राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द शव्दचित्रमा

5 years ago Editor 0

कमन देवान

falgunanda

राष्ट्रिय विभूति, किरात धर्मदर्शनका प्रथप्रदर्शक, अहिंसाका पूजारी, प्रवद्र्धक, मानव कल्याण र विश्व शान्तिका पक्षधर, सन्त, साधक तथा दार्शनिक महागुरु फाल्गुनन्द लिङ्देनको जन्म बि.स. १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू, लिङदेन र आमा हंसमती लिम्बूको कोखबाट साइँलो छोरोका रुपमा भएको थियो । फाल्गुनन्दको न्वारान तथा जन्मदा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन हो । बाल्यकालमा बिरामी भएर थलिएपछि उहाँको हातमा फलामका चुरा लगाइए । यसो गर्नुको रुढीवादी तर्क फलामका चुरा लगाइदिए बिरामी बालक निको हुन्छ भन्ने थियो । दुवै हातमा फलामका चुरा लगाइदिएकै कारण उहाँको नाम फलामसिंह रहन गएको थियो । यहि नाम उहाँ बेलायती फौजमा भर्ती गएपछि फलामसिंबाट अपभ्रंश भएर फाल्गुनन्द बन्न पुग्यो ।
महागुरु फाल्गुनन्दले जीवनपर्यन्त किरात धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निम्ति लागिरहनुभयो । वि. सं. २००५ सालमा उहाँको देहान्त भएपछि किरात धर्मजन्य संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छन् । महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति विश्व समुदायले अनुसरण गर्न थालेका छन् ।
नेपाल सरकारले राजा जनक, सीता, गौतम वुद्ध, अशुं बर्मा, राजा राम शाह, राजा पृथ्बी नारायण शाह, भीमसेन थापा अमरसिंह थापा, बलभद्र कुंवर, भक्ति थापा, राजा त्रिभुवन, कलाकार अरनिको, युवाकवि मोतिराम भट्ट, आदिकवि भानु भक्त आचार्य, शंखधर साख्वाः र महिला पर्वतारोही पासाङ ल्हामु शेर्पा पछि सत्रौं राष्ट्रिय विभूतिका रुपमा महागुरुलाई घोषणा गरेको छ ।
महागुरुले वि.सं. १९८८ बैशाक २५ गते तत्कालीन ‘दश लिम्बुवान सत्रथुमुका गन्यमान्य व्याक्तित्वहरुलाई पाँचथर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा जम्मा गराएर ‘सत्यहाङमा मुचुल्का’ तयार गर्नुभएको थियो । समय समयमा लिम्बुवान क्षेत्रका गाँउ ठाउँहरुमा निरीक्षण, आफ्ना चेला भुलाहरुसँग फक्ताङलुङ (कुम्भकर्ण) को फेदीसम्म पुगेर महिनौ दिनसम्म तपस्या गर्ने उहाँको नित्यकर्म थियो ।
यसरी धर्म प्रचार तथा मौलिकताको पहिचान गराउँदै हिँड्दा तत्कालीन राणा सरकारले उहाँमाथि राणा शासनका विरुद्ध राजनीतिक चेतना जगाएको आरोपमा काठमाडौं पु¥याई सोधपुछ समेत गरेको थियो ।
विभिन्न स्थानहरुमा माङहिमहरु निर्माण गर्ने, मानव हितका पक्षमा शिक्षा र चेतना फैलाउने, कर्म र सोचका कारण मानिसले विभिन्न तहको जीवन निर्वाह गर्नुपर्ने तर्क दिने तथा वेद समेत किराती मुन्धुमबाट जन्मिएको दावी गर्ने महागुरु फाल्गुनन्दको वि.सं. २००५ साल चैत्र २२ गते पाँचथरको हाङयकमा देहावशान भएको थियो । नेपाल राष्ट्रले उहाँलाई वि.सं. २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेर उहाँको योगदानको कदर गरेको छ ।