मौन अवधि शुरु, चुनाव प्रचार र मदिरा सेवन बन्द

5 years ago Editor 0

नेपाल, झापा

१६ नोभेम्बर /

sambidhan

दोस्रो संविधानसभा निर्वाचनको लागि मौन अवधि सुरु भएको छ । शनिबार मध्यरातदेखि ‘मौन अवघि’ शुरु भएको हो । निर्वचन आचार संहिता २०७० अनुसार शनिबार मध्यरातदेखि मतदान गर्ने समयबीचको ४८ घण्टा समयावधिमा जुनसुकै दल, व्यक्ति वा उम्मेद्वारले निर्वाचन प्रचार प्रसार, नाकाहरुबाट आहोर–दोहोर गर्न तथा मतदान केन्द्र र आसपासका क्षेत्रमा मदिाराजन्य वस्तुको बिक्री वितरण गर्न मिल्दैन ।

शनिबार मध्यरातदेखि निर्वाचन परिणाम प्राप्त नभएसम्मका लागि भारत र चीनसँग जोडिएका नेपालका सबै सीमा नाकाहरु सिल गरिएका छन् । संविधानसभा सदस्य निर्वाचन निर्देशिका २०७० को बुँदा नम्बर ६६ ले ‘मतदान अधिकृतले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदान केन्द्रको क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गर्नुपर्दछ ।’ भन्ने उल्लेख गरेको छ भने निर्देशिकाको ६७ नम्बर बुँदामा ‘मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म निर्वाचन क्षेत्रभित्र कसैले कुनै पनि राजनीतिक दल र उम्मेद्वारको पक्षमा वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न वा अन्य कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न वा गराउन हुँदैन ।’

सञ्चार माध्यमका निम्ति ७२ घण्टे मौन अवधि

संविधान सभा सदस्य निर्वाचन आचार संहिता २०७० ले सञ्चार माध्यमहरुका लागि ७२ घण्टे मौन अवधि रहने उल्लेख गरेको छ । निर्वाचन आचार संहिता २०७० को बुँदा नम्बर ९३ ले ७२ घण्टे मौन अवधिका विषयमा पत्रपत्रिका लगायतका सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने दायित्वका बारेमा व्याख्या गरेको छ ।

आम सञ्चारले मौन अवधिमा कुनै राजनीतिक दल वा उम्मेद्वारको निर्वाचनको प्रचार–प्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रशारण गर्न नमिल्ने प्रावधान उल्लेख गरेको छ । तर, आयोगले प्रवाह गरेको जुनसुकै सूचना तथा समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण गर्नका निम्ति भने सो प्रावधानले नरोक्ने समेत संहितामा उल्लेख छ । आचार संहितामा मौन अवधि भन्नाले मतदान शुरु हुने अघिल्लो दिन ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्मको अवधिलाई मान्नुपर्ने उल्लेख गरिएको छ ।