भूटानी नेताहरुको व्यवहार र पुनर्वासको पीडा

5 years ago Editor 1

हेम गिरी

1459130_546998865382794_617043934_n

भूटानी शरणार्थीहरुले नेपालमा शरण लिएको करिब २३ वर्ष भएको छ । यो अवधिमा कतिपय भुटानी नेताहरु तेस्रो मुलुक पूनर्वास भइसके भने कति नेताहरुले लाखौंको खेती गर्दै नेपालमै बसिरहेका छन् । भूटानी शरणार्थीको स–सम्मान स्वदेश फिर्तिको माग गर्दै लाखौं रुपैयाँको खेती गरेका र अहिले पनि गरिरहेका नेतृत्वपंक्तिका मानिसहरु धेरै छन् । स्वदेशफिर्ति अन्दोलनको निहु गरी पैसा कमाउने काममा सक्रिय देखिएका धेरै भूटानी नेताहरु आज–भोलि शिविरमा हुने गतिविधिबाट टाढिदैं आएका छन् । भूटानी शरणार्थी शिविरमा अहिले कुनै पनि नेता खोज्दा पाइँदैन । हुन त पहिले पनि शिविरमा त जगेन गजमेर, नारद अधिकारी, रतन गज्मेर लगायत नेताहरु मात्र बस्ने स्थान थियो । अन्य नेताहरुको बस्ने स्थान थियो दमक, विर्तामोड, काठमाडौं अनि भारत । अहिलेकोे सन्दर्भमा कुरा गर्दा चाँहि, भूटानी नेताहरुलाई शिविरमा खोज्दा समेत भेटिँदैन । भूटानको ऐतिहासिक पार्टी भूटान पिपल्स पार्टीका सभापति बलाराम पौडेल, भूटान राष्ट्रिय प्रजातान्त्रिक आन्दोलन संघर्ष समितिका अध्यक्ष टेकनाथ रिजाल लगायतका नेताहरुले काठमाडौंमा बैठक गरेर स्वदेश फिर्ति अभियानलाई सशक्त रुपमा अगाडि बढाउने कुरा ‘बालुवामा पानी’ हाले स्वरुप हुन पुग्यो । ती नेताहरुकै उक्त अभियान सफल हुन सकेन ।
अहिले भूटानी नेताहरुले शरणार्थीको समस्यलाई चासोको विषयमा लिन छाडिसकेका छन् । शिविरमा राहत पीडित भूटानी शरणर्थीले आफ्नो पहिचानको लागि र शिविरमा शरणार्थी सरह बस्न पाउँ भनेर आमरण अनशन गरेका थिए । तर, उक्त आमरण अनशनमा कुनै पनि भूटानी पार्टीका नेताहरुले सम्बन्धित पक्षलाई अन्दोलनकारीका माग सम्बोधन गरिदिन आग्रह गरेनन् । उक्त आमरण अनशनलाई नेपालमा रहेका भूटानी पार्टीका नेताहरुले बेवास्ता गरे पनि तेस्रो मुलुक पूनर्वास अन्तरगत नेदरल्याण्ड पुगेका भूटानी नेता लक्ष्मी ढकालले टेकनाथ रिजालको पार्टीमा पूनर्वास भएका भूटानी शरणार्थीले संयुक्त रुपमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पठाएको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पु¥याइदिनोस् भन्ने इमेल गरे तापनि रिजालको पार्टीले त्यो कुरालाई वास्तै गरेन । उनीहरुलाई टन्न पुगेको छ, अरुको के मत्लब र ? उनी जेलमा हुदाँ र उनको रिहाईपछि मुष्ठिदान गरेका भूटानी जनताको मागप्रति मौन (चुपचाप) बसेका रिजाल जस्ता नेताहरु क्रमशः शरणार्थी समुदायको नजरदेखि घृणित बन्दै छन् । नेपालमै रहेका नेताहरु नै भूटानी शरणार्थीहरुको मागप्रति चुपचाप देखिए पछि तेस्रो मुलुक पुगेका नेताहरु बोल्नुको अर्थ के त ? बरु भूटानी निष्ठावान नेता रोङथोङ जिउँदो रहेको भए, उनले बोल्ने थिए होला । भूटानी शरणार्थीहरुले को नेता कस्तो भन्ने कुरा बुझिसकेका छन् ।
