झापा–७ मा चुनाव तातियो

5 years ago Editor 0

कमन देवान
नेपाल, दमक
१४ नोभेम्बर /

 

jhapa7

 

आगामी मंसिर–४ मा हुने संविधानसभा निर्वाचनको मिति पाँच दिन मात्र बाँकी हुदाँ झापा–७ को चुनावी माहोल निकै तातिएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका एमाले वरिष्ठ नेता केपी शर्मा ओली यस क्षेत्रबाट चुनावी मैदानमा प्रतिस्पर्धी रहनु भएकाले पनि झापा–७ लाई निकै महत्वका साथ हेरिएको छ ।

एमालेका प्रभावशाली नेता ओली झापा– ७ मा पुनः उम्मेद्वार बनेपछि यस क्षेत्रले देशकै ध्यान खिचेको हो । यस पटकको चुनावी अभियान सबैले मतदाताका घरघर पुगेर भोट माग्दै आएकाले समेत सबै दलका उम्मेद्वारहरुले परिणाम आफना पक्षमा आउने दावा गर्दे आएका छन् । ठूला सभालाई छोडेर उम्मेद्वारहरुले बढी मतदाता केन्द्रित कार्यक्रमलाई तताएका छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री रहनुभएका ओलीको क्षेत्रमा यस पटकको निर्वाचनमा एकीकृत नेकपा माओवादीबाट अघिल्लो संविधानसभामा सोलुखुम्बुबाट निर्वाचित गोपाल किराती हुनुहुन्छ भने काग्रेसबाट सुरेश सुब्बा पनि चुनावी मैदानमा रहनु भएको छ । किराती पूर्वमन्त्री र पार्टीका केन्द्रिय सदस्य समेत हुनुहुन्छ भने सुब्बा स्थानीय सामाजिक अगुवा मानिनुहुन्छ । बिगतमा एमाओवादीका सामान्य मानिएका उम्मेद्वारसँग पराजित भए पनि यस पटक भने एमाले बरिष्ठ नेता ओलीको अवस्था निकै सुदृढ बनेको बजारीया हल्ला छ । उहाँको जित निश्चित बन्दै गएको एमालेको दावी छ ।

एमालेले पहिलो निर्वाचनमा गुटबन्दीका कारण आफ्नै कार्यकर्ताको भोट समेत गुमाएका कारण ओलीले पराजय भोगेको अनुमान छ । तर अहिले पार्टीमा यस पटक भने गुटगत समस्याबाट नदेखिएकोले जित आफनो पक्षमा आउने उसले दावी गर्देआएको छ । यस पटक मतदाताको संख्या घटेपनि एमालेलाई असर नपर्ने एमाले दमक नगर अध्यक्ष अम्विका खनाल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ –‘यस पटक हाम्रो पक्षमा जनलहर बढेको छ । अघिल्लो चुनावमा माओवादीले जित्दा यस क्षेत्रका विकास निर्माणका काम ठप्प भएकाले पनि कसलाई मत दिने भन्ने बारेमा जनताले बुझिसकेका छन् ।’ त्यसो त एमालेले यसपटक चुनावी प्रचारमा बिगतको जस्तो कमी कमजोरी हुन नदिएको बताउँदै आएको छ । ‘एमालेले अघिल्लो संविधानसभामा ओलीको अप्रत्यासित पराजयबाट पाठ सिक्दै यस पटक भने निर्वाचन प्रचार प्रसारलाई विशेष प्राथमिकता दिएका छौं’, युवा संघका नगर अध्यक्ष नविन बरालले भन्नुभयो ।

त्यसो त एमाले वरिष्ठ नेता ओलीलाई टक्कर दिन एमाओवादी र कांग्रेसका उम्मेद्वार समेत लागि परेका छन् । एमाओवादीका किराती र कांग्रेसका सुब्बा अलग–अलग प्रयत्नमा कसरी ओलीलाई हराउन सकिन्छ भन्नेमा केन्द्रित देखिनुभएको छ । किरातीले अघिल्लो निर्वाचनमा जितेको माओवादीको साख कायम गर्न लागिपर्नु भएको छ भने कांगे्रसले दुई थरी कम्युनिष्टको भिडन्तबाट आफ्नो जित सुरक्षित हुने अड्कलका साथ अभियानलाई तिव्रता दिएको छ ।

