पत्रकार मञ्च दमकमा सर्वसम्मत नेतृत्व चयन

4 years ago Editor 0

दमक ।

last pgrm hosting of manch

P1110702

झापा माईपश्चिम क्षेत्रका पत्रकारहरुको साझा संगठन पत्रकार मञ्च दमकको तेस्रो अधिवेसनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबार झापाको दमकमा सम्पन्न अधिवेशनले विष्णु पोख्रेलको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, संघीय प्रेस युनियन, फोनिज, क्रान्तिकारी पत्रकार महासंघ लगायत विभिन्न पत्रकारजन्य संगठनका बीच लामो वार्ता र छलफलपछि सहमतीय कार्य समिति चयन भएको मञ्चका निवर्तमान सचिव कमन देवान जानकारी दिए ।
नवनिर्वाचित समितिका उपाध्यक्षमा विष्णु पौडेल, सचिवमा नगेन्द्रमणि न्यौपाने, सह–सचिवमा नगेन्द्र राई र कोषध्यक्षमा मनकुमार तुम्सा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिलकुमार लावती, मनकुमारी पन्धाक, राजेश कुइकेल, श्याम लम्साल, निरजनकुमार अग्रवाल र लक्ष्मी नेपाल चयन भएका छन् ।
अधिवेशनको बन्दसत्रले निर्वतमान अध्यक्ष गोपाल झापालीले प्रस्तुत अध्यक्षको प्रतिवेदन, सचिव कमन देवानले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषध्यक्ष कमला श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलपछि संशोधन सहित पारित गरेको थियो ।
अधिवेशनको उदघाटन सत्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले अधिवेशनको उद्घाटन गरेका थिए । सो अवसरमा उनले पत्रकारहरुको व्यवसायिक एकताको खाँचो औल्याएका थिए । विचार र आस्थाका आधारमा पत्रकारहरु बिभाजित नभइ व्यवसायिक हित र एकताका लागि सदैव एक हुनुको विकल्प नरहेको सुझाए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश प्रसाई, आदीवासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राई, संघीय प्रेस युनियन झापाका सल्लाहकार दिपेनबाला राई, इलाका प्रशासन कार्यालयका उपसचिव बासु कोइराला लगायतले पत्रकारिता पेशालाई मार्यादित बनाउन र समाजलाई जिम्मेवार बनाउन पनि चुनौती रहेको धारणा राखेका थिए ।
कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडा, दमक जेसीजका अध्यक्ष भगवान बस्नेत, प्रेस चौतारी झापाका पूर्व अध्यक्ष गोपाल गड्तौला, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाका अध्यक्ष गणेशमान मुखिया, क्रान्तिकारी पत्रकार संघ झापाका उपाध्यक्ष टीकाराम उप्रेती, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष नेत्र दाहाल, कांग्रेस क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, एकीकृत माओवादीका दमक नगर इन्चार्ज रमेश गुरागाइँ, राप्रपाका नगर अध्यक्ष प्रविण चाम्लिङ, संघीय लिम्बुवान पार्टीका संगठन बिभाग प्रमुख प्रेमदीप थाम्सुहाङ लगायतले बोलेका थिए ।