नेपाली सेनाका २ जर्नेलमाथि कोर्ट मार्शल

5 years ago Editor 0

नेपाल, काठमाडौं १४ नोभोम्बर /

ARMY-logo_20130215084717

नेपाली सेनाको समरी जनरल सैनिक अदालतले दुईजना बहालवाला जर्नेलहरुलाई नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा सेवाबाट बर्खास्त गरेको छ ।

कार्बाही पर्नेमध्ये एकजना जर्नेलले भविश्यमा समेत सरकारी जागिर खान नपाउने भएका छन् भने अर्का एक जनालाई भविश्यका लागि अयोग्य नठहरिने गरी पदबाट हटाइएको छ । सेनाको कोर्ट अफ इन्क्वायरीले सुनाएको फैसला अनुसार पदबाट निस्काशित हुनेमा पूर्वी पृतना इटहरीमा कार्यरत सहायक रथी हेम खत्री र निरीक्षणाधिकृतको कार्यालयमा कार्यरत उपरथी प्रेमप्रकाश थापामगर रहेका छन् । निस्काशित मध्ये खत्रीलाई भविश्यमा समेत सरकारी जागिरका लागि अयोग्य घोषित गरिएको छ ।

आरोप अनुसार खत्रीले पाकिस्तानको डिफेन्स कोर्ष गर्न जाँदा नक्कली प्रमाणपत्र पेश गरेका थिए भने रक्षा सचिवको कार्यालयमा कार्यरत थापामगरले खत्रीको नक्कली कागजातलाई सदर गराएका थिए । जर्नेल द्वयले विभिन्न मित्रराष्ट्रबाट नेपाली सेनालाई प्राप्त भएको नेशनल डिफेन्स कलेजर युद्ध कलेज लगायतको उच्चस्तरीय तालिममा सहभागी हुने उम्मेद्वार छनौटको क्रममा अनियमितता गरेको भन्दै नेपाली सेनामा उजुरी परेको थियो । उजुरीमाथि छानविन गर्न प्रबन्धरथीका उपरथी राजेन्द्र क्षेत्रीको अध्यक्षतामा कोर्ट अफ ईन्क्वायरी गठन गरिएको थियो ।

क्षेत्रीको अध्यक्षतामा गठित उक्त कोर्ट अफ ईन्क्वायरीले पेश गरेको राय अनुसार पूर्वी पृतनाका सहायक रथी हेम खत्री र तत्कालीन सैनिक सचिव रही हाल निरीक्षणाधिकृतको कार्यालयमा कार्यरत उपरथी प्रेमप्रकाश थापामगरमाथि बदनियतपूर्ण तरिकाले नक्कली प्रमाणपत्र र झुठ्ठा विवरण पेश गरेको अभियोग पत्र दायर भएको थियो । एकतह तलमाथिका पदमा कार्यरत जर्नेलद्वय खत्री र मगरविरुद्ध दायर भएको मुद्दाको पुर्पक्ष गर्न सम्भाररथीका उपरथी प्रदीपबिक्रम राणाको अध्यक्षतामा ६ सदस्यीय समरी जनरल सैनिक अदालत गठन गरिएको थियो । राणाको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले दुबै प्रतिवादीहरुलाई सजाय हुने गरी गरेको फैसलालाई विहीबार प्रधान सेनापति गौरबसमशेर जबराले सदर गरेका हुन् ।

खत्री र थापामगरका कसुर के–के ?

सेनाले सुनाएको फैसलामा सहायक रथी हेम खत्रीले पाकिस्तानमा सञ्चालित नेशनल डिफेन्स कोर्षको तालिममा सहभागी हुन स्नातक तह उत्र्तिण गरेको भनी भारतको मगद्य विश्वविद्यालयको नामको नक्कली मार्कसिट र प्रमाण पत्र पेश गरेको उल्लेख छ । खत्रीले सोही नक्कली प्रमाणपत्रका आधारमा पाकिस्तानमा सञ्चालित डिफेन्स कोर्षमा तालिम समेत गरेकोले उनलाई सैनिक ऐन, २०६३ को दफा ५५ को खण्ड (घ) को कसुरमा ऐनको दफा १०१ को उपदफा (१) को खण्ड (घ) अनुसार कार्तिक २७ गतेबाट लागू हुने गरी भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने सजाय सुनाइएको सेनाले जनाएको छ ।

त्यसैगरी पहिले सैनिक सचिवको कार्यालयमा र हाल सैनिक निरीक्षणाधिकृतको कार्यालयमा कार्यरत उपरथी प्रेमप्रकाश थापामगरले सहायक रथी हेम खत्रीले पेश गरेको स्नातक तह उत्र्तिण गरेको भनिएको प्रमाणपत्रको आधिकारिकता यकिन गर्नुपर्ने आफ्नो कर्तब्य र दायित्व हुँदै हुँदै उक्त मार्कसिट तथा प्रमाण पत्र साँचो भए नभएको सम्बन्धमा एकिन नगरी लापर्बाही गरेको सैन्य अदालतको ठहर छ । साथै थापामगरले खत्रीको आधिकारिक व्यक्तिगत विवरणमा कायम रहेको जन्म मिति उनलाई तालिममा समावेश गर्ने उद्देश्यले बद्नियतपूर्वक परिवर्तन गरेको समेत अदालतको ठहर छ ।

तालिम छनौट बोर्डसमक्ष मगरले खत्रीको झुठ्ठा विवरण पेश गरेको र रक्षा मन्त्रालयमा समेत झुठ्ठा विवरण पेश गरेको भन्दै समरी जनरल सैनिक अदालतले उपरथी थापामगरलाई समेत सैनिक ऐन, २०६३ को दफा ४७ को खण्ड (क) र खण्ड (घ) को कसुरमा ऐ. ऐनको दफा १०१ को उपदफा (१) को खण्ड (घ) अनुसार २७ गतेबाट लागु हुने गरी भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय सुनाएको हो ।