नेताहरुबाट हुने झिनो आशा अब शरणार्थीहरुले एउटा झुठो आश्वासनको रुपमा लिने थालिसकेका छन् । भुटानी नेताहरुको शरणार्थीलाई स–सम्मान भुटान फर्काउँछौं भन्ने कुरा त अब ढुङ्गामा फूल रोप्दा फुल्छ होला तर त्यो अभियान कुनै पनि हालतमा सफल हुँदैन । म यो कुरा ठोकुवा दिएरै भन्न सक्छु । भूटानी नेताहरुको चाल र चरित्र ले यी सम्पूर्ण कुराहरु स्पष्ट रुपमा बुझाएको छ । ‘जो अगुवा उही बाटो……’ भने झैं अभियान मै लागेका पार्टीका अग्रज नेताहरु नै तेस्रो मुलुक पुनर्वास भए पछि कसरी उनीहरुको अभियान सफल हुन्छ त ? भूटानी पार्टी भित्र देखिएको बेमेल, फुट र अन्तरसंर्घषका कारण नै स्वदेश फिर्ति अभियान सफल हुन सक्दैन । अर्को तिर त्यसै कारणले गर्दा भूटानी पार्टीका अग्रज नेताहरु धमाधम पुनर्वास हुँदै छन् ।
भूटान प्रजातान्त्रिक पार्टीका अध्यक्ष थिन्ले पेन्जोर र प्रवक्ता नारद अधिकारी सहित डि आर कट्टेल, राजमान गुरुङ, रतन गजमेर, जगेन गजमेर, छविलाल तिम्सिना, गोपाल, गुरुङ लगायत नेताहरु तेस्रो मुलुक पुनर्वास भइसकेका छन् भने भूटान फर्काउने पार्टीका आर.के बुढाथोकी, आर.पी बस्नेत, केबी खड्का र शान्तिराम नेपालको शिविरमै हत्या भएको हो ।
शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) को पहलमा आप्रवास सम्बन्धी अन्तर्राष्ट्रिय संगठनले अमेरिका, युरोप तथा अस्ट्रेलिया लगायतका आठ मुलुकमा भूटानी शरणार्थीलाई पुनर्वास गराउँदै आएको छ । पुनर्वास भएका कतिपय नेताहरुले आठै मुलुकबाट एकैचोटि भूटान फर्काउने अभियान सुरु गर्ने आफ्नो फेसबुक पेजबाट बताए पनि अब त्यस्ता कुरा शरणार्थीहरुले कुनै पनि अवस्थामा पत्याउने छैनन् । मलाई लाग्छ, भुटानमा प्रजातन्त्र हुनुपर्छ भन्ने नेताहरु अहिले तेस्रो मुलुकमा मजदुर सरह भएका छन् । भूटानी नेताहरुले स्वदेश फिर्ति अभियानलाई चासोको विषयमा नहेरे पछि भुटानी शरणार्थी भित्र रहेको आशा र भरोसा निराशामा बदलिएपछि उनीहरु पनि धमाधम तेस्रो मुलुक हानिन थाले । पछिल्लो जानकारी अनुसार करिब ७५ हजार भूटानी शरणार्थीहरु अमेरिकामा मात्र पुनर्वास भइसकेका छन् । शिविरमा अहिले न त स्वदेश फिर्ति अभियान चलेको छ न त शरणार्थीले स्वदेश फिर्ति अभियान सञ्चालन गर्ने पार्टीका नेताहरुसँग आफ्नो समस्या र माग राख्न पाएका छन् । भूटानी नेताहरुको कार्य शौली नियाल्दा मलाई लाग्छ उनीहरु चरित्रहीन भइसके । टेकनाथ रिजाल र बलाराम पौडेलले आफू तेस्रो मुलुक नगए तापनि उनीहरुले आफ्ना आफन्त, दरसन्तान र आफ्नै छोराछोरीलाई तेस्रो मुलुक पुनर्वास गराई सकेका छन् । कुनै विषयको प्रेस विज्ञप्ति बाँड्न खपिस पौडेलले शरणार्थी समस्या बारे बोल्न किन टाढिन खोज्दै छन् त ? अनि, अन्दोलनलाई पछि सारेर पूर्णरुपले लेखन कार्य तिर लागेको भन्दै शरणार्थी समस्याबाट पन्छिने तर शरणार्थीको ‘वरिष्ठ नेता हुँ’ भनेर नेपाल सरकारबाट ३६ लाख रुपैयाँ चुसेका टेकनाथ रिजालले पनि किन शरणार्थी समस्याप्रति आफ्नो ध्यान