खेल पर्यटनको गन्तव्य बनाउँदै

5 years ago Editor 0

पोखरा, कार्तिक १८ – संविधानसभा सभासदका उम्मेदवार रवीन्द्र अधिकारीलाई जिताउन साथीहरू घरदैलोमा व्यस्त भएका बेला एमाले कास्कीका कर्मचारी सुजिन नेपाल शनिबार दिउँसै रंगशालामा भेटिए । चुनावी मैदानमा खटिएर एकछिन फुर्सद नपाउने उनलाई त्यो दिन फुटबलकै चासो रह्यो । लिग विजेता थ्री-स्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल हेर्न पुगेका उनलाई चुनावको चासो भएन ।

उनी मात्र होइन, शनिबार फुटबलप्रेमी पोखरेली दर्शकहरूको भीडले रंगशाला खचाखच भरियो । प्याराफिटमा बस्न नपाएका सयौं दर्शक सिमसिमे पानीमा चिप्लिक्कै भिजेर फुटबलको मज्जा लिए । पाटनैपाटनको सहर पोखराका हरेक चौरमा बच्चादेखि युवासम्म फुटबलमा रम्दै गरेका भेटिन्छन् । टोलटोलमा भएका फुटबलप्रेमीको साथले हरेक प्रतियोगिता सफल हुँदै आएका छन् । तेस्रो सफल पोखरा कप पनि फुटबलका पारखीहरूको साथले सफलतापूर्वक सकियो ।

दुई विदेशी क्लब, दुई विभागीय टिम, ए डिभिजन र आयोजक गरी आठ टिम सहभागी यो प्रतियोगिता यतिखेर मनोरञ्जन, स्वास्थ्यका लागि मात्र नभएर आम्दानी र पोखरालाई खेलकुद पर्यटनको गन्तव्य बनाउन पनि सहयोगी बन्न पुग्यो । पर्यटकीय मौसमको सुरुवातका बेला अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको मज्जा लिन देशका विभिन्न सहरबाट दर्शकहरू यहाँ आइपुगेका थिए । त्यसमाथि फाइनलमा लोकपि्रय टिमको प्रतिस्पर्धा छुटाउने कुरै भएन । बाहिरबाट आएका दर्शकहरूले पर्यटकीय क्षेत्र भरिभराउ हुन मद्दत गर्‍यो ।

फुटबल प्रतियोगितामा अनेक कीर्तिमान र रोचक प्रसंगको सिर्जना हुन्छ । सफल पोखरा कपको तेस्रो संस्करणले पनि केही उल्लेखनीय क्षणहरू छाडेको छ ।

पेनाल्टी सिकार

पेनाल्टी मौका विपक्षीका लागि जितको ढोका खोल्ने चाबी जस्तै हुन्छ । थ्री-स्टारले फाइनलमा ३८ औं मिनेटमा सन्तोष साहुखलको गोलमार्फत उपाधितिर बढ्दै गरे पनि मनाङले पेनाल्टी मौकाको सदुपयोग गर्दै अवरोध गर्‍यो । पहिलो हाफको अन्त्यतिर विक्रम लामाको डीबक्सभित्र ह्यान्डबल हुँदा उसले उपाधि नजिक पुगेर निराश हुनुपर्‍यो ।

मनाङले सुजल श्रेष्ठको पेनाल्टी गोलमार्फत प्रतिस्पर्धालाई बराबरी लगेर अतिरिक्त समयमा थप गोल गर्दै उपाधि रक्षा गर्न सफल भयो । थ्री-स्टारका रक्षापंक्तिका खेलाडी सरोज दाहालले हङकङ विरुद्धको सेमिफाइनलमा भिक्टोरलाई डीबक्सभित्र लडाएपछि पेनाल्टी गोल खाएको थियो । त्यही गोलका कारण उसले जित दर्ता गर्न निकै मेहनत गर्नुपरेको थियो ।

भाग्यमानी भिक्टोर

प्रतिस्पर्धी कमजोर भए टिमका लागि जितसँगै खेलाडीलाई सफल सावित गर्ने अवसर मिल्छ । पाहुना टिम नेप्लिज फुटबल एसोसिएसन हङकङका स्ट्राइकर भिक्टोर नाजीलाई पनि त्यस्तै अवसर मिल्यो । एन्फा यू-१६ का विरुद्ध उनले ह्याटि्रक गर्न सफल भए । जसले टिमलाई जिताउनुका साथै भिक्टोर प्रतियोगिताको एउटै खेलमा ह्याटि्रक गर्ने खेलाडी बन्न पुगे । तीन खेलमा पाँच गोल गरेका उनले बेस्ट स्ट्राइकरको पुरस्कार पाए ।

