निर्वाचनलाई कसैले विथोल्न सक्दैन : गच्छदार

5 years ago Editor 0

नेपाल, दमक १४ नोभेम्बर/

gachhadaar

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आसन्न संविधानसभाको निर्वाचनलाई कसैले बिथोल्न नसक्ने जिकिर गर्नुभएको छ ।

देश चुनावमय भएकोले यसलाई कसैले चाहँदैमा नरोक्किने उहाँको भनाई थियो । झापाको लखनपुरमा बिहीबार फोरम लोकतान्त्रिकको चुनावी कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले निर्वाचन हुँदैन भन्नेमा कुनै शंका नर्गन आग्रह गर्नुभयो । निर्वाचन चाहने सबै दलहरुको सहभागिता रहेकाले पनि घोषित समयमा नै निर्वाचन सम्पन्न हुने उहाँको तर्क थियो । गच्छदारले भन्नुभयो –‘जनताको अभिमतका निम्ति गरिने निर्वाचनलाई कसैले भाँड्न कार्य गर्नु हुँदैन ।’ माओवादी लगायतका ३३ दलीय मोर्चाले गरेको निर्वाचन बिरोधी गतिविधिले निर्वाचनमा कुनै असर नपार्ने उहाँको टिप्पणी थियो । ‘निर्वाचनको विरोध गर्ने लोकतान्त्रिक अधिकार छ, तर यसको प्रयोग शान्तिपूर्ण असहयोगका माध्यमबाट गरिनु पर्दछ’ गच्छदारले भन्नुभयो । ३३ दलीय गठबन्धनको निर्वाचन बहिस्कार आन्दोलन हिंसात्मक भएको टिप्पणी गर्दै नेता गच्छदारले हिंसात्मक गतिविधि नरोकिए जनताबाट आन्दोलनकारी दलहरु समाप्त हुने चेतावनी दिनुभयो । फरक एक प्रसङ्गमा नेता गच्छदारले आसन्न संविधानसभाको निर्वाचनमा जनसहभागिता बढ्ने र आफनो पार्टीले बलियो शक्तिका रुपमा स्थापित हुने दावी समेत गर्नुभयो ।

चुनावी दौरानमा पूर्वमा रहनुभएका नेता गच्छादारले बिहीबार नै झापा क्षेत्र नम्बर ६ को गौरीगञ्जमा समेत चुनावी सभालाई सम्वोधन गर्नुभएको झापा क्षेत्र नम्बर ७ का उम्मेद्वार गणेश सुब्बाले जानकारी दिनुभयो । सभामा बोल्दै गच्छदारले प्रमुख तीन दल एमाले, कांग्रेस र एमाओवादीको कारण देशको  राजनीति बिग्रिएको आरोप लगाउनु भएको थियो ।

फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष गंगाप्रसाद राजवंशीको अध्यक्षतामा सम्पन्न चुनावी सभामा पूर्व गृहराज्यमन्त्री तथा समानुपातिक उम्मेद्वार भिमराज राजवंशी, झापा क्षेत्र नम्बर ७ बाट प्रत्यक्ष उम्मेद्वार गणेश सुब्बा, सन्तोष गणेश,  नेपाली कांगे्रस महासमिति सदस्य पद परित्याग गरी फोरम लोकतान्त्रिकमा प्रवेश गर्नुभएका बद्रीनारायण राजवंशी लगायतले बोल्नुभएको थियो । सोही अवसरमा नेपाली कांग्रेस, एमाले र माओवादी पार्टी परित्याग गरी सभामा करिब दुई सय जना भन्दा बढी कार्यकर्ता फोरम लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए ।