लिम्बुवानका ५ संगठनबीच एकता, नयाँ शक्तिको नाम – संघीय लिम्बुवान पार्टी नेपाल

3 years ago Editor 0

झापा ।

पार्टी एकीकरणपछि हातेमालो गर्दे लिम्बुवानका नेतागण
पार्टी एकीकरणपछि हातेमालो गर्दे लिम्बुवानका नेतागण

करिब छ महिना लामो राजनीतिक छलफल र वहसपछि पूर्वमा लिमबुवान राज्यको माग गर्दै आन्दोलित राजनीतिक संगठनहरु एकीकरणमा पुगेका छन् । उनीहरु गत माघ महिनादेखि एकताका निम्ति प्रयासरत रहँदै आएका थिए ।
हाल भएको भनिएको लिम्बुवानजन्य संगठनहरुको एकीकरणमा कुमार लिङ्देन नेतृत्वको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, सञ्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्, वीर नेम्बाङ् नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा, रामभक्त कुरुम्बाङ नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा नेपाल र कमल छाराहाङको भर्खरै गठन भएको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी रहेका छन् ।
कुमार लिङ्देनलाई अध्यक्ष पद दिएर वीर नेम्बाङलाई सर्वमान्य नेताको पद तथा सञ्जुहाङ पालुङ्वालाई वरिष्ठ नेताको पद दिइएको छ ।
संघीय लिम्बुवान पार्टी नेपाल नामाकरण गरिएको नयाँ लिम्बुवान संगठनका लागि महासचिवमा सूर्य माखिमको अनुमोदित भएको समाचार स्रोतले जनाएको छ । कमल छाराहाङ र रामभक्त कुरुम्बाङ वरिष्ठ केन्द्रीय सदस्य बन्ने सहमति भएको छ ।
एकीकरणपछि उपाध्यक्षहरुमा सकुन्तला सुब्बा, दीपक मेन्याङवो, खगेन्द्र माखिम, विष्णुमाया तुम्बाहाम्फे र विषेन्द्र चेम्जोङ रहेका छन् । समानताका हैसियतले सबै पार्टीका उपाध्यक्षहरु सोही पदमा रहने सहमति भएको बताइएको छ । कोषाध्यक्षहरुको हकमा सबै पार्टीका कोषाध्यक्षहरु सम्मिलित एक अर्थ समिति बनाइने र अर्थ समितिको संयोजक गोकूल भूजेल रहने सहमति भएको छ । पाँच वटै पार्टीका महासचिव, उपमहासचिव, पार्टी प्रवक्ता, सचिवहरु, आगामी एकता महाधिवेशनसम्म सचिव पदमा रहने सहमति भएको छ ।
आधादर्जनभन्दा बढी टुक्रामा विभाजित भइसकेका लिम्बुवानका संगठनहरु पुनः एकीकरणका लागि आइतबार र सोमबार धनकुटाको भडेटारमा आवासीयरुपमा छलफलमा जुटेका थिए । वार्ताको सहजकर्ताका रुपमा पत्रकार भवानी बराल, डाक्टर चन्द्रकुमार शेर्मा, डा.कृष्ण भट्टचन, कमल तिगेला र मञ्जुल याक्थुङवा सहभागी थिए ।
एकीकरणपछिको पहिलो बैठकले एकीकृत पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाको संयोजकत्वमा आगामी माघ ८ गतेसम्म लिम्बुवान आन्दोलन उत्कर्षमा पुर्याउन आन्दोलनको घोषणा गर्ने समेत सहमति भएको छ ।
नयाँ संगठनका तर्फबाट खगेन्द्र माखिम संयुक्त मोर्चा गठबन्धन संर्घष समिति संयोजक, रामभक्त कुरुङबाङ आन्तरिक संगठन संयोजक, प्रेमदिप थाम्सुहाङ भातृसंगठन समायोजन समितिको संयोजक, महिला समिति संयोजक शान्ता योङहाङलाई चयन गरिएको छ ।
एक महिना भित्र केन्द्रीय मिटिङ गर्ने तयारी भएको भन्दै उपाध्यक्ष माखिमले ६ महिना भित्र अधिवेशन हुन सक्ने बताए ।

विजयपुरको माटो छुवाएर सपथ

नवगठित संगठनका पदाधिकारीहरुलाई डा. चन्द्र कुमार शेर्माले तामाको मानामा विजयपुरको माटो छुवाएर सपथ खुवाएका थिए । धरानमा रहेको विजयपुर डाडाँको माटो भेडेटारमा लगिएको थियो ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व विजयपुरमा सेन वंशको राज्य थियो । आपुङ्गी राजाको भग्नावशेष रहेको विजयपुरमा बुढा सुब्बाको मन्दिरसमेत छ ।
स्मरण रहोस्, यसअघिका घटनाहरुमा राष्ट्रिय सम्मलेन गरेर पाँचथरको फिदिमस्थित ऐतिहासिक थलो आम्बे पोजोक्मामा लिम्बुवानजन्य संगठनका पदाधिकारीहरुले सपथ लिने गर्दथे ।