आज दोस्रो संविधानसभा निर्वाचन

5 years ago Editor 0

कमन देवान

नेपाल, झापा

१८ नोभेम्बर /

 

sambidhanVOTE

 

दोस्रो संविधानसभा निर्वाचन आज मंगलबार देशभरका विभिन्न निर्वचन क्षेत्रहरुमा हुँदैछ । एक युगमा एक दिन एक पटक आउँछ भनेर बखान गरिने संविधानसभा निर्वाचन नेपालमा भने २०६४ चैत्र २८ गते पहिलो पटक सम्पन्न भएको थियो भने आज सम्पन्न हुने यो निर्वाचन ६ वर्ष नपुग्दै दोस्रो पटक सम्पन्न हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार देशभरका दुई सय ४० ओटा निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न मतदानस्थालमा रहने विभिन्न मतदान केन्द्रहरुमा एकै समय अर्थात बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुने छ । आयोगले मतदान कार्यक्रमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भएको जनाएको छ । आयोगले जारी गरेको मतदाता नामावली विवरण अनुसार देशभरबाट एक करोड २१ लाख ४७ हजार आठ सय ६५ जना फोटो सहितको मतदाता परिचयपत्र बाहक बालिक नेपाली नागरिकले मतदान प्रक्रियामा सहभागी हुन पाउने छन् ।

पूर्वाञ्चलका जम्मा २९ लाख नौ हजार एक सय ३४ जना मतदान गर्न योग्य नागरिकहरुले आज हुने दोस्रो संविधानसभा निर्वाचनमा मतदान गर्दैछन् । मतदाताले हल्का निलो रङ्गको मतपत्रमा आफूलाई मन परेको उम्मद्वार छनौट गरेर मतदान गर्नु पर्ने छ भने हल्का रातो रङ्गको मतपत्रमा आफूलाई मन पर्ने राजनीतिक दल छनौट गरेर मतदान गर्नुपर्ने छ । आयोगमा विभिन्न एक सय २७ ओटा राजनीतिक दल दर्ता भएका छन् । यी मध्ये अधिकांश ठूला र स्थापित राजनीतिक दलहरुले प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेद्वारी दिएका छन् भने सीमित राजनीतिक दलहरुले समानुपातिकतर्फका उम्मेद्वारहरुको नामको मात्रै बन्द सूचि दर्ता गराएका छन् । समानुपातिकतर्फबाट एक सय २२ दल चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

देशभरका सरकारी कर्मचारी तथा निर्वाचन सुरक्षा प्रयोजनका लागि नियुक्त भएका म्यादी प्रहरीहरुले भने समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने छन् । आयोगले सरकारी कर्मचारीहरुका लागि देशभरका विभिन्न जिल्लाहरुमा अस्थायी रुपमा तीन सय २३ मतदान स्थल कायम गरी तीन सय ३७ मतदान केन्द्रको प्रवन्ध गरेको जनाएको छ ।

मोबाइल र सवारीसाधन निषेध

यसैबीच आज हुने निर्वाचमा मतदान केन्द्रमा मोबाइल फोन लैजान निषेध गरिएको छ । आयोगले मतदान केन्द्रको सुरक्षालाई मध्यनजर गर्दै मतदान केन्द्रमा मोबाइल लैजान निषेध गरेको हो ।

मतदान सुरु हुन करिव ११ घण्टायता अर्थात मंगलबार राति १० बजेदेखि मतदानका निम्ति तोकिएको समयावधि नसकुन्जेलसम्मका लागि आयोगले निजी तथा सार्वजनिक यातायातका साधन गुडाउन समेत आयोगले निषेध गरेको छ । निर्वाचन आयोगको अनुमति पाएका सवारीसाधनले मात्र गुड्न पाउने छन् । आज देशभर आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान समेत निषेध गरिएको छ । त्यस्तै यसअघि नै नेपाल–भारत र नेपाल–चीन जोड्ने सबै नाकाहरु सिल गरिएका छन् ।

सुरक्षा चुनौति

खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले निर्वाचनका लागि सुरक्षा स्थिति मजबुद पारेको जनाएको छ । निर्वाचन सुरक्षार्थ सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई व्यापक रुपमा खटाएको छ । तर मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले चार ओटै सुरक्षा अङ्गका प्रमुखहरुलाई उच्च सतर्कतामा रहन निर्देशन दिए पनि सरकारले दावा गरेजस्तो चुस्त सुरक्षा व्यवस्थाको महशुस भने सवासाधारण जनताले गर्न सकेका छैनन् ।

