‘मुद्दा सम्बोधित नभएसम्म आन्दोलन’

4 years ago Editor 0

दमक ।

संघीय समाजवादी पार्टी नेपालका स्थायी समिति सदस्य आङकाजी शेर्पा
संघीय समाजवादी पार्टी नेपालका स्थायी समिति सदस्य आङकाजी शेर्पा

पहिचान सहितको संघीयता स्थापना गर्ने मुद्दा सम्बोधित नभएसम्म आन्दोलन जारी राख्ने संघीय समाजवादी पार्टी नेपालका स्थायी समिति सदस्य आङकाजी शेर्पाले बताएका छन् ।
आइतबार झापाको दमकमा पार्टी निकट संघीय प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै शेर्पाले संघीय पक्षधरहरु एक भएर अब बन्ने संविधानमा पहिचान सहितको संघीयतालाई स्थापित गरेरै छाड्ने बताएका हुन् ।
आगामी माघ ८ पछि नेपालका उत्पीडित जाति, वर्ग, लिङ्ग, क्षेत्र, मुस्लिम लगायत अन्य अल्पसंख्यक समुदायहरुले पहिचान सहितको संघीय संविधान पाउने अपेक्षा राखेका भन्दै नेता शेर्पाले राज्यले त्यो गर्न नसके आन्दोलनको विकल्प नरहने स्पष्ट पारे । सशक्त आन्दोलनबाट अधिकार स्थापित गरिने समेत उनको जिकिर थियो ।
गत संविधानसभामा प्रस्तावित १४ प्रदेश सहितको संघीयतालाई आफनो पार्टीले प्रस्थानविन्दुका रुपमा स्वीकार गरेको भन्दै शेर्पाले त्यसको सिमाङ्कन लगायतका प्रविधिक त्रुटि भए सच्याएर अघि बढ्न जरुरी रहेको स्पष्ट पारे । कुनै प्रदेशका बारे विवाद भए विवादित भूगोलभित्रका जनतालाई नै आत्मनिर्णयको अधिकार प्रदान गरेर निर्णयका लागि अधिाकार दिइनु पर्ने उनको कथन थियो ।
पत्रकारको जिज्ञासामा नेकपा माओवादीसँग पहिचान, संघीयता, धर्म निरपेक्षता र गणतन्त्रकाका मुद्दा मिलेका कारण मोर्चाबन्दी सम्भव भएको उनको भनाई थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय नित्यानन्द ताजपुरिया र विशवदिप लिङ्देन, झापा जिल्ला अध्यक्ष धिरेन सुब्बा आवती, क्षेत्रीय संयोजक सुरेश लावती लगायतको सहभागिता रहेको थियो । युनियनका मेची अञ्चल संयोजक कमन देवानले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।