राष्ट्रिय विभूति फाल्गुनन्दको १२९ औं जन्मजयन्ति मनाइयो

5 years ago Editor 0

नेपाल, झापा
कमन देवान
११ नोभेम्बर
/

राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १२९ औं जनमजयन्ति झापाको दमकमा भव्यतामा साथ मनाइएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पूर्व सभामुख तथा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेको प्रत्यक्ष उम्मेद्वार समेत रहनु भएका सुवासचन्द्र नेम्बाङले दलहरुका बीचमा तिक्तता बढिरहेको बेला मानव पुनरोत्थानको सन्देश र मानव एकता र शान्ति आवश्यक रहेको बताउनुभयो ।

नेम्बाङले महागुरु फाल्गुनन्दले देखाउनु भएको मानव एकता र शान्तिको मार्गलाई अनुशरण गर्नुपर्ने खाँचो रहेको भन्दै यतिबेला उहाँका सन्देश थप महत्वपूर्ण बनेको जिकिर गर्नुभयो ।
त्यस्तै सो समारोहका बीच मन्तव्य राख्दै नेकपा एमालेका प्रभावशाली नेता तथा झापा क्षेत्र नम्बर ७ का प्रत्यक्ष उम्मेद्वार केपी शर्मा ओलीले महागुरु फाल्गुनन्दको मानवताप्रतिको सन्देशले आगामी दिनमा थप योगदान पु¥याउन सकोस् भन्ने कामना गर्नुभयो ।

त्यस्तै सो कार्यक्रममा बोल्दै संघीय समाजवादी पार्टीका झापा क्षेत्र नम्बर ७ का उम्मेद्वार दिपेन बाला राईले किरात धर्म तथा साहित्य उत्थान संघले माग गरेको मुन्धुम अध्ययन विश्वविद्यालय स्थापनाको माग र आफ्नो पार्टीले घोषणापत्रमा समेटेको सबै भाषाहरुमा भाषिक विश्वविद्यालयको प्रस्ताव मिल्दो रहेको बताउनुभयो ।
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर ७ का उम्मेद्वार गोपाल किरातीले आफू संस्कृतिमन्त्री हुँदा माङसेबुङ बिकास समिति गठनका निम्ति पहल गरेको स्मरण गराउ“दै राजनीतिक अस्थिरताले सो कार्य अधुरो रहेको स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर ७ को प्रत्यक्ष उम्मेद्वार रहनुभएका सुरेश सुब्बाले इसाई धर्मावलम्बीहरुको जेरुशलम, वौद्ध धर्मावलम्बीहरुको लुम्बिनी र मुस्लिमहरुको मक्कामदिना जस्तै किरात धर्मावलम्बीहरु आस्थाका केन्द्रका रुपमा लारुम्बालाई विकास गर्ने कांग्रेसको सोच रहेको बताउनु भयो ।

सो कार्यक्रममा वक्ताहरुलाई राजनीतिक विचार राख्न निषेध भनिएको थियो ।
कार्यक्रमका बीच आयोजक संस्थाका अध्यक्ष डकेन्द्रसिंह थेगिमले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्ति कार्तिक २५ गतेलाई सार्वजनिक विदा घोषणा गर्न, किरात मुन्धुम अध्ययनका निम्ति विश्वविद्यालय स्थापना गर्न, महागुरु जीवित रहँदा पाँचथरको लेब्रेकुटीमा अनुयायीहरुबाट प्रदान गरिएको अढाई सय रोपनी जमिन नेपाल सरकारको अधिनस्थ रहेकोमा सो फिर्ता गर्न लगायत विभिन्न माग राख्नु भएको थियो ।

आमहड्ताल घोषणा गरिएको भए पनि महागुरुको १२९ औं जन्मजयन्ति समारोहमा सहभागी हुन सोमबार दमकमा राजधानी लगायत विभिन्न जिल्लाका किरात धर्मावलम्बीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
महागुरु फाल्गुनन्दले किरात धर्मको पुनरोत्थान, अहिंसा मार्गको सुरुवात, सत्य धर्म मुचुल्का, मानवता र शान्तिका पक्षमा विविध कार्य गर्नुभएको थियो । बि.सं. १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू, लिङदेन र आमा हंसमती लिम्बूको कोखबाट साइँलो छोरोका रुपमा जन्मनु भएका महागुरु फाल्गुनन्दको निधन वि.सं. २००५ साल चैत्र २२ गते पाँचथरको हाङयकमा भएको थियो । नेपाल सरकारले उहा“लाई वि.सं. २०६६ साल मंसिर १६ गते १६ औं राष्ट्रिय विभूति घोषणा गरेको हो ।