दमकमा आदिवासी दिवस मनाइयो

3 years ago Editor 0

दमक ।

20 th w i day

२० औं अन्तर्राष्ट्रिय आदिवासी दिवस शनिबार झापाको दमक सहित देशैभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाइएको छ ।
दमकमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।
दमक–१२ को किरात भवनमा जिल्ला महासंघले विभिन्न भातृसंगठन, नगर तथा गाउँ समन्वय परिषद्हरु समेतको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । सभा आयोजना गर्न अघि जातीय झाँकी सहित ¥याली निकालेको थियो ।
जिल्ला महासंघको आयोजनामा आयोजित सभाको महासंघका केन्द्रीय संघीय परिषद् सदस्य कहरू किसानले कार्यक्रमको उद्घाटन गरेका थिए ।
परिषद सदस्य किसानले आफ्नो अधिकार प्राप्तिका लागि आदिवासी जनजातिहरू सक्रिय हुनुपर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका पूर्व महासचिव तथा जनजातिका अगुवा आङ्काजी शेर्पाले विगतमा खोसिएको जनजातिहरूको अधिकारलाई लिन आदिवासी जनजाति संघर्षमा उत्रिनु पर्ने बताए । उनले राजनीतिक दलहरुले जनजातिको काँधमा टेकेर सत्तामा पुग्ने काम गरेको तर आदिवासी जनजातिका मुद्दालाई बिर्सिएको आरोप लगाए ।
अर्का परिषद् सदस्य नित्यानन्द ताजपुरिया, संघीय लिम्बुवान पार्टी नेपालका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा लगायतले आदिवासी जनजातिले चाहे जस्तो पहिचान सहितको संघीय संविधान निर्माणमा लाग्नु पर्ने बताए । त्यसो नभए आन्दोलित हुनुको विकल्प नरहेको समेत उनीहरुको कथन थियो ।
कार्यक्रममा एमाओवादीका गगन पुरी, राप्रपाका प्रविण चाम्लिङ, संघीय लिम्बुवानका सन्तोष राई, संघीय समाजवादीका दिपेन बाला राई, महासंघका सल्लाहकार प्रेम घिसिङ, महिला अगुवाहरु सुमित्रा वाङ्देल राई, हरिदेवी लावती लगायतले बोलेका थिए ।
कार्यक्रममा महासंघका संस्थापकहरु कृष्ण उदास, कन्हैयालाल मेचे, ओविलाल हेमरम, पदमप्रसाद राजवंशी, मानबहादुर राई, पहलमान सुनुवार, मोहनदास गुरुङ, हरि चौधरी र टेकबहादुर योङहाङलाई सम्मान गरिएको थियो ।
महासंघ झापा उपाध्यक्ष पर्शुराम ताजपुरियाको स्वागत तथा कमन देवानको सञ्चालन रहेको थियो । कार्यक्रम सफल बनाउन महासंघ जिल्लाले पूर्वका विभिन्न क्षेत्रबाट गाडी सञ्चालन गरि सहभागी ओसारेका थिए । कार्यक्रममा महासंघ झापाका अध्यक्ष पारसमणि राईको अध्यक्षता रहेको थियो ।