विशालको कमाल

उपाधि मनाङको जितमा अतिरिक्त स्ट्राइकर विशाल राईको उल्लेखनीय योगदान रह्यो । फाइनलमा थ्री-स्टारका विरुद्ध निणर्ायक गोल गरेका राईले सेमिफाइनलमा पनि उस्तै प्रकृतिको गोल गरेका थिए । आर्मी विरुद्धको खेलमा उनले मैदान छिरेको चार मिनेटमै गोल गर्दै टिमलाई उपाधि नजिक पुर्‍याएका थिए । अनील गुरुङको कडा प्रहार गोलकिपर फुलबहादुर लामाको हातबाट फुत्किएको मौका छोप्दै राईले जाली चुमाएका थिए ।

थ्री-स्टार विरुद्धको खेलमा सागर थापाले डीबक्स बाहिरबाट हानेको प्रहार गोलकिपर किरण चेम्जोङले फुत्काएपछि पेनाल्टी क्षेत्रबाट राईले निणर्ायक गोल गर्दै उपाधि दिलाएका थिए ।

सफललाई मुख्य प्रायोजकको साथ

आयोजकको मेहनत र पोखरेली दर्शकको फुटबलप्रतिको मोहको कदर गर्दै मुख्य प्रायोजक लक्ष्मी गु्रपको सुजल डेरीको सफल दुधले अर्को वर्ष पनि सहयोग गर्ने जनाएको छ । ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पोखरालाई खेलकुद पर्यटनको सहर बनाउन प्रतियोगिताले मद्दत गरेको जनाउँदै अघिल्लो वर्ष पनि मुख्य प्रायोजक गरिदिने बताए । ‘लोकपि्रय प्रतियोगिताको प्रायोजक बन्न पाउँदा हामीलाई गौरव लागेको छ,’ उनले भने, ‘खेलाडी, दर्शक र पोखराको हितको लागि अर्को वर्ष पनि हाम्रो साथ रहनेछ ।’

रंगशाला राम्रो बनाउने जिम्मेवारी

आयोजक एन्फा कास्कीले प्रतियोगितालाई आगामी दिनमा अझ सफल पार्दै रंगशालाको विकासमा थप काम गर्ने घोषणा गरेको छ । अध्यक्ष गोपीबहादुर भट्टराईले प्रतियोगिता र अन्य माध्यमबाट संकलन भएको रकम प्याराफिट र मैदान राम्रो बनाउन खर्च गरिने बताए । ‘जिल्ला खेलकुद विकास कास्कीसँग प्याराफिट र मैदान मर्मतका लागि जिम्मेवारी लिने सम्झौता गरिसकेका छौं,’ उनले भने ‘यसका लागि दाताहरूले सहयोग गर्ने क्रम जारी छ । आवश्यक रकम जुटाउने छौं ।’ आयोजकले पारदर्शीका लागि चाँडै नै प्रतियोगिताको आय-व्यय सार्वजनिक गर्ने जनाएको छ ।

प्रतियोगिताको समापनमा मैदान मर्मतमा मेहनत गरेका लमजुङ घर भई हाल पोखरा रामबजार बस्दै आएका सन्तबहादुर गुरुङलाई आयोजकले सम्मान गरेको थियो ।

दर्शकलाई सास्ती

सबै कामलाई थाँती राखेर फुटबल हेर्न जाने दशर्कहरूले हरेक प्रतियोगिता हुँदा सास्ती व्यहोर्ने गरेका छन । महँगो टिकट काटेका दर्शकहरूले प्याराफिट अभावमा उभिएरै हेर्नुपर्ने बाध्यता छ । अर्कोतिर सवारी साधन लिएर पुगेकाहरूले रंगशालाभित्र पार्किङ शुल्क तिर्नुपर्ने झन्झट छ । ‘गेटमा टिकट काटेर पसेपछि भित्र पनि पार्किङ शुल्कको नाममा दर्शक लुट्ने काम भइरहेको छ,’ पोखरा सिमलचौरका रामबहादुर थापाले भने, ‘जनतालाई परेको मर्काप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’ उता प्रतियोगिताका बेला रंगशालामा गेटमा टिकट लिएर बसेकाहरूले टिकटबिना भित्र छिर्नै नदिँदा अन्य सर्वसाधरण मर्कामा पर्ने गरेका छन् । फुटबलबाहेक भेटघाट र अन्य उद्देश्यका लागि पुगेकाहरूलाई व्यर्थैमा अवरोध गरिएकोबारे पनि सम्बन्धित निकाय मौन बस्ने गरेको छ ।

-सभार ekantipur