ताप्लेजुङमा भीषण आगलागी, ४ करोड बढीको क्षति

5 years ago Editor 0

नेपाल, झापा
४ नोभेम्बर /

पूर्वी नेपालको ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आज सोमबार दिउँसो भएको आगलागीमा ४ ओटा घर जलेर नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा थप ६ ओटा घर भत्काइएका छन् ।
दिउँसो २ बजेको समयमा काजी मादेनको घरबाट सल्किएको आगो फैलिएर भद्र बोखिम, दावाएन लामा र पृथ्वीध्वज लिम्बूका घर समेत जलेर नष्ट भएका ताप्लेजुङ प्रहरीले जानकारी दिएको छ । तिहारका अवसरमा रोटी पकाउने क्रममा सिलिण्डरबाट ग्याँस लिक भएपछि आगलागी भएको स्थानीयवासीको भनाई छ ।
आगो नियन्त्रण गर्ने क्रममा कौशीमाया पतङ्वा, महेन्द्र केसी, पासाङ शेर्पा, डण्डु शेर्पा र पूर्णसिंह माबोको घर भत्काइएको हो ।
आगलागीका कारण ४ घरका घरधनी र डेरावाल गरी १५ परिवार बिस्थापित बनेका प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
दमकल नभएको र पानीको समेत समस्या भएकाले आगो निभाउन कठिन भएको थियो ।
आगालागीबाट भएको क्षतिको यकिन विवरण नआइसके पनि ४ करोड रूपैयाँ बढीको क्षति भएको प्रहरीको अनुमान छ ।
ताप्लेजुङमा यसअघि २०६० साल चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा आगलागी हुँदा ४५ घर जलेर नष्ट भएका थिए भने गत सालको माघ २८ गते राति शेर्पा टोल क्षेत्रमा भएको आगलागीमा ८ घर जलेर नष्ट भएको थियो ।