जनता सचेत बन्नुपर्छ

4 years ago Editor 0

यतिबेला राजनीतिक माहोल निर्वाचन केन्द्रीत बनेको छ । विभिन्न दलहरु कसरी निर्वाचनमा जनतालाई आफूतिर तान्न सकिन्छ भन्ने नयाँ–नयाँ किसिमका योजनाहरु बुन्दै अघि बढेका छन् । त्यस्तै निर्वाचन बहिस्कार आन्दोलनको कार्यक्रम सहित आन्दोलित बनिरहेको ३३ दलीय मोर्चाले भने कसरी निर्वाचन बहिस्कारलाई प्रभावकारी बनाउने भन्ने एजेण्डालाई विभिन्न कडा संघर्षका कार्यक्रम सहित अघि बढाउने तयारी गरिरहेका छन् । यस मानेमा समग्र राजनीतिक परिस्थितिलाई हेर्दा र विश्लेषण गर्दा नेपालमा दोस्रो पटक हुन गइरहेको संविधानसभा निर्वाचन सम्पन्नको संघारमा मुलुक उभिएको छ ।
पहिलो संविधानसभा निर्वाचनको दुखद् अवसानको चोटले मुलुक र जनता विक्षिप्त बन्दैगर्दा राजनीतिक लगायत संवैधानिक र अन्य निकासहरुका निम्ति समेत एक मात्र विकल्पका रुपमा निर्वाचनलाई जबरजस्त ढङ्गले अघि सारिएको हुँदा जनताका निम्ति अब निर्वाचनको अर्को विकल्प पनि छैन । यसर्थ मंसिर ४ गते हुन गइरहेको निर्वाचनका निम्ति राज्य, सरकार, राजनीतिक दलहरु लगायत सबै पक्षले इमानदारिताका साथ कार्य गर्नु पर्ने दायित्व बढेर गएको छ ।
निर्वाचनको सुरक्षाका सम्बन्धमा जति धेरै चार्चा परिचर्चा गरिएको छ, त्यसको तुलनामा नतिजा भने सकरात्मक देखिएको छैन । निर्वाचन आचार संहिताका विषयहरु विवादित बन्दै गएका छन् । नाम चलेका नेताका पछि चौकी नै रित्याएर सुरक्षाकर्मी दौडाउने, अरु उम्मेद्वारको सुरक्षाका बारेमा कुनै योजना समेत नबनाउने सरकारी र सुरक्षा निकायको उदासिनता पनि गजबकै हाँसो बन्दै गएको छ । निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नका निम्ति के कसरी रणनीतिक योजना बनाउने ? सरकार आफ्नै एकसुत्रीय नारा ‘सुरक्षा स्थिति मजवुद’ मात्रै भट्ट्याइरहेको छ भने खेलाँचीको पोको पन्तेरालाई समेत बमको नाउँमा जनता आतङ्कित पार्ने कार्य सुरक्षा निकायबाटै बढेको छ ।
चाहे एकीकृत माओवादीको मेची–महाकाली जागरण अभियानको दौडाहा भनौं वा फलानो र चिलानोको बहुमत निश्चित भन्ने जस्ता भ्रामक हल्ला गरेर दलहरु जनतालाई बेवकुफ बनाउने बहानामा आफै बेवकुफ बनेका छन् । तर, यथार्थ भन्नु बिगतमा देश र जनतालाई संविधान दिने नाउँमा चार वर्षसम्म झुलाएर अन्नततः जनताको इच्छा र चाहना विपरित संविधानसभा नै बिघटन गर्ने दलहरुलाई दण्डित गर्ने उचित समय जनताका हातमा आएको छ । सार्वभौम नेपाली जनता आगामी मंसिर ४ गते संसारकै शक्तिशाली नागरिक बन्ने छन् । उनीहरुले आफू शासित हुने संविधान निर्माणका निम्ति आफैले मतदानमा सहभागी भएर प्रतिनिधि चयन गर्नेछन् । र उनीहरुका प्रतिनिधिले उनीहरुकै अभिमतका आधारमा संविधान निर्माण गर्ने छन् । यो पटकको संविधानसभा निर्वाचनले दिने परिणाम असफल नबनोस् ।
कुनै पनि हालतमा नेपाली जनताले चाहेजस्तो, सबै किसिमका उत्पीडनहरुको अन्त्य गर्ने, जाति, वर्ग, क्षेत्र, लिङ्गलाई समान र न्यायिक समानताको प्रत्याभूति दिने, सहभागिताको अवसर प्रधान गर्ने, मानव अधिकार र नागरिक अधिकारको सुरक्षा गर्ने संविधान निर्माण नेपाली जनताको अन्तरआत्माको चाहना हो । यसर्थ, यस पटकको संविधानसभाले जनताका यी यावत आकांक्षाहरुलाई सम्बोधन गर्ने मात्रै होइन, सबै विचारका पक्षमा मतदान गर्ने नेपाली जनताहरुको चाहनालाई समेटेर समृद्ध, सवल र आत्मनिर्भर तथा स्वाधीन राष्ट्र नेपालको संविधान निर्माण गर्न सक्नु पर्दछ । यसका निम्ति फेरि पनि नेपालका राजनीतिक दलहरु र दललाई नेतृत्व दिन्छौं भन्ने तर आफ्नै बोली र व्यवहारमा समेत एकरुपता कायम गर्न नसक्ने दलका नेताहरुको इमानदारिता र दृढ इच्छा शक्ति आवश्यक छ ।
दल र नेताहरुका निम्ति यो नै अन्तिम अवसर हो । आफ्ना कम्जोरी सुधारेर जनताका अघि बिग्रिएको छवि सुधार्ने । यो मौका गुम्यो भने उनीहरुले फेरि यस्तो प्रयाश्चित गर्ने मौका पाउने छैनन् । दोस्रो पटकको संविधानसभा पनि असफल भयो भने मुलुकले आफ्नो सुनौलो भविष्य गुमाउने छ । र नेपाली जनताले फेरि पनि दासताको जन्जिरमा बाँधिएर कुनै आमूक तानशाहको पाइताला मुनि किचिएर दासतापूर्ण जीवन व्यतित गर्नु पर्ने दिन आउन सक्छ । तसर्थ, बेलैमा जनता सचेत हुन जरुरी छ, किनभने दल र तिनका नेताप्रति अहिले नै विश्वास गर्न सकिने स्थिति बनिसकेको छैन ।