उम्मेद्वार ढुङ्गेल बेपत्ता, थेबे अपहरित

4 years ago Editor 0

नेपाल, दमक
१३ नोभेम्बर /

बेपत्ता ढुङ्गेल
बेपत्ता ढुङ्गेल

नेपाल आमा पार्टीको झापा क्षेत्र नम्बर ५ की प्रत्यक्ष उम्मेदवार चिन्तादेवी ढुङ्गेल बेपत्ता हुनुभएको छ ।
चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा रहनु भएकी ढुङ्गेल गत आइतबार साँझदेखि बेपत्ता भएको नेपाल आमा पार्टी जिल्ला कार्य समिति झापाले जनाएको छ ।
झापाको सतासीधाम–८ स्थित माईधारमा घरदैलो कार्यक्रमबाटै ढुङ्गेलको अपहरण भएको हुनसक्ने सो पार्टीले आशंका व्यक्त गरेको छ । मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सचिव पवनकुमार कटुवाल र झापा जिल्ला अध्यक्ष खड्गनारायणसिंह राजवंशीले वेपत्ता ढुङ्गेलको खोजी गरी अवस्था बारे थाहा दिन सुरक्षा प्रशासन, मानव अधिकारवादी संघसंस्था, पत्रकार, नागरिक समाज लगायतलार्य गुहारेका छन् ।
बेपत्ता ढुङ्गेल परिवार, आफन्त र पार्टीको सम्पर्कमा नरहेको उहाँका श्रीमान् श्रीप्रसाद धिमालले जानकारी दिुनभएको छ ।
त्यस्तै इलाम क्षेत्र नम्बर ३ तथा झापा क्षेत्र नम्बर ३ का संघीय लिम्बुवान राज्य परिषद्का उम्मेद्वार गोपाल थेबेलाई गएराति अपहरण गरिएको छ ।
चुनाव प्रचारप्रसारको सिलसिलामा झापामा रहनुभएका थेबेलाई अपहरण गरी विर्तामोडस्थित एक सार्वजनिक टेलिफोन बुथको ०२३–५४२९६१ नम्बरबाट परिषद्का केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङवालाई फोन मार्फत अपहरणको जानकारी दिइएको थियो । अपहरणकर्ताले आफूहरु निर्वाचन बहिस्कार आन्दोलन गरिरहेको ३३ दलीय मोर्चाका कार्यकर्ता रहेको बताएका थिए ।
घटना बारे सो पार्टीका केन्द्रीय नेता सूर्य माखिमले भूटान दर्पणलाई जानकारी गराउनु भएको हो । इलामको प्याङ निवासी थेबेको खोजीका लागि व्यापक रुपलमा प्रहरी परिचालन गरिएको इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिनुभयो । इलामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले थेबेको दुबै मोबाइल नम्बर समेत अफ रहेको बताउनु भयो ।