निर्वाचन सार्ने चलखेल : सुब्बा

5 years ago Editor 0

नेपाल, झापा
८ नोभेम्बर /

Leader Bijaya Subba

संघीय समाजवादी पार्टी, नेपालका केन्द्रीय उपाध्यक्ष विजय सुब्बाले ठूला दलहरुको पक्षमा जनमत नदेखिपछि उनीहरु निर्वाचन सार्ने चलखेलमा लागेको आरोप लगाउनु भएको छ ।
एमाओवादी, नेपाली कांग्रेस र एमालेलाई जनताले नपत्याएपछि उनीहरु निर्वाचनको मिति सारेर पुनः अरु जुक्ति सहित जनतासम्म पुग्ने रणनीति बनाउन थालेको उपाध्यक्ष सुब्बाको भनाई छ । ‘मंसिरको २८ वा २९ गतेलाई चुनाव सार्ने हल्ला सुन्नमा आएको छ’,उहाँले थप्नुभयो ।
शुक्रबार झापाको दमकमा भूटान दर्पणसँगको विशेष कुराकानीमा उपाध्यक्ष सुब्बाले भन्नुभयो –‘उम्मेद्वारी मनोनयन भन्दा अघि एमाओवादी अध्यक्ष प्रचण्डसँग चुनावी तालमेल गरेर जाने विषयमा व्यापक छलफल भएको हो । तर प्रचण्ड स्वयम्ले त्यसबेला हामीलाई विश्वास गर्न नसकेकाले तालमेलको विषयमा पार्टी भित्र बहस नै बन्द गरेका छौं । अब यसलाई फेरि बहस गर्ने पक्षमा पार्टी छैन ।’
झापाका केही निर्वाचन क्षेत्रहरुमा एकीकृत माओवादीका उम्मेद्वारहरुलाई सघाउने भनी हल्ला चलेको बारे स्पष्ट पार्दै सुब्बाले भन्नुभयो –‘झापा जिल्लाको हकमा कुनै पनि क्षेत्रमा एमाओवादी वा अरु कुनै दलका उम्मेद्वारलाई सघाउने भन्ने हल्ला निराधार र भ्रामक हो ।’
देशभर संगठन विस्तार तिव्र गतिमा अघि बढेको भन्दै उहाँले निर्वाचनको परिणामले पार्टी चौंथो राजनीतिक शक्तिका रुपमा उदय हुने समेत दावी गर्नुभयो ।
भालुटामा सभा
यसैबीच बिहीबार इलामको बाँझो–९ भालुटारमा सम्पन्न संघीय समाजवादी पार्टीको आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष सुब्बाले उत्पीडित जाति समुदायले पहिचान र न्यायीक समानताको निम्ति संघीय समाजवादी पार्टीमा गोलबन्द बनेर लड्नु पर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीम राई, केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र १ का प्रत्यक्ष उम्मेद्वार धनप्रसाद गुरुङ, झापा जिल्ला अध्यक्ष धिरेन सुब्बा, इलाम क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेद्वार विनोद नेम्बाङ, समानुपातिक उम्मेद्वार डकेन्द्रसिंह थेगिम, तथा झापा क्षेत्र नम्बर ७ का प्रत्यक्ष उम्मेद्वार दिपेन बाला राई लगायतले बोल्नु भएको थियो ।
सो क्रममा विभिन्न पार्टी परित्याग गरेर दुई सय जना बढीले संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रम पार्टीका बाँझो गाउँ अध्यक्ष केबी राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।