केन्द्रीत गर्दैनन् त ? शरणार्थी सम्बन्धी विभिन्न संघसंस्थाबाट नियमित रुपमा पैसा चुसिरहने अपवाद बाहेक हाम्रा भूटानी नेताहरु नै शरणार्थीहरुको समस्या र उनीहरुको मागको आवाज सम्बन्धित पक्ष सामु उठाउँदैन भने शरणार्थी शिविरमा बसेर भूटान फिर्ने आशा राख्नुको के अर्थ भयो र शरणार्थीले ? मलाई लाग्छ, अब भूटानी नेताहरुले स्वदेश फिर्ति अभियानलाई भन्दा तेस्रो मुलुक पुनर्वास भई पीडा र समस्याको बाबजुद काम गर्दै आएका भूटानीहरुको पक्षमा वाकलत गर्नु पर्छ । किनकि, तेस्रो मुलुक पुनर्वास भएका अधिकांश भूटानी शरणार्थी पिटाई र लुटाईको सामना गर्न बाध्य भइरहेको छन् । शरणार्थीहरुले तेस्रो मुलुकमा समेत असुरक्षाको महशुस गरिरहेका छन् ।
भूटानी नेताहरुको स्वदेश फिर्ति अभियान विफल भए पछि सुखी जिवन बिताउँला भनेर सुन्दर सपना बोकेर तेस्रो मुलुक पुनर्वास भएका शरणार्थीहरुले पिटाई र लुटाईको सामना गर्नु परेपछि कुन चाँहि शरणार्थीको मन नअमिलिएला ? तेस्रो मुलुक पुनर्वास प्रक्रिया अन्तरगत अमेरिकाको फ्लोरिडा स्थित ज्याक्शन भ्याली शहरमा पुगेका भूटानी शरणार्थी हरि अधिकारीको अमेरिकन नागरिकले गोली हानी हत्या गरेका थिए । त्यसैगरी अमेरिकाकै वाल्टिमोर राज्यमा पुनर्वास भएका शरणार्थी विकाश गुरुङको समेत गोली हानी हत्या गरिएको थियो । उता अस्ट्रेलियामा शनिश्चरे शिविरबाट प्रस्थान भएका दुई दाजुभाइ पूर्ण क्षेत्री र राम क्षेत्रीको पनि सुनुयोजित ढङ्गले कार दुर्घटनामा ज्यान गएको थियो । त्यस्तै अमेरिकाकै न्यूवर्कामा पुगेका छत्र क्षेत्रीको हत्या भएको थियो । पुनर्वास भएका भूटानी शरणार्थीको हत्या भइसक्दा समेत कुनै पनि भूटानी पार्टी र तिनका नेताहरुले प्रेस विज्ञाप्ति जारी गरी ती दुखद् घटानहरुप्रति शोक व्यक्त गरी दोषीलाई कानुनी कार्बाहीको माग गर्न सकेको छैनन् । यो लज्जाको विषय हो ।
मलाई लाग्छ, हाम्रा भूटानी राजनीतिका दलहरुसँग शरणार्थीको हत्या गर्ने दोषीलाई कार्बाहीको माग गर्ने हिम्मत पनि छैन होला । केहि साता अघि अमेरिकाको न्युयोर्क राज्यामा पुनर्वास भएका एक जना साथीले फेसबुक मार्फत दुखेसो पोख्दै यसरी लेखे ‘हामीले अमेरिका पुनर्वास भएपछि सुन्दर जीवन बनाउने लक्ष्य राखेको थियौं । तर यहाँ त असुरक्षा मात्रै रहेछ । हामीले कहिल्यै सोचेका थिएनौं कि हामीले अमेरिकामा पिटाई खाने छौं भनेर’ । साथीको यो अभिव्क्तिले ममा झनै हाम्रा ती चरित्रहीन नेतृत्वप्रति घृणा जागेर आयो ।
यस्ता घटनाहरुको पुष्टि भए तापनि भूटानी नेताहरु र शरणार्थी पुनर्वास कार्यक्रममा संलग्न संस्थाहरुले त्यसको निराकरणमा पाइला चलाएका छैनन् । कहिले हत्या, कहिले आक्रमण र पिटाई, कहिले जागिर नपाउँदाको पीडा सहेर तेस्रो मुलुकमा बसेका भूटानी शरणार्थीहरुको समस्या र पीडालाई सम्बन्धित राज्य, निकाय र सरोकारवाला पक्षसम्म पुगेर आवाज उठाउन नसक्ने नेतृत्वहरुप्रति जनताले कसरी विश्वास गर्लान्, विषय गम्भीर छ ।