गराउनका निम्ति यस पटक तपाई मतदान गर्दै हुनुहुन्छ । यसर्थ, सक्षम प्रतिनिधि छनौटका लागि तपाईलाई अग्रिम शुभकामना ।