किरातीका चुनाव प्रचार समिति प्रमुख शंकर बस्नेत यस पटक पनि एमाओवादीले नै जित्ने दावी गर्नुहुन्छ । एमाओवादीले पनि प्रचारलाई तिब्रता दिएको छ । घरदैलो, पर्चा पम्प्लेटदेखि लिएर विभिन्न स्थानमा आमसभाका माध्यमबाट पनि एमाओवादी प्रचारलाई अघि बढाएको छ ।
‘हाम्रो प्रतिस्पर्धा भनेको एमालेसँगै हो, एमालेका उम्मेद्वार वजनदार नेता भएकोले कडा प्रतिस्पर्धा हुने पनि हामी जित निकाल्ने कोशिसमा छौं’, एमाओवादी झापा क्षेत्र नम्बर ७ का इञ्चार्ज गगन पुरीले भन्नुभयो ।

कांग्रेस उम्मेद्वार सुरेश सुब्बा पनि जितका लागि प्रयत्नरत रहेको बताउनु हुन्छ । अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाएको कांग्रेसले पनि यस पटक भने चुनाव जित्ने दावी गरेको हो । ‘यस पटक पार्टी परिचालन र संगठनमा सुधार भएकाले कांग्रेसले जित्ने सम्भावना छ’, कांग्रेस उम्मेद्वार सुब्बाले भन्नुभयो –‘जनताले स्थानीय र काम गर्ने व्यक्ति खोजेका छन् । त्यसो भएकाले मेरो सम्भावना राम्रो छ ।’ कांग्रेसले पनि पहिलो प्राथमिकता घरदैलो लाई नै दिएको दमक नगर सभापति ढुण्डिराज भण्डारीले बताउु भयो ।

अघिल्लो पटक निकै कमजोर मानिएको राप्रपा नेपाल र एमाले उपाध्यक्ष अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टी, नेपाल पनि चुनावी मैदानमा रहेको छ । राप्रपा नेपालका केन्द्रीय सदस्य राम थापा, संघीय समाजबादीबाट स्थानीय पत्रकार दिपेन वाला राई र फोरम लोकतान्त्रिकका गणेश आङदेम्बे चुनावी दौडमा रहनु भएको छ ।

गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध उभिएको पार्टी राप्रपा नेपालका उम्मेद्वार राम थापा पनि यस पटक राप्रपा नेपालले अनपेक्षित नतिजा ल्याउने दावी गर्नुहुन्छ । उनहाँ भन्नुहुन्छ –‘ठूला भनिएका दलहरुबाट जनता दिक्क भएका छन्, अहिले जनताले हिन्दु राष्ट्रसँगै राप्रपा नेपालका अधिकांश मुद्दामा सहमत भएकाले पनि राप्रपा नेपालको पक्षमा माहोल छ ।’

अरु प्रत्यासी भन्दा उमेरले कान्छो तथा पत्रकारिता पृष्ठभूमिबाट आउनु भएका संघीय समाजवादी पार्टीका उम्मेद्वार दिपेन बाला राईले भने कांग्रेस र एमाले यथास्थितिवादी, राप्रपा नेपाल राजावादी भएको तथा एमाओवादीले पनि पहिलो संविधानसभा तुहाउन षड्यन्त्रमा समेल भएकाले अब जनताले नयाँ दललाई विश्वास गर्ने दावी गर्नुहुन्छ । ‘नयाँ र युवा हाम्रो पार्टीको प्रयोग हो, पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान हाम्रो मुख्य एजेण्डा हो , तसर्थ, जनताले हामीलाई अत्याधिक मत दिने छन्’, राईको भनाई थियो । आफ्नो निर्वाचन क्षेत्रमा गुन्द्रीसभा कार्यक्रम भित्र्याएर चर्चित बन्नुभएका राई युवामाझ लोकप्रिय हुनुहुन्छ ।

यसअघि ओलीलाई पराजित गरेका तत्कालीन माआवादीका सभाषद् विश्वदीप लिङ्देन अहिले माओवादी छाडेर संघीय समाजवादी पार्र्टीमा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा लिङदेनले १६ हजार ९९ मत प्राप्त गरेर विजयी हुनुभएको थियो भने नेता ओलीले १४ हजार ९ सय ५९ मत प्राप्त गर्नुभएको थियो । पहिलो संविधानसभा निर्वाचनमा एक लाख ५ सय ६३ मतदाता रहेको यस क्षेत्रमा अहिले झण्डै एक तिहाई मतादाता घटेका छन् । अहिले यस क्षेत्रमा ७३ हजार २६ जना मतदाता छन् । झापा क्षेत्र नम्बर ७ मा दमक नगरपालिका सहित लखनपुर, तोपगाछी र धरमपुर गाविस समावेश छन् ।