पहिरोले ताप्लेजुङमा ४१ को मृत्यु

3 years ago Editor 0

ताप्लेजुङ/संखुवासभा

Tapताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न गाउँमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने आठ जना गम्भीर घाइते भएका छन् । मृतक मध्ये खोक्लिङ– ७ का १३ वर्षीय सविन मादेन, १२ वर्षीय वसन्त रसाइली, लिङतेप– ३ की ३१ वर्षीया मनमाया लिम्बू, लिङतेप– ७ का ४२ वर्षीय भीमबहादुर केदेम लिम्बू, ३ वर्षीया चमेली केदेम लिम्बू, लिवाङ– ३ का भक्तजन लिम्बू, मनमाया लिम्बू, पञ्चमाया लिम्बू, शैलेन्द्र लिम्बू, उनकी श्रीमती चितमाया लिम्बू, छोरी लक्ष्मीमाया लिम्बू छन् । त्यस्तै थिङलाबु– ६ का मनकुमार लिम्बू र खोक्लिङ– ५ का मनकुमार बिकको सनाखत भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । मृत्यु भएकामध्ये लिबाङ– १ बाट १२, २ बाट आठ, ३ बाट चार, लिङकेतबाट तीन, थिङ्लाबुबाट पाँच, खोक्लिङबाट सात र सान्थाक्राबाट दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ । ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङलाबु र लिङकेत गाविसका सबै वडामा एकै चोटी भीषण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । पहिरोले लिङतेप, खोक्लिङ, लिबाङ र थिङलाबु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् । खोला बढेका कारण उद्धारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उद्धारका लागि काठमाडौंबाट समेत सेनाको हेलिकोप्टर ताप्लेजुङ गए पनि खराब मौसमका कारण घटनास्थल पुग्न सकेको छैन । यसअघि बुधबार राति नै ताप्लेजुङको म्याङ्खामा पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध बनेको छ ।

– संखुवासभामा बाढी पहिरोको त्रास

यस्तै सङ्खुवासभाको हेंवा खोलामा बाढी आउँदा आधा दर्जन झोलुङ्गे पुल तथा बरुण हाइड्रो पावर हाउस र निगुरे पावर हाउसमा क्षति पुगेको छ । बाढीले एक हजार रोपनीभन्दा बढी बेंसी फाँटका खेत बगरमा परिणत गरिदिएको छ । चैनपुर नगरपालिका र दोभाने– ३ मा दुईवटा घर बाढीले बगाएको छ भने नौ वटा घर बाढीको जोखिममा रहेको बताइएको छ । जलजला गाविसको कुलुवा गौरीभीर र नागी क्षेत्रको भीर खसेर हेंवा खोला थुनिएको र बुधबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीले यति धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । बाढीले एक दर्जनभन्दा बढी राजकुलो भत्काएको छ । त्यस्तै उत्तरी क्षेत्रका बाला र ताम्कू जोड्ने झोलुङ्गे पुल समेत पहिरोमा परेको छ । बाढीले अरुण नदीस्थित फ्याक्सिन्दामा रहेको फेरीसमेत बगाएको छ । पहिरोका कारण पावा खोला क्षेत्रमा ६२ जना फसेका स्थानीयले जानकारी दिएका छन् । उनीहरूको उद्धारका लागि काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण अवतरण हुन नसकेर विराटनगर फर्किएको समाचार छ ।