समान प्रतिनिधित्वको माग

5 years ago Editor 0

नेपाल, गौरीगञ्ज
१२ नोभेम्बर /

mahila haru

अब बन्ने संविधानले समावेशी र समतामूलक समाज निर्माणको सुनिश्चित गर्नुपर्ने झापाको खजुरगाछीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले माग गरेका छन् ।
दक्षिणी झापाको आदिवासी वाहुल्य क्षेत्र खजुरगाछीमा बिदेह फाउण्डेसन काठमाडांैले मंगलबार गरेको लैङ्गिक संवेदनशील चुनावी प्रक्रियाका बारेमा भएको अन्तक्रियामा जाति, वर्ग, क्षेत्रीय रुपमा पाखा पारिएकाहरुको हक अधिकार संविधानले ग्यारेन्टी गर्नु पर्ने सहभागीहरुले बताएका हुन् ।
लैङ्गिक सहभागिताका विषयमा सबै क्षेत्रको प्रतिनिधित्वबाट सबैको विचार र भावना समेटिने हुँदा सबै लिङ्ग र क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने सहभागीहरूको माग थियो ।
कार्यक्रमकी सहभागी बाल विकास केन्द्र गौरीगञ्जकी सहयोगी कार्यकर्ता बेचनी शाहले संविधानमा महिला र पुरुषवीचको विभेद्को अन्त्य भई सबैको समान प्रतिनिधित्व हुनुपर्ने माग गर्नुभयो । महिलाहरुको नेतृत्व विकास, सहभागिताका विषयमा राजनीतिक दलहरु समेत सचेत नभएको शाहले बताइन् । कार्यक्रममा शिक्षक दमन्ती राजवंशीले आदिवासी, जनजाति, अल्पसंख्यक महिलाहरुको नेतृत्व तहमा प्रतिनिधित्व अनिवार्य गराउने संरचनाको निर्माण गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
खजुरगाछीकी मिनु नायकले सामाजिक विभेद्मा पारिएको वर्गलाई समाजिक आर्थिक, राजनीतिक एवम् क्षमता विकासको अवसर प्रदान गर्नुपर्ने बताउनु भएको थियो भने अर्की सहभागी जुरोपानीकी रिना राईले समान अवसर र सहभागिता नहुँदा महिलाहरु पछाडि परेको उल्लेख गर्नुभयो । पुरुषहरुले पनि महिलाहरुलाई सहयोग नगरेका कारण नीति निर्माण तहमा महिलाको सहभागिता हुन नसकेको राईको भनाई छ ।
संविधानसभा निर्वाचन किन, संविधान सभाको परिचय, समावेशी तथा समतामूलक समाज निर्माण किन, मतदान केन्द्र र मतदान गर्ने तरिका, मतपत्रमा छाप लगाउने सही तरिका, स्थायी शान्ति र दिगो विकास किन लगायतका विषयमा छलफल गरिएको कार्यक्रममा सहभागी स्थानीय पत्रकार आत्मराम राजवंशीले जानकारी दिनुभयो ।