संघीय समाजवादी र फोरम नेपाल एकीकरण नजिक

3 years ago Editor 0

काठमाडौं ।

पहिचान र संघीयताको मुद्दालाई एमालेले बेवास्था गरेको भन्दै अलग पार्टी घोषणा गरेका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र मधेसी जनताको मुक्तिका लागि भन्दै मधेस विद्रोहमार्फत सत्ता राजनीतिमा उदाएका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालबीच जेठ ३२ गते औपचारिक एकीकरण हुने तय भएको छ ।
दुवै पार्टीले संघीयता र पहिचान प्राप्तिको आन्दोलनका लागि पार्टी एकीकरण गरेर अघि बढ्ने निधो गरेका हुन् । एकीकरणपछि पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राख्ने टुङ्गो लागेको छ । चुनाव चिन्ह भने फोरम नेपालको हुने बताइएको छ । पार्टी एकीकरण अन्तिम चरणमा पुगेको संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य आङकाजी शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार संविधानसभामा १० सभासद् रहेको फोरम नेपाल र ५ सभासद् रहेको ससपा एकीकरणपछि १५ सभासद् संख्या सहित संविधानसभाको पाँचौ ठूलो दलहुने छ । पार्टी एकीकरणपछि क्रमशः अन्य विभाग र भातृ संगठनहरुको पनि समायोजन हुने समाचार स्रोतले जनाएको छ ।
यसैबीच बिहीबारदेखि संघीय समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी एकीकरण र आगामी राजनीतिक कार्यदिशा तय गर्न बैठक बसेको हो । शुक्रबारसम्म चल्ने बैठकले एकीकरण प्रस्ताव र महासचिव राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गर्ने बताइएको छ । पार्टी एकीकरणपछि फोरमबाट अध्यक्षमा उपेन्द्र यादव र ससपाबाट वरिष्ठ नेता तथा संसदीय दलको नेतामा अशोक राई रहने तय भएको छ । अन्य पद र केन्द्रीय समितिमा दुवै पार्टीबाट मिलाएर सदस्य चयन हुनेछन् । त्यस्तै युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टीसमेत यसै एकीकरणमार्फत नयाँ पार्टीमा समावेश हुने स्रोतले जनाएको छ ।

ससपा केन्द्रीय समिति बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्यहरु ।
ससपा केन्द्रीय समिति बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्यहरु ।