निर्वाचन बहिस्कारको आन्दोलनलाई शािन्तपूर्ण बनाइने भन्दै आएको वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले विभिन्न हिंसात्मक गतिविधि गरिरहेकाले सुरक्षा स्थितिमा चुनौति थपिएको हो । देशका ग्रामीण क्षेत्रहरुमा विभिन्न किसिमका विष्फोटनका घटना घट्दै आएका छन् भने घट्नाको जिम्मेवारी कसैले पनि नलिइएको स्थिति छ ।

सुरक्षा निकायले ३३ दलीय मोर्चामा आवद्ध वैद्य माओवादी र मञ्च समबद्ध लिम्बुवानका केही नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको भए पनि निर्वाचन केन्द्रीत विष्फोटन लगायत अन्य निर्वाचन विरोधी घटनाहरु कायमै रहेका छन् ।

झापामा १७१ प्रतिस्पर्धी

दोस्रो संविधानसभा निर्वाचनका झापाका चार लाख ५४ हजार चार सय ९१ मतदाताले विभिन्न सात ओटा निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने एक सय ७१ जना उम्मेद्वारहरु मध्येबाट सात जनालाई विजयी गराउनु पर्ने छ ।

३० बढी राजनीतिक दलहरुको दावेदारी रहेको झापाका विभिन्न निर्वाचन क्षेत्रहरुमा गरी दलीयतर्फबाट एक सय ५८ जनाको उम्मेद्वारी रहेको छ भने १३ जनास्वतन्त्र उम्मेद्वारहरु चुनावी मैदानमा छन् । झापाका विभिन्न सात निर्वाचन क्षेत्रका दुई सय ८६ मतदान स्थलहरुमा रहेका छ सय ४८ मतदान केन्द्रहरुमा मतदान हुने कार्यक्रम छ । यसका अतिरिक्त झापाको निर्वाचन क्षेत्र नम्बर २ मा तीन ओटा, क्षेत्र नम्बर ३ मा दुई ओटा र क्षेत्र नम्बर ७ मा दुई ओटा अस्थायी मतदान केन्द्रहरु रहने आयोगले जनाएको छ ।

निर्वाचन सुरक्षार्थ झापाका सात ओटै निर्वाचन क्षेत्रहरुमा जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी नायव उपरीक्षक (डिएसपी) कमाण्डको सुरक्षा टोली खटाएको जनाएको छ । त्यस्तै झापामा सशस्त्र प्रहरीले पनि व्यापक रुपमा जनशक्ति परिचालन गरेको छ भने नेपाली सेनाले आवश्यक मात्रामा जनशक्ति परिचालन गरेको सुरक्षा स्रोतले जनाएको छ । झापाका क्षेत्र नम्बर ३ र ७ लाई विशेष महत्वका साथ हेरिएको छ । क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला चुनावी मैदानमा रहेका छन् भने क्षेत्र नम्बर ७ बाट नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले चुनाव लडेका छन् ।

अघिल्लो संविधानसभा निर्वाचनमा यी दुवै राष्ट्रिय व्यक्तित्व कायम गरिसकेका नेताहरुले यिनै क्षेत्रबाट पराजय भोगिसकेकाले पनि यस पटकको निर्वाचनमा झापा ३ र ७ ले राष्ट्रकै ध्यान खिचेको छ ।

शरणार्थीलाई शिविर बाहिर निस्कन रोक
यसैबीच झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीमा बसोबास गर्ने शरणार्थीहरुलाई आज सम्पन्न हुने निर्वाचनका दौरान शिविर बाहिर निस्कन निषेध गरिएको छ ।

शिविर आसपासका क्षेत्रमा हुने मतदान कार्यक्रमको सुरक्षालाई मध्यनजर गरेर शरणार्थी समुदायलाई शिविरबाट निस्कन नदिने व्यवस्था गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

बेलडाँगीका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालले दिएको जानकारी अनुसार शिविरका जिम्मेवार निकाय शिविर रेखदेख समिति, शिविर व्यवस्थापन समितिका विभिन्न तल्लो निकायमा छलफल गरी सो बारे सूचना दिइएको बताइएको छ ।
आकस्मिक उपचारका लागि शिविर बाहिर लैजानु परेमा  शिविर सुपरिवेक्षकको सहयोगमा आउट पास दिन सकिने प्रवन्ध मिलाइएको शिविर व्यवस्थापन समितिका सचिव  सन्चहाङ्ग सुब्बाले बताउनु